उदयपुरको बेल्टारमा मध्यराती आगलागी हुँदा मस्त सुतिरहेका दुई जनाको जलेर मृत्यु

बेल्टार– उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टारस्थित शान्ति चोकमा गएराति भएको भीषण आगलागीमा जलेर दुई जनाको ज्यान गएको छ। तीनवटा घर पूर्णरूपमा ध्वस्त भएका छन्।

प्रहरीका अनुसार मङ्गलबार बिहानको राती करिब पौने ३ बजे ७० वर्षीय लक्ष्मी नारायण खड्काको घरबाट आगलागी सुरु भएको थियो। आगोमा जलेर लक्ष्मी नारायण खड्कासहित ३० वर्षीय पवन खड्काको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।

उनीहरू दुबैजना सुतिरहेको अवस्थामा आगलागीमा परेका थिए, जसले उद्धारको कुनै अवसर नै नपाएको स्थानीयले वताएका छन्। आगोको लप्काले नजिकै रहेका रबिन कुमार दास र सकलदेवका घरहरू समेत पूर्ण रूपमा नष्ट बनाएको छ।

घरभित्र रहेका सम्पूर्ण सरसामान, लत्ताकपडा र नगद सामग्रीहरू समेत जलेर खरानी भएको प्रहरीले जनाएको छ। घटनामा परेर अस्मिता खड्का गम्भीर घाइते भएकी छन् र उनको बेल्टारस्थित नगर अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी राजन चापागाईंका अनुसार आगलागी अत्यन्त तीव्र गतिमा फैलिएकाले नियन्त्रणमा लिन निकै चुनौतीपूर्ण अवस्था सिर्जना भएको थियो। त्रियुगा नगरपालिका र चौदण्डिगढी नगरपालिकाका दमकल, स्थानीय बासिन्दा तथा प्रहरीको संयुक्त प्रयासपछि मात्रै बिहान आगो नियन्त्रणमा लिन सकिएको हो।

घटनापछि सम्पूर्ण क्षेत्र शोकमग्न बनेको छ भने स्थानीयहरू स्तब्ध छन्। क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट