‘खसीकृष्णे’को अंशमा दुई श्रीमतीका परिवारबीचको झगडाः भाञ्जाकै खुँडा प्रहारबाट माइजुको हत्या
काठमाडौँ— पारिवारिक बेमेल, सम्पत्तिको लोभ र पुरानो वैमनस्यताका कारण पोखराको व्यस्त बजार क्षेत्र पृथ्वीचोकस्थित शिवालयचोकमा बुधबार साँझ एक महिलाको हत्या भएको छ। नातामा भान्जा पर्ने ब्यक्तिले ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या गरेका हुन। उनिमाथि माथि खुँडा प्रहार गरीएको थियो।
प्रहरीले हत्या आरोपमा पर्वतको कुश्मा नगरपालिका–११ सिल्मी स्थायी घर भएकाका २७ वर्षीय शिशिर केसीलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पोखरामा भाडामा बस्दै आएका शिशिर लागुऔषध दुव्र्यसनी भएको खुलेको छ। उनि लागुऔषध, चोरी तथा डाँका मुद्दामा पटक–पटक पक्राउ परिसकेको प्रहरी अभिलेखमा उल्लेख छ।
शिशिरले पोखरा–१७ रातोपैह्रो बस्ने ३२ वर्षीय कुशल परियारसँग मिलेर योजनाबद्ध रूपमा सिर्जनामाथि आक्रमण गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। कुशल पनि लागुऔषध प्रयोगकर्ता हुन। स्कुटर चलाइरहेका कुशलको पछाडि बसेका शिशिरले अँध्यारोको मौका पारेर खुँडाले निर्ममतापूर्वक प्रहार गरेका थिए।
घटनापछि दुवैले प्रमाण मेटाउन प्रयत्न गरेका थिए। प्रयोग गरिएको खुँडा पोखरा–१६ को जंगल क्षेत्रमा फालिएको र स्कुटर राष्ट्रबैंकचोकतिर छाडिएको अवस्थामा प्रहरीले फेला पारेको छ। शिशिर भने सोही साँझ सार्वजनिक बस चढेर बुटवल पुगेका थिए, जहाँ लुकेर बसेको अवस्थामा भैरहवा प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरिएको छ।
सहयोगी कुशललाई भने पोखरामै नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नवीन कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानले यो हत्या अंश विवादका कारण भएको देखिएको छ। मृतक सिर्जना र उनका स्वर्गीय पति कृष्ण केसीको परिवारबीच लामो समयदेखि सम्पत्ति बाँडफाँडको विवाद चलिरहेको थियो।
‘खसीकृष्णे’ भनेर चिनिने कृष्ण केसीले जेठी श्रीमतीले आत्महत्या गरेपछि करिब पाँच वर्षअघि दोस्रो विवाह गरी सिर्जनालाई भित्र्याएका थिए। त्यसपछि जेठीतर्फका सन्तान र सिर्जनाबीच सम्बन्ध चिसिँदै गएको थियो।
कृष्णको दुई वर्षअघि निधन भएपछि अंश विवाद झनै चर्किएको थियो। सिर्जनाले कास्की जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी थिइन्, जुन हालसम्म विचाराधीन अवस्थामा छ। यही विवादले अन्ततः हिंसात्मक रूप लिएको प्रहरीको विश्लेषण छ। सिर्जना पोखराको पथ्थीचोकमा जुत्ता पसल सञ्चालन गर्दै आएकी थिइन् र सामान्य व्यवसायिक जीवन बिताइरहेकी थिइन्।
घटनास्थलमा पुगेका सिर्जनाका माइतीपक्षका आफन्तहरूले समेत यसअघि धम्की आउने गरेको दाबी गरेका छन्। उनीहरूका अनुसार अंश विवादकै क्रममा सिर्जना र उनकी छोरीलाई समेत लक्षित गरेर योजना बनाइएको हुनसक्ने आशंका छ। यद्यपि यसबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानमा एसपी कार्कीको नेतृत्वमा वडा प्रहरी कार्यालय बैदामका डीएसपी नवराज भट्टराईसहितको टोली खटिएको थियो। प्रहरीले अहिले अभियुक्तहरूबीचको आपराधिक सञ्जाल, लागुऔषध सम्बन्ध र सम्भावित योजनाबद्ध संलग्नताका अन्य पक्षबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
