वीरगञ्जको हरिखेतान क्याम्पसका प्रमुखमाथि कालोमोसो दलियो, दुई जना कर्मचारी पक्राउ
वीरगञ्ज– वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख किशोरी रायमाथि विहिबार क्याम्पस परिसरभित्रै एक समूहले लछारपछार गर्दै कालोमोसो दलेको छ। बिहानको समयमा क्याम्पस भित्र प्रवेश गरेको पाँच–छ जनाको समूहले प्रमुख रायलाई लक्षित गर्दै दुर्व्यवहार गरेको हो।
स्थानीयका अनुसार करिब एक वर्षदेखि चर्किँदै आएको विवादको परिणाम स्वरुप रायमाथि कालोमोसो दलिएको हो। सामुदायिक क्याम्पस हरिखेतानलाई सञ्चालक समितिले हस्तक्षेप गर्दै निजीकरणतर्फ लैजान खोजेको आरोप लामो समयदेखि उठ्दै आएको थियो। यही सन्दर्भमा क्याम्पस प्रशासन र सञ्चालक समितिको भूमिकामाथि प्रश्न उठिरहेका बेला हालै पुनः नियुक्त भएका क्याम्पस प्रमुख रायको निर्णयले विवादलाई झनै उग्र बनाएको देखिन्छ।
पछिल्लो विवादको केन्द्र भने करारमा कार्यरत चार जना शिक्षकको सेवाबाट निष्कासनको निर्णय प्रमुख भएको जनाईएको छ। क्याम्पस प्रशासनले वैशाख २१ गतेदेखि लागू हुने गरी लालकिशोरप्रसाद पटेल, रविन्द्रकुमार यादव, पूजा गुप्ता र दिलिपकुमार पण्डितको करार सेवा अन्त्य गर्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति तीव्र असन्तुष्टि जनाउँदै शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए।
उनीहरूले क्याम्पसमा तालाबन्दी गर्दै निरन्तर धर्ना दिँदै आएका थिए, जसले प्रशासन र आन्दोलनरत पक्षबीचको दूरी अझ बढाउँदै लग्यो। क्याम्पस प्रमुख रायले पटक–पटक ताला खोल्न आग्रह गरे पनि आन्दोलनरत पक्ष नमान्दा स्थिति झनै जटिल बन्दै गएको थियो। यही पृष्ठभूमिमा बिहीबारको घटना घटेको हो, जहाँ असन्तुष्टि अन्ततः हिंसात्मक अभिव्यक्तिमा परिणत भएको देखिन्छ।
घटनापछि सुरक्षा निकाय सक्रिय बनेको छ। क्याम्पस प्रमुखमाथि कालोमोसो दलेर दुव्र्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसकै दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा डीएसपी हरिबहादुर बस्नेतका अनुसार घटनामा संलग्नताको आशंकामा उनीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
लोकप्रिय
गजेन्द्र अस्पतालले सरकारको निर्देशन अटेर गर्दा विरामीलाई मर्का, ४ बजेपछि रिपोर्ट नपाउँदा उपचार प्रभावित

