गृहमन्त्री बन्नुअघि ५० दिनमा ५० लाखको सेयर कारोबारः सुधन गुरुङको आयस्रोतबारे प्रश्न
काठमाडौँ– जेनजी आन्दोलनपछिको राजनीतिक उथलपुथलबीच सिधै गृहमन्त्रीको जिम्मेवारीमा पुगेका सुधन गुरुङको आर्थिक गतिविधि र सेयर लगानीबारे नयाँ तथ्यहरू सार्वजनिक हुन थालेपछि सनसनी मच्चिएको छ। प्राप्त विवरण अनुसार, उनले सरकारमा प्रवेश गर्नुभन्दा करिब पाँच दिन अघिसम्मको ५० दिनको अवधिमा मात्रै धितोपत्र बजारमा ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेका छन्, जसले उनको लगानी संरचना र आयस्रोतबारे गम्भीर प्रश्न उठाएको छ।
विवरण अनुसार गुरुङले २०८२ माघ १५ देखि चैत ८ गतेसम्म विभिन्न मितिमा १० पटक गरी कुल ५३ लाख ३५ हजार ५८० रुपैयाँ बराबरको सेयर खरिद गरेका हुन्। सबै कारोबार ‘नासा सेक्युरिटिज’ मार्फत गरिएको देखिएको छ। ब्रोकर कम्पनीको विवरण अनुसार उनले एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट लिमिटेडको सेयर मात्र खरिद गरेका हुन्। उल्लेखनीय कुरा के छ भने, उनी यसअघि दोस्रो बजारमा सेयर कारोबारमा सक्रिय रहेको कुनै रेकर्ड देखिँदैन।
कारोबारको विवरण अनुसार उनले पहिलो पटक माघ १५ गते ७ लाख ९० हजार र सोही दिन पुनः ७ लाख ८८ हजार रुपैयाँको सेयर खरिद गरेका थिए। त्यसपछि माघ २७ गते १६ लाख १७ हजार रुपैयाँको सेयर किनिएको देखिन्छ। त्यसपछि चैत ८ गते मात्र एकै दिन सात पटक कारोबार गर्दै ९ लाख १५ हजार, १ लाख ५२ हजार ६१०, १ लाख ८३ हजार १२०, २२ हजार ९२०, ७६ हजार ४९५, ४५ हजार ९०० र ७ लाख ४२ हजार ५३५ रुपैयाँ बराबरको सेयर खरिद भएको विवरणमा उल्लेख छ।
यही समयावधि राजनीतिक दृष्टिले पनि अत्यन्त संवेदनशील मानिन्छ। जेनजी आन्दोलनपछिको राजनीतिक पुनर्संरचना, निर्वाचन प्रक्रिया र सरकार गठनको अन्तिम चरणसँगै उनको सेयर कारोबार सक्रिय हुनु प्रश्नको केन्द्रमा परेको छ।
गृहमन्त्री बनेपछि सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनले होप होल्डिङ्स प्रालिमा ३० लाख रुपैयाँ, लगुम प्रिमियम अपार्टमेन्टमा ५७ लाख रुपैयाँ र एड्भेन्चर भिल्ला प्रालिमा ७० लाख रुपैयाँ बराबरको सेयर रहेको उल्लेख गरेका छन्। तर यी तीनवटै कम्पनी स्टक एक्सचेन्जमा सूचीकृत छैनन्। त्यस्तै, धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा २ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर रहेको विवरण दिइए पनि कुन कम्पनीमा कति लगानी छ भन्ने स्पष्ट विवरण भने सार्वजनिक गरिएको छैन।
विवरणअनुसार दोस्रो बजारमा खरिद गरिएको ५३ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर बाहेक बाँकी करिब २ करोड २१ लाख रुपैयाँको सेयर प्राथमिक बजार वा संस्थापक सेयरका रूपमा रहेको अनुमान गरिएको छ। तर यसबारे आधिकारिक स्पष्टता भने अझै अभावमा छ।
यसैबीच, गम्भीर प्रश्न थपिएको अर्को पक्ष हो– दीपक भट्ट र शंकर समूहसँग जोडिएको लघु बिमा कम्पनीहरूमा रहेको लगानी। सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका दीपक भट्ट समूहसँग सम्बन्धित स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्स कम्पनीमा गुरुङको २५–२५ लाख रुपैयाँ गरी कुल ५० लाख रुपैयाँ बराबरको सेयर रहेको विवरण विभिन्न स्रोतहरूले पुष्टि गरेका छन्। यी कम्पनीहरू भट्ट र शंकर समूहको लगानी संरचनासँग प्रत्यक्ष जोडिएको आरोप पहिलेदेखि नै सार्वजनिक हुँदै आएको छ।
गुरुङको सामाजिक संस्था ‘हामी नेपाल’सँग पनि यही समूहको सम्बन्ध जोडिएको तथ्य यसअघि नै बाहिरिएको थियो। दीपक भट्ट, सुलभ अग्रवाल र साहिल अग्रवालजस्ता विवादित व्यवसायीहरूले उक्त संस्थालाई सहयोग गरेको विवरण स्वयं गुरुङले सार्वजनिक गरेका थिए। तर पछिल्ला तथ्यहरूले त्यो सम्बन्ध सामाजिक सहयोगभन्दा पर व्यावसायिक साझेदारीसम्म पुगेको संकेत देखाउँछन्।
यति ठूलो परिमाणमा सेयर लगानी, त्यसको स्रोत अस्पष्टता र बिचौलिया सञ्जालसँगको सम्बन्धले गृहमन्त्री गुरुङमाथि पारदर्शिता र कन्फ्लिक्ट अफ इन्ट्रेस्ट सम्बन्धी गम्भीर प्रश्न खडा गरेको छ। सार्वजनिक पदमा रहेका व्यक्तिले सम्पत्ति विवरणमा पूर्ण पारदर्शिता नदेखाउनु कानुनी मात्र होइन, नैतिक प्रश्न पनि भएको विज्ञहरू बताउँछन्।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा गृहमन्त्री गुरुङसँग सम्पर्क हुन सकेको छैन।
