छिमेकीसँग बाटोको विवाद, पति विदेश गएको तीन महिनामै पत्नीको हत्या

राजविराज — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५, बनरझुलामा बाटोको विवादका कारण एक महिलाको निर्मम हत्या भएको खुलेको छ। वैदेशिक रोजगारीका लागि कतार गएका श्रीमान् फर्किन नपाउँदै ३६ वर्षीया अनितादेवी रायको हत्या भएको हो। घट्नापछि सिंगो गाउँ शोक, त्रास र आक्रोशमा डुबेको छ।

घरमा एक्लै रहेकी महिलालाई रातारात बेपत्ता पारेर हातखुट्टा बाँधिएको अवस्थामा कोशी नदीमा शव फालिएको घटनाले गाउँ स्तब्ध बनेको छ भने उनकी १२ वर्षीया छोरी काजलकुमारी राय गहिरो मानसिक पीडामा छिन्।

घट्ना, गत बुधबार राति भएको हो। अनिताका श्रीमान वीरेन्द्र राय तीन महिनाअघि मात्रै कतार गएका थिए। श्रीमानसँग अनिताको अन्तिम संवाद पनि यही बाटो विवादकै विषयमा भएको खुलेको छ। परिवारका अनुसार काजल त्यस रात गाउँकै अमर्बा टोलमा जन्ती गएकी थिइन्। घरमा अनिता एक्लै थिइन्।

त्यही मौका छोपेर उनलाई घरबाटै बेपत्ता पारेको आशंका गरिएको छ। भोलिपल्ट बिहान घरमा उनी नदेखिएपछि छिमेकीहरूले खोजी थालेका थिए। घरभित्र रगतका छिटा फेला परेपछि घटनाले गम्भीर मोड लिएको थियो। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो भने जन्तीमा रहेकी काजललाई ‘गाई हराएको’ भन्दै घर बोलाइएको थियो।

तर, घर फर्किंदा गाई गोठमै देखेपछि काजल झस्किइन्। त्यसपछि उनले गाउँभरि आमालाई खोज्दै रुँदै हिँडेको स्थानीयहरू बताउँछन्। गाउँले र प्रहरीको संयुक्त खोजीपछि एक सातापछि गत बुधबार कोशी नदीको पश्चिमी किनारस्थित ‘९ किलोमिटर’ क्षेत्रमा अनिताको शव फेला परेको थियो। शवको अवस्था अत्यन्त भयावह थियो।

हात पछाडि फर्काएर बाँधिएको, खुट्टा कसिएको, आफ्नै साडीले घाँटी बेरिएको र शव नबगोस् भनेर टाउको तथा खुट्टातिर भारी ढुंगा बाँधिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। पानीमा लामो समय रहेकाले शव गलिसकेको थियो।

घटनापछि गाउँमा बाटोको विवादकै कारण हत्या गरिएको चर्चा तीव्र बनेको छ। मृतककी नन्द राधाका अनुसार अनिताको घरसम्म पुग्ने बाटोको विषयमा छिमेकीसँग महिनौँदेखि विवाद चलिरहेको थियो। ‘भाउजूले बारम्बार बाटो खोलिदिन आग्रह गर्नुहुन्थ्यो। त्यही रिसले घरमा कोही नभएको मौका छोपेर हत्या गरिएको हो,’ उनले भनिन्।

कतारबाट शुक्रबार मात्रै फर्किएका श्रीमान् वीरेन्द्र राय अहिले पत्नी गुमाएको पीडा र आक्रोशमा छन्। उनका अनुसार घटना हुनुअघि राति ११ बजेदेखि १२ बजेसम्म श्रीमतीसँग फोनमा कुराकानी भएको थियो। त्यही क्रममा उनले बाटो बन्द गरिएका कारण आफूलाई दैनिक समस्या भइरहेको सुनाएकी थिइन्। ‘भोलिपल्ट बिहानदेखि फोन गर्दा सम्पर्क भएन। पछि गाउँबाट फोन आयो, अनि मात्रै घटना थाहा पाएँ,’ उनले भावुक हुँदै भने, ‘मेरी श्रीमतीलाई जसले यस्तो निर्मम तरिकाले मा¥यो, उसलाई कुनै हालतमा उन्मुक्ति दिनु हुँदैन।’

वीरेन्द्रले घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। प्रहरीले दुई जना छिमेकीसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी परिवारलाई दिएको छ। यद्यपि, गाउँलेहरू वास्तविक दोषी सबै सार्वजनिक हुनुपर्ने र घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले महिलाको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको पुष्टि गर्दै घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए। उनका अनुसार पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ र अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

तर, अनुसन्धानको प्रक्रिया अघि बढिरहँदा घरमा भने अझै रुवाबासी रोकिएको छैन। आमाको तस्वीर अँगालेर बसेकी काजल अहिले हरेक क्षण एउटै पीडासँग जुधिरहेकी छिन्। ‘म त्यो राति घरमै भएको भए आमा बच्नुहुन्थ्यो कि ?’ भन्ने प्रश्नले उनलाई लगातार सताइरहेको छ। कोशी नदीमा भेटिएको त्यो शवसँगै एउटा परिवारको शान्ति, एक बालिकाको बाल्यकाल र वैदेशिक रोजगारीमा गएका श्रीमानको भरोसा पनि बगेर गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट