सभामुखकै गाडी कारबाहीमाः नियम मिच्दा सिंहदरबारमै पुगेर ट्राफिकले काट्यो चिट
काठमाडौँ— सत्ताको उच्च पदमा बसेका व्यक्तिहरू पनि कानुनभन्दा माथि नरहेको सन्देश दिने गरी सभामुख डोलप्रसाद अर्याल सवार हुने गाडीमाथि ट्राफिक प्रहरीले कडा कारबाही गरेको छ। राजधानीको व्यस्त क्षेत्र थापाथलीमा ट्राफिक नियम उल्लंघन गर्दै लेन क्रस गरिएको पाइएको उक्त गाडीलाई प्रहरीले पछ्याउँदै अन्ततः सिंहदरबार पुगेर चिट काटेको हो।
घटनाअनुसार सभामुख सवार हुने गाडीसँगै अगाडि र पछाडि सुरक्षा तथा एस्कर्टका रूपमा रहेका थप दुई सवारी साधनले पनि नियम उल्लंघन गरेका थिए। ट्राफिक प्रहरी स्रोतका अनुसार ती सबै सवारी साधनले निर्धारित लेन मिच्दै आवागमनमा अवरोध पु¥याएको देखिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। प्रारम्भिक अवस्थामा रोक्न नसकिएपछि ट्राफिक टोलीले ती सवारीलाई पछ्याउँदै सिंहदरबारसम्म पुगेर औपचारिक रूपमा कारबाही गरेको जनाएको छ।
स्रोत अनुसार ‘कुनै पद, कुनै हैसियत नियमभन्दा माथि हुँदैन’ भन्ने सिद्धान्तअनुसार नै चिट काटिएको हो। ‘यो कुनै व्यक्ति विशेषको गाडी होइन, नियम उल्लंघन गर्ने सवारी हो,’ ट्राफिक अधिकारीले भने, ‘जसले नियम तोड्छ, उसले कारबाही भोग्नै पर्छ।’
यद्यपि, कारबाहीका बेला सभामुख अर्याल स्वयं उक्त गाडीमा सवार थिए वा थिएनन् भन्नेबारे आधिकारिक पुष्टि हुन सकेको छैन। तर, गाडी भने उनको प्रयोगमा रहने पुष्टि भएको छ।
