धनुषामा एक सातासम्म बन्धक बनाएर दलित किशोरीमाथि सामुहिक ब*लात्कार

जनकपुर—धनुषामा एक १४ वर्षीया दलित किशोरीमलाई एक सातासम्म बन्धक बनाएर निरन्तर बलात्कार गरिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अन्य संलग्नहरूको खोजी भईरहेको छ।

प्रहरी अनुसन्धानअनुसार, क्षीरेश्वर नगरपालिका–९ की ती किशोरीलाई स्थानीय महिला खुश्बुदेवीले खेतमा काम गर्न भन्दै घरबाट बाहिर निकालिलेकी थिईन। गरिबी र विश्वासको फाइदा उठाउँदै उनले किशोरीलाई जयराम महतोको जिम्मा लगाएको तथ्य खुलेको छ।

त्यसपछि घटनाले क्रूर रूप लियो—बसनियाँ खोला किनारमा लगेर महतोले किशोरीमाथि बलात्कार गरेको खुलेको छ। पीडितले प्रतिकार गर्दै चिच्याउन थालेपछि घटनालाई लुकाउने प्रयासस्वरूप उनलाई औरहीस्थित आफन्त गंगा महतोको घरमा सारिएको थियो, जहाँ उनलाई बन्धक बनाएर राखिएको थियो।

किशोरीको अवस्था दिनप्रतिदिन गम्भीर बन्दै जाँदा पनि मानवता देखिएन। उल्टै खुश्बुदेवीकै सहयोगमा उनलाई पुनः जनकपुर ल्याइयो र पिराडी चोकस्थित एक डेरामा राखेर बलात्कारलाई निरन्तरता दिइयो।

धनुषा प्रहरीका प्रवक्ता डीएसपी गणेशबहादुर बमका अनुसार, बन्धक बनाइएको चौथो दिनमा घरबेटीले शंका गर्दै प्रहरीलाई खबर गरेपछि मात्रै यो घटना बाहिर आएको हो। तत्कालै पुगेको प्रहरी टोलीले किशोरीलाई अचेत अवस्थामा उद्धार गरेको थियो।

उद्धारको समयमा देखिएको अवस्था झनै भयावह थियो। प्रहरीका अनुसार किशोरीको मानसिक अवस्था सामान्य थिएन, उनी बोल्न नसक्ने अवस्थामा थिइन् र उनको यौनांगमा टाँका लगाइएको थियो। यसले उनीमाथि भएको शारीरिक हिंसाको गहिराइ मात्र होइन, निरन्तर अत्याचारको स्तर पनि प्रस्ट पार्छ।

अनुसन्धानले देखाए अनुसार उनलाई विभिन्न औषधि र नशालु पदार्थ खुवाएर अचेत बनाइन्थ्यो, जसले अपराधलाई सजिलो बनाउने नियोजित रणनीति रहेको संकेत दिन्छ। हाल उनलाई सेफ हाउसमा राखेर उपचार सुरु गरिएको छ। तर अझै पनि पूर्ण रूपमा होसमा नआएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मुख्य आरोपी जयराम महतोलाई शरीर बन्धक र जबर्जस्ती करणीको अभियोगमा पक्राउ गरी मुद्दा दर्ता गरेको छ। यद्यपि, घटनामा सहयोगी भूमिका खेलेका अन्य व्यक्तिहरू खुश्बुदेवीलगायतको खोजी जारी छ।

प्रहरीको प्रारम्भिक विश्लेषणले यो घटना एकल नभई समन्वयमा गरिएको संगठित अपराध हुनसक्ने देखाएको छ, जसले अनुसन्धानलाई अझ संवेदनशील र जटिल बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट