दुई श्रीमती छोडेर प्रेमीकासँग रात विताउन होटल पुगेका युवकको मृत्यु, प्रेमीका प्रहरी नियन्त्रणमा
गाईघाट– दुई श्रीमती हुँदाहुँदै प्रेमीकासँग रात विताउन सिन्धुलीबाट उदयपुर पुगेका एक युवकको होटलमै मृत्यु भएको छ। प्रेमीका प्रहरी नियन्त्रणमा छिन्। प्रेमीकाले पनि आत्महत्या प्रयास गरेको तर, उद्धार गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी राजन चापागाईका अनुसार कटारी बजारस्थित हिमगंगा होटलको एक कोठाभित्र उक्त घटना घटेको हो। सिन्धुलीको दुधौली नगरपालिका–११ घर भएका २८ वर्षीय सिपिन कुमार कोठाभित्रै पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। उनीसँगै रहेकी २८ वर्षीया सविना मगर भने झुण्डिएको अवस्थामै अचेत भेटिएकी थिइन्, जसलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो।
प्रहरीको प्रारम्भिक विवरणअनुसार, दुवैजना आईतबार दिउँसो होटलमा प्रवेश गरेका थिए। त्यसपछि कोठाभित्रै उनीहरूबीच विवाद चर्किएको र सोही क्रममा सिपिनले सविनाकै सल प्रयोग गर्दै पंखामा झुण्डिएर आत्महत्या गरेको देखिएको छ। घटनापछि उनलाई बचाउने प्रयास असफल भएपछि सविनाले पनि सोही सल प्रयोग गरी आत्महत्या प्रयास गरेको प्रहरीको भनाइ छ।
कोठाबाट असामान्य आवाज सुनेपछि होटल सञ्चालकले ढोका खोलेर हेर्दा सविना अचेत अवस्थामा फेला परेकी थिइन्। त्यसपछि तुरुन्त प्रहरीलाई खबर गरिएको थियो। प्रहरी टोली घटनास्थलमा पुग्दा युवक मृत अवस्थामा र युवती झुण्डिएको अवस्थामै भेटिएकी थिइन्। उनलाई तत्काल उद्धार गरी अस्पतालमा उपचार गराइएको र अवस्था सुधार भएपछि डिस्चार्ज गरेर इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ।
प्रारम्भिक बयानका क्रममा मृतक सिपिनका दुई श्रीमती रहेको तथ्य खुलेको छ, जसले उनको व्यक्तिगत जीवनमा रहेको जटिलता र सम्बन्धको द्वन्द्वलाई झन् गहिरो बनाएको छ। यद्यपि, सविना मगरको पारिवारिक पृष्ठभूमि र उनीहरूबीचको सम्बन्धको प्रकृति अझै अनुसन्धानकै चरणमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि कटारी अस्पताल पठाइसकेको छ भने घटनाको वास्तविक कारण, सम्बन्धको अवस्थिति र आत्महत्यासम्म पुग्न बाध्य पार्ने मनोवैज्ञानिक तथा परिस्थितिजन्य पक्षहरूबारे विस्तृत अनुसन्धान भइरहेको छ।
