नाईजेरियन युवतीको पेटमा मोरङबाट निर्वाचित रास्वपाका सांसदको सन्तान, पुष्टि भएपछि कार्की सम्पर्कविहिन
काठमाडौँ— आफूलाई ‘नयाँ राजनीति’ को प्रतिनिधि बताउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णकुमार कार्कीमाथि एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको गम्भीर आरोप लागेको छ। मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित कार्की अहिले एक नाइजेरियन युवतीसँगको सम्बन्ध, गर्भधारणपछि सम्पर्कविहीन बनेको आरोप र विगतका विवादास्पद गतिविधिका कारण सार्वजनिक आलोचनाको केन्द्रमा छन्।
काठमाडौँको ठमेल क्षेत्रमा बस्दै आएकी २६ वर्षीया नाइजेरियन युवती रिता अजुकोले सांसद कार्की आफू गर्भवती भएको जानकारी पाएपछि अचानक सम्पर्कविहीन बनेको बताएकी छिन्। अजुकोका अनुसार उनी र कार्की लामो समयदेखि लिभिङ रिलेसनसिपमा थिए। सम्बन्धको सुरुवाती चरणमा अत्यन्त निकट देखिएका कार्कीले आफूलाई ‘माई वाइफ’, ‘माई लाइफ’, ‘माई लभ’ जस्ता सन्देश पठाउने, सार्वजनिक तथा निजी रूपमा भविष्यका सपना बाँड्ने र सँगै जीवन बिताउने आश्वासन दिने गरेका थिए।
उनीहरूले सँगै बिताएका क्षणका भिडियो र म्यासेजहरू समेत सार्वजनिक भएको दाबी जनआस्थाले गरेको छ। जसमा कार्कीले अजुकोलाई ढाडमा बोकेर हिँडेको, ड्राइभिङ सिकाएको र अत्यन्त आत्मीय व्यवहार गरेको देखिएको छ।
तर, सम्बन्धको स्वरूप अचानक बदलिएको आरोप अजुकोको छ। उनका अनुसार आफू गर्भवती भएको थाहा पाएपछि उनले सुरुमा गर्भपतन गर्ने निर्णय सुनाएकी थिइन्। तर, कार्कीले त्यसो नगर्न भावनात्मक दबाब सिर्जना गरेका थिए। ‘यस्तो कुरा नगर, मलाई रुन मन लाग्छ’, ‘म बुवा बन्न लागेकोमा धेरै खुशी छु’ जस्ता सन्देश पठाएर उनले गर्भपतन गर्नबाट रोकेको अजुकोको भनाइ छ। आफूलाई सन्तान जन्माउन प्रेरित गर्ने व्यक्तिले अहिले सम्पर्क तोडेर बेवास्ता गरेको भन्दै उनले गम्भीर पीडा व्यक्त गरेकी छिन्।
अजुकोका अनुसार गर्भ बढ्दै जाँदा कार्कीको व्यवहार बदलिन थाल्यो। फोन नउठाउने, म्यासेजको जवाफ नदिने र अन्ततः सम्पर्कबाटै टाढिने क्रम सुरु भयो। अहिले डेलिभरीको समय नजिकिँदै जाँदा आफू आर्थिक र मानसिक संकटमा परेको उनले बताएकी छिन् । क्षेत्रपाटी फ्रि क्लिनिकमा उपचार गराइरहेकी उनले आफू र जन्मिन लागेको बच्चाको पालनपोषणको जिम्मेवारी कार्कीले लिनुपर्ने माग गरेकी छिन्। ‘पहिले बच्चा राख्न आग्रह गर्ने, जिम्मेवारी लिने कुरा गर्ने, अहिले सबैभन्दा आवश्यक समयमा गायब हुने’ व्यवहारले आफू पूर्ण रूपमा असुरक्षित र तनावग्रस्त बनेको उनको गुनासो छ।
अस्पतालमा गरिएको कागजी प्रक्रियामा समेत पतिको नाम ‘कृष्ण कार्की’ नै उल्लेख गरिएको बताइएको छ। अजुकोले नेपालमा रहेका आफ्ना साथीहरूमार्फत सहयोग खोजिरहेकी छिन्। उनीसँग निकट रहेकाहरूका अनुसार अहिले उनी आर्थिक अभाव, मानसिक दबाब र भविष्यको अन्योलबीच गुज्रिरहेकी छिन्।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा सांसद कार्कीले संक्षिप्त प्रतिक्रिया दिँदै आफू ‘मिटिङमा रहेको’ बताएका थिए । उनले विस्तृत प्रतिक्रिया दिन अस्वीकार गर्दै फोन वार्ता टारे। आरोपबारे स्पष्ट जवाफ नदिएको उनको व्यवहारले झन् थप प्रश्न खडा गरेको छ।
कार्कीको नाम यसअघि पनि विभिन्न विवादमा जोडिँदै आएको थियो। उनी भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा सिंहदरबार परिसर अगाडि पुगेका व्यक्तिमध्ये एक थिए। त्यतिबेला सुरक्षाकर्मीको हतियार खोस्ने प्रयास, अर्धनग्न प्रदर्शन तथा सिंहदरबारमा आगजनी प्रयाससँग जोडिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएका थिए। राज्यको प्रमुख प्रशासनिक केन्द्रमाथि आक्रमण शैलीको प्रदर्शनमा संलग्न व्यक्तिलाई राजनीतिक दलले उम्मेदवार बनाएको भन्दै त्यतिबेलै व्यापक आलोचना भएको थियो।
त्यसभन्दा अघि उनी गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ समूहसँग नजिक रहेको चर्चा पनि सार्वजनिक वृत्तमा बारम्बार उठ्दै आएको थियो। प्रहरी इन्काउन्टरमा चरी मारिएपछि कार्की लामो समय जापान बसेको र पछि नेपाल फर्किएर राजनीतिमा सक्रिय बनेको पृष्ठभूमि पनि अहिले फेरि चर्चामा आएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट पाएर निर्वाचित भएका उनी अहिले पुनः गम्भीर नैतिक र सामाजिक विवादमा तानिएका छन्।
रास्वपाले पछिल्लो समय आफ्ना सांसद र नेताहरूलाई अनुशासन, सार्वजनिक आचरण र राजनीतिक व्यवहारबारे प्रशिक्षण दिन थालेको अवस्थामा आफ्नै सांसदमाथि यस्ता आरोप आउनुले पार्टीभित्रै असहज अवस्था सिर्जना गरेको छ। ‘पुराना सबै खराब, हामी मात्रै फरक’ भन्ने भाष्य निर्माण गर्दै जनतामाझ पुगेको दलका प्रतिनिधिमाथि निजी जीवन, जिम्मेवारी र नैतिक आचरणसँग जोडिएका प्रश्न उठ्न थालेपछि पार्टीको विश्वसनीयतामाथि समेत प्रश्न उठेको छ।
एक विदेशी युवती गर्भावस्थाको संवेदनशील अवस्थामा आर्थिक र मानसिक संकट झेलिरहेकी छिन् भने आरोपको केन्द्रमा रहेका सांसद मौन देखिन्छन्। अब यो विवाद केवल व्यक्तिगत सम्बन्धको विषय मात्रै होइन, सार्वजनिक जिम्मेवारी बोकेका जनप्रतिनिधिको नैतिकता, जवाफदेहिता र राजनीतिक चरित्रमाथिको गम्भीर बहस बनेर उभिएको छ ।

