सर्लाहीको इँटाको चाङ ढल्दा पुरिएर तीन मजदुरको मृत्यु, दुई घाइते
सर्लाही — सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा शुक्रबार साँझ इँटाको ठूलो चाङ ढल्दा काम गरिरहेका तीन जना मजदुरहरूको पुरिएर मृत्यु भएको छ। इँटा निकाल्ने क्रममा अचानक चाङ ढलेको थियो।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे कौडेना बजार निवासी बिरेन्द्र चौधरी सञ्चालक रहेको कृष्ण इँटा उद्योगबाट इँटा निकाल्ने क्रममा चाङजस्तै बनेको पर्खाल एक्कासि भत्किएको थियो। भारी संरचना ढल्नासाथ त्यहाँ काम गरिरहेका मजदुरहरू माटो र इँटामुनि पुरिएका थिए। घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी इन्स्पेक्टर शिव कटेलको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा तत्काल उद्धार अभियान सञ्चालन गरिएको थियो।
गम्भीर अवस्थामा उद्धार गरिएका मजदुरहरूलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पठाइएको भए पनि उपचारकै क्रममा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए। मृत्यु हुनेहरूमा गोडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताई मन्सुर, गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखिमपुर निवासी अन्दाजी ३५ वर्षीय अंगद कुमार छन्। उनीहरू सबै इँटा उद्योगमा श्रमिकको रूपमा कार्यरत थिए।
दुर्घटनामा मलंगवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन्। तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्यनारायण महतोको मजुर्वास्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डीएसपी सरोज राईका अनुसार घाइतेमध्ये एकको अवस्था मध्यम छ।
दुर्घटनापछि इँटा उद्योग क्षेत्रमा ठूलो संख्यामा स्थानीयवासी भेला भएका थिए। एक्स्काभेटर प्रयोग गरेर पुरिएको भाग हटाईएको थियो। प्रारम्भिक रूपमा इँटाको चाङ असन्तुलित ढंगले थुपारिएको र सुरक्षाको पर्याप्त मापदण्ड अपनाइएको नदेखिएको आशंका गरिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।
नेपालका धेरै इँटा उद्योगहरूमा अझै पनि श्रमिक सुरक्षासम्बन्धी आधारभूत मापदण्ड कमजोर रहेको गुनासो बेलाबेलामा उठ्दै आएको छ। न्यून सुरक्षा, अस्थायी संरचना र जोखिमपूर्ण श्रमकै बीच मजदुरहरू दैनिक काम गर्न बाध्य हुने अवस्था यस्ता दुर्घटनाको प्रमुख कारण बन्दै गएको श्रमिक अधिकारकर्मीहरूको भनाइ छ।

