प्रधानमन्त्रीको नाम लिँदै कर्मचारीलाई जुत्ताको माला लगाउँने धम्की दिएका प्रकाश खड्का पक्राउ, रविको पार्टीले पनि कारवाही गर्ने

काठमाडौँ— प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिवलाई धम्क्याएको अडियो सार्वजनिक भएपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोकका प्रकाश खड्का विवादमा तानिएका छन्।

सामाजिक सञ्जालमा आफूलाई ‘जेनजी अभियन्ता’ का रूपमा प्रस्तुत गर्दै आएका खड्का रास्वपाको समर्थक मात्र नभई आफ्नै राजनीतिक दलका अध्यक्ष रहेको तथ्य सार्वजनिक भएको छ। यो घट्नाले राजनीतिक र प्रशासनिक तरंग सिर्जना गरेको छ। प्रधानमन्त्री कार्यालयको नाम जोडेर राष्ट्रसेवक कर्मचारीलाई धम्क्याएको आरोपमा उनी पक्राउ परिसकेका छन् भने उनी आबद्ध भनिएको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला तहले समेत कारबाही सिफारिस गरेको छ।

दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत अभद्र भाषा (छाड बोल्दै) प्रयोग गर्दै जुत्ताको माला लगाउने धम्की दिएको अडियो सार्वजनिक भएसँगै घटनाले व्यापक चर्चा पाएको थियो। अडियोमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रभाव र पहुँचको हवाला दिँदै कर्मचारीलाई दबाब सिर्जना गरिएको सुनिन्छ। त्यसपछि प्रधानमन्त्री कार्यालयले तत्कालै घटनालाई गम्भीर रूपमा लिँदै सम्बन्धित निकायलाई कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीमाथि भय, त्रास र अनुचित दबाब सिर्जना गर्ने गतिविधि निन्दनीय र अक्षम्य भएको बताएका छन्। विज्ञप्तिमा प्रधानमन्त्री सुशासन, विधिको शासन र राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै विधिको शासनलाई चुनौती दिने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट चेतावनी दिइएको छ।

कार्यालयले प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरेर कसैले धम्की, बार्गेनिङ वा दबाब सिर्जना गर्न खोजे त्यस्ता गतिविधिलाई आधिकारिक नमान्न पनि सरकारी निकाय र आम नागरिकलाई आग्रह गरेको छ। शंकास्पद फोन, सन्देश वा निर्देशनलाई आधिकारिक माध्यमबाट प्रमाणीकरण गर्नुपर्ने उल्लेख गर्दै राज्य संयन्त्रको गरिमा जोगाउन सबै निकाय सजग रहनुपर्नेमा जोड दिइएको छ।

काठमाडौँको शंखमुल बस्दै आएका २२ वर्षीय प्रकाश खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौँले खड्कालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीमाथि प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै सरकारी कर्मचारीलाई धम्क्याउने, भय सिर्जना गर्ने र अमर्यादित भाषा प्रयोग गर्ने आरोपमा अनुसन्धान भइरहेको छ।

घटनापछि राजनीतिक रूपमा पनि खड्कामाथि दबाब बढेको छ। रास्वपा दैलेख जिल्ला समितिले उनको गतिविधि पार्टीको हितविपरीत, अमर्यादित र अवाञ्छित रहेको ठहर गर्दै साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्न केन्द्रीय अनुशासन आयोगमा सिफारिस गरेको छ। जिल्ला सचिव प्रकाश कुमार बुढाले जारी गरेको पत्रमा सार्वजनिक रूपमा पार्टीको छवि धुमिल बनाउने गतिविधिमा संलग्न देखिएकाले कडा अनुशासनात्मक कारबाही आवश्यक रहेको उल्लेख गरिएको छ।

तर घटनाको सबैभन्दा रोचक र विवादास्पद पक्ष भने खड्काको आफ्नै राजनीतिक परिचयसँग जोडिएको छ। निर्वाचन आयोगमा दर्ता विवरणअनुसार खड्का ‘नेपाल जनसेवा पार्टी’ नामक दलका अध्यक्ष रहेका छन्। उनले गत मंसिर ११ गते सेतो र कालो रङको जुत्ता चुनाव चिह्नसहित दल दर्ता गराएका थिए। आयोगको अभिलेखमा उनको टेलिफोन नम्बर ९७६५१९९३५२ उल्लेख छ भने पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका रानीबारीमा रहेको देखिन्छ। पार्टीका उपाध्यक्ष टेकेन्द्र उपाध्याय रहेको विवरणमा उल्लेख छ।

उक्त पार्टीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट शोभा पाठकलाई उम्मेदवार बनाएको थियो। एमाले सचिव महेश बस्नेत विरुद्ध चुनाव लडेकी पाठकले १९ मत प्राप्त गरेकी थिइन्। सो क्षेत्रमा रास्वपाका राजिव खत्री विजयी भएका थिए। निर्वाचन आयोगमा दर्ता गरिएको विवरणमा खड्काको पृष्ठभूमिमा पूर्वगृहमन्त्री सुधन गुरुङ्गसँग काँध मिलाएर खिचिएको तस्वीरसमेत रहेको देखिएको छ, जसले उनको राजनीतिक पहुँच र निकटताबारे थप चर्चा जन्माएको छ।

यो घटनाले सामाजिक सञ्जालको आडमा राजनीतिक पहुँचको दाबी गर्दै राज्य संयन्त्रमाथि दबाब सिर्जना गर्ने प्रवृत्तिलाई उजागर गरेको छ। प्रधानमन्त्री कार्यालयजस्तो संवेदनशील संस्थाको नाम प्रयोग गरेर कर्मचारीलाई धम्क्याउने घटना केवल व्यक्तिगत उद्दण्डता मात्र नभई राज्य संरचनामाथिको प्रत्यक्ष चुनौतीका रूपमा हेरिन थालेको छ। अब अनुसन्धानले प्रकाश खड्काको वास्तविक राजनीतिक पहुँच, उनको नेटवर्क र यस्तो गतिविधिपछाडिको संरचनात्मक सम्बन्ध कति गहिरो छ भन्ने प्रश्नको उत्तर खोज्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट