सप्तरीमा एसपी र सांसद सचिवालयको टकरावले सामाजिक सञ्जालमा तरंगः के हो वास्तविक्ता ?
राजविराज– सप्तरीमा प्रहरी प्रमुख गौतम केसी र आफुलाई सांसद रामजी यादवको सचिवालय सदस्य बताउने युवकबीचको टकरावले सामाजिक सञ्जालमा तरंग उत्पन्न गरेको छ, जसमा एकातिर युवकले ‘आफुलाई प्रहरीले ज्यान मार्ने धम्की’ दिएको आरोप लगाएका छन् भने अर्कोतर्फ एसपी केसीले फोन गरेर युवकलाई ‘तिम्रो दिमाग सड्केको हो ? के भयो ? के लेखेको त्यो ?’ भन्दै थर्काउन खोजेको अडियो सार्वजनिक भएको छ।
सांसद यादवको सचिवालयसँग सम्बन्धित बताइएका मुस्तकिम आलमले शनिवार सामाजिक सञ्जालमा आफूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट ज्यान मार्ने धम्की आएको दाबी गरेर फेसवुक स्ट्याटस लेखेका थिए। त्यसपछि सुरु भएको विवाद अहिले अडियो क्लिप सार्वजनिक भएसँगै थप पेचिलो बनेको हो।
आलमले आफ्नो स्टाटसमा धम्कीको अडियो रेकर्ड छिट्टै सार्वजनिक गर्ने संकेत गरेका थिए। उक्त दाबीले सार्वजनिक चासो तानेसँगै सोही दिन जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रेस विज्ञप्ति जारी गर्दै आरोपलाई पूर्ण रूपमा खण्डन ग¥यो। प्रहरीको विज्ञप्तिमा त्यो आरोपलाई कपोलकल्पित, आधारहीन र समाजमा त्रास फैलाउने उद्देश्यले गरिएको भ्रामक प्रचार भनिएको छ। साथै, प्रमाणबिना यस्ता सामग्री सम्प्रेषण नगर्न र कानुनी दायराभित्र रहन सबैलाई सचेत गराइएको थियो।
तर घटनाक्रम त्यत्तिमै सीमित रहेन। प्रहरीको खण्डनपछि लगातार दुई वटा अडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भए, जसले विवादलाई नयाँ मोडमा पुर्यायो। पहिलो अडियोमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम केसी र मुस्तकिम आलमबीचको संवाद रहेको दाबी गरिएको छ, जहाँ शुभकामना आदानप्रदानबाट सुरु भएको कुराकानी क्रमशः तनावपूर्ण बन्दै जाँदा ‘तिम्रो दिमाग सड्को हो?’ जस्ता अभिव्यक्तिहरू प्रयोग भएको सुनिन्छ। करिब पाँच मिनेटभन्दा लामो उक्त संवादमा दुवै पक्षबीच तीव्र सवाल–जवाफ भएको अंश सार्वजनिक भएको छ।
अर्को अडियो क्लिपमा पत्रकार विक्की सिंह भनिएका व्यक्तिसँगको संवाद रहेको दाबी गरिएको छ। उक्त अडियोमा मुस्तकिम आलमको पहिचानबारे प्रश्न गर्दै उनलाई ‘ठिक ठाउँमा ल्याउन’ भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरिएको अंशले झनै विवाद चर्काएको छ। यस्ता अंश सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया, आलोचना र प्रश्नहरूको बाढी आएको छ।
यसबीच मुस्तकिम आलमले पुनः सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूले सत्यका लागि आवाज उठाउँदा उल्टै दबाब र त्रासको सामना गर्नुपरेको उल्लेख गरेका छन्। उनले आफू र सञ्चारकर्मीमाथि देखिएको व्यवहारलाई गम्भीर रूपमा लिन आग्रह गर्दै यस्तो प्रवृत्ति अन्य नागरिकमाथि पनि दोहोरिन सक्ने चेतावनी दिएका छन्।
सोही प्रकरणमा पत्रकार अवधेश झाले यदि अडियोमा सुनिएको आवाज वास्तवमै प्रहरी प्रमुखकै हो भने त्यसबारे निष्पक्ष र गम्भीर छानबिन अपरिहार्य रहेको बताएका छन्। उनले सुरक्षा निकायको जिम्मेवार पदमा बसेको व्यक्तिबाट यस्तो भाषा प्रयोग हुनु अस्वीकार्य भएको उल्लेख गर्दै सत्य दबाउने होइन, पारदर्शी रूपमा उजागर गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। झाको कमेण्टमा सञ्जय देवले पनि अडियोको वास्तविकता पुष्टि गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।
हालसम्म सार्वजनिक भएका अडियो क्लिपहरूको प्रामाणिकता आधिकारिक रूपमा पुष्टि भइसकेको छैन। अडियो वास्तविक हो वा कृत्रिम रूपमा तयार पारिएको हो भन्ने विषय अझै खुल्न बाँकी छ।
यो समग्र घटनाक्रमले एउटा गम्भीर प्रश्न उठाएको छ—यदि सुरक्षा निकायसँग सम्बन्धित यस्ता संवेदनशील आरोपहरू सार्वजनिक हुन्छन् भने त्यसको सत्यता कसरी पुष्टि हुन्छ र जनविश्वास कसरी कायम राखिन्छ? सप्तरीमा अहिले देखिएको यो विवाद केवल आरोप र खण्डनमा सीमित छैन, यसले राज्य संयन्त्रको पारदर्शिता, जवाफदेहिता र नागरिकको भरोसामाथि नै गहिरो प्रभाव पार्ने संकेत देखिएको छ।



