एमालेमा निर्णायक शक्ति संघर्षः ओली जोगाउने ‘एकता कार्ड’ र नेतृत्व फेर्ने आन्तरिक मोर्चाबीच टकराव

काठमाडौँ– नेकपा एमालेभित्र नेतृत्व संकट अब आन्तरिक असन्तुष्टिको स्तर पार गर्दै खुला शक्ति संघर्षमा रुपान्तरण भएको संकेत देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उनकै विश्वासपात्र मानिएका शीर्ष नेताहरू नै संगठित रूपमा उभिन थालेपछि पार्टीभित्रको समीकरण एकाएक उल्टिएको छ।

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सुरु भएको नेतृत्व परिवर्तनको अभियानले एमालेभित्र गम्भीर ध्रुवीकरण निम्त्याएको छ। लामो समयदेखि ओलीका प्रमुख सहयोगी मानिएका महासचिव शंकर पोखरेल पनि नेतृत्व परिवर्तनको पक्षमा उभिएको देखिएको छ।

अर्कोतर्फ ओलीले त्यसको प्रतिकारस्वरूप वाम एकताको ‘कार्ड’ अघि सारेका छन्। प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि नैतिक जिम्मेवारी लिनुपर्ने माग उठ्दा पनि ओलीले पद नछाड्ने अडान लिएपछि असन्तुष्टि चर्किएको हो। निकटस्थ नेताहरूका अनुसार तीन उपाध्यक्ष, महासचिव र उपमहासचिव तहसम्मको समर्थन पौडेललाई प्राप्त भइरहेको छ, जसले नेतृत्व परिवर्तनको बहसलाई निर्णायक मोडतर्फ धकेलिरहेको छ।

ओलीको कार्यशैलीले पार्टी क्रमशः कमजोर हुँदै गएको, संगठन शिथिल बन्दै गएको र निर्णय प्रक्रियामा एकल वर्चस्व बढ्दै गएको आरोप उठाउँदै आएका नेताहरूले अब नेतृत्व विस्थापन नै सुधारको पहिलो कदम भएको निष्कर्ष निकालेका छन्। उनीहरूको रणनीति स्पष्ट छ—पहिले अध्यक्षबाट ओलीलाई हटाउने, त्यसपछि पार्टी पुनर्गठन गर्दै संगठनलाई नयाँ दिशातर्फ लैजाने।

तर आफ्नै पंक्तिबाट यस्तो मोर्चाबन्दी भइरहेको संकेत पाएपछि ओलीले राजनीतिक सन्तुलन कायम राख्न नयाँ चाल चलेका छन्। उनले नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने प्रस्ताव अघि सार्दै आन्तरिक संकटलाई बाह्य समीकरणमार्फत व्यवस्थापन गर्ने प्रयास थालेका छन्। यही सन्दर्भमा नेकपा संयोजक प्रचण्डसँग भएको पछिल्लो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। वैशाख ३ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भएको भेटले एमालेभित्र मात्रै होइन, समग्र वाम राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ।

ओली पक्षले यसलाई राष्ट्रिय हित र राजनीतिक स्थिरताका लागि आवश्यक संवादका रूपमा प्रस्तुत गरेको छ। एमाले सचिव महेश बस्नेतले पनि भेटलाई सामान्य सद्भाव भेट भन्दै त्यसलाई अतिरञ्जित गरिएको टिप्पणी गरेका छन्। तर पार्टीभित्रैका असन्तुष्ट नेताहरूले भने यसलाई ओलीको ‘सुरक्षा रणनीति’का रूपमा व्याख्या गरेका छन। नेतृत्व जोगाउन वाम एकताको बहाना बनाएको उनिहरुको विश्लेषण छ।

यही आशंका बलियो बन्दै जाँदा उपाध्यक्ष पौडेलले संगठनात्मक रूपमा आफ्नो पकड विस्तार गर्न थालेका छन्। उनले जिल्ला तहदेखि केन्द्रीय सदस्यसम्म समानान्तर सम्पर्क सञ्जाल निर्माण गर्दै पार्टी पुनर्गठनको सन्देश फैलाइरहेका छन्। वडा तहसम्म संगठन पुनर्संरचना गर्ने योजनासहित उनी सक्रिय भएको दाबी स्रोतहरूको छ। कतिपयले यसलाई औपचारिक संरचनाबाहिरको समानान्तर गतिविधि भन्दै आलोचना गरेका छन् भने उनका समर्थकहरूले यसलाई पार्टी जोगाउने अभियानको रूपमा व्याख्या गरेका छन्।

पौडेलले सार्वजनिक रूपमा नै वाम एकताको बहसलाई असान्दर्भिक भन्दै त्यसपछाडि लुकेको उद्देश्यप्रति प्रश्न उठाएका छन्। उनको बुझाइमा अहिलेको प्राथमिकता पार्टीभित्रको समीक्षा, जिम्मेवारी निर्धारण र संगठन सुदृढीकरण हुनुपर्छ, बाह्य एकता होइन। यसका लागि उनले ११औँ महाधिवेशनमा फरक धारबाट आएका नेताहरू, विशेषतः सुरेन्द्र पाण्डे समूहसँग समेत संवाद बढाएको बताइन्छ। पाण्डेले पनि पछिल्ला अभिव्यक्तिमा पार्टी पुनर्गठनको आवश्यकता औंल्याउँदै आएका छन्, जसले आन्तरिक ध्रुवीकरण थप प्रस्ट पारेको छ।

अर्कोतर्फ, उपमहासचिव लेखराज भट्टले पनि केही नेताहरू अध्यक्ष हटाउने तयारीमा रहेको संकेत गरेका छन् भने सचिव भानुभक्त ढकालले समानान्तर गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। ढकालले पार्टीभित्र अनावश्यक तरंग सिर्जना गरिएको आरोप लगाउँदै यसले संगठनलाई कमजोर बनाउने चेतावनी दिएका छन्।

समग्रमा एमाले अहिले द्वन्द्वको दुई धारमा उभिएको देखिन्छ। एकातर्फ ओलीको नेतृत्व जोगाउन बाह्य एकताको प्रयास, अर्कोतर्फ आन्तरिक सुधारका नाममा नेतृत्व परिवर्तनको कसरत। यो संघर्ष अब केवल पदको प्रतिस्पर्धा मात्र नभई पार्टीको भविष्य, दिशा र अस्तित्वसँग जोडिएको गम्भीर राजनीतिक टकरावका रूपमा विकसित भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट