नाइजेरियन युवती गर्भवती हुँदा रास्वपामा तरंगः आशिका तामाङको कठोर प्रश्न, कृष्णकुमारले छाती खोलेर दिए स्पष्टीकरण
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्की माथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तीव्र तरंग उत्पन्न भएको छ।
सामाजिक सञ्जालमा सम्बन्ध, गर्भावस्था र बेवास्तासम्बन्धी दाबी गर्दै विभिन्न सामग्री सार्वजनिक भइरहेका छन्। यही बेला रास्वपाभित्रैबाट यस विषयमा अनुसन्धानको माग सुरु भएको छ। पार्टीकी सांसद आशिका तामाङले खुला रूपमा सत्यतथ्य छानबिन हुनुपर्ने धारणा सार्वजनिक गरेकी छिन्। जसले यो प्रकरणलाई थप राजनीतिक र नैतिक आयाम दिएको छ।
सांसद तामाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महिला, मातृत्व र न्यायको प्रश्नलाई पार्टीगत निष्ठाभन्दा माथि राख्नुपर्ने सन्देश दिएकी छिन्। उनले ‘महिला चाहे स्वदेशी होस् कि विदेशी, आखिर यो धर्तीकी आमा हुन’ भन्दै सुरु गरेको अभिव्यक्तिमा बाहिर आएका सबै कुरा सत्य नहुन सक्ने सम्भावना स्वीकार गरे पनि जसरी घटनाका दाबीहरू सार्वजनिक भइरहेका छन्, त्यसको गम्भीर अनुसन्धान अपरिहार्य रहेको उल्लेख गरेकी छिन्।
उनले मातृत्वजस्तो संवेदनशील विषय प्रमाणसहित छानबिन हुनुपर्नेमा जोड दिँदै पार्टीभन्दा ठूलो देश र देशभन्दा ठूलो संसार रहेको उल्लेख गरेकी छिन्। ‘यहाँ कसैलाई अन्याय हुनुहुँदैन, र यदि कसैले अन्याय गर्छ भने चाहे त्यो आफ्नै घरको सदस्य नै किन नहोस्, गलतलाई गलत भन्न छोड्नु हुँदैन,’ भन्ने उनको भनाइलाई रास्वपाभित्र उठेको नैतिक दबाबका रूपमा हेरिएको छ।
पछिल्लो समय एक नाइजेरियन युवतीले सांसद कार्कीसँग आफ्नो सम्बन्ध रहेको दाबी गर्दै आफू गर्भवती बनेपछि बेवास्ता गरिएको आरोप लगाएकी छिन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडिओ, तस्बिर र कथित प्रमाणहरूले यो प्रकरणलाई तीव्र बहसको विषय बनाएको छ। यद्यपि ती सामग्रीको आधिकारिक पुष्टि भइसकेको छैन। तर, आरोप सार्वजनिक भएसँगै राजनीतिक वृत्त, सामाजिक सञ्जाल र आम जनस्तरमा सांसद कार्कीको भूमिकाबारे प्रश्न उठ्न थालेका छन्।
यो पनि,
नाईजेरियन युवतीको पेटमा मोरङबाट निर्वाचित रास्वपाका सांसदको सन्तान, पुष्टि भएपछि कार्की सम्पर्कविहिन
यहीबीच सांसद कृष्णकुमार कार्कीले भने आरोपबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्। सञ्चारकर्मीहरूले प्रश्न गर्दा उनले बारम्बार ‘मलाई केही थाहा छैन’ भन्दै प्रतिक्रिया दिन अस्वीकार गर्ने प्रयास गरेका थिए। तर, पत्रकारहरूले निरन्तर प्रश्न गरेपछि उनले अप्रत्याशित शैलीमा आफ्नो टिसर्ट माथि उचाल्दै नांगो छाती देखाए।
त्यसपछि उनले पत्रकारलाई प्रतिप्रश्न गर्दै भने, ‘कहाँनेर मेरो ट्याटु छ ?’ उनले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीमा देखाइएको व्यक्तिसँग आफ्नो सम्बन्ध नरहेको संकेत गर्न खोजेको बुझिएको छ। जेनजी आन्दोलनका क्रममा मुखमा मास्क र कम्मरभन्दा माथिको भाग नाङ्गो भएको फोटो राख्दै सोही ब्यक्ति कृष्णकुमार कार्की भएको दावी गरिएको थियो। छाति र दायाँ पाखुरामा ट्याटु खोपीको उक्त फोटो आफनो नभएको पुष्टी गर्न उनले टिसर्ट खोलेर देखाएका हुन। तर, त्यो फोटो पछिल्लो समय सार्वजनिक भएका भिडियो र फोटोसँग कुनै लेनदेन नै नभएको कतिपयको तर्क छ।
आफनो छातिमा ट्याटु नभएको देखाएर एउटी विदेशी युवतीमाथि अन्याय गरेको विषय ओझेलमा पार्न खोजिएको भन्दै उनको फेरी आलोचना सुरु भएको छ। उनले छाति खोलेर देखाएपछि पनि पत्रकारहरूले थप प्रश्न गरेपछि उनले ‘प्रोसेस होला नि त, प्रमाण देखाइसके होइन ?’ भन्दै छानबिन प्रक्रियाबाट सत्य बाहिर आउने दाबी गरेका थिए।
जुन सञ्चारमाध्यमले भिडिओ सार्वजनिक गरेको हो, त्यसविरुद्ध कानुनी प्रक्रिया अघि बढाउनुहुन्छ कि ? भन्ने प्रश्नमा पनि कार्कीले स्पष्ट उत्तर दिएनन्। बरु उनले पुनः आफ्नो छाती देखाएको प्रसंग दोहोर्याउँदै ‘मैले छाती खोलेर देखाएको होइन ? देख्नुभयो त ट्याटु ? अनि ?’ भन्दै प्रतिप्रश्न गरे।

प्रकरणसँग सम्बन्धित अर्को प्रश्नमा उनले ‘यो सबै छानबिन हुन्छ, त्यसपछि भनौँला’ भन्दै अहिले विस्तृत प्रतिक्रिया दिन नचाहेको संकेत गरेका थिए। उनले आफू लामो समयदेखि नेपालमा नरहेको दाबी गर्दै विभिन्न आरोपलाई राजनीतिक रूपमा जोड्ने प्रयास भइरहेको संकेतसमेत गरे। ‘म २०६७ सालदेखि नेपालमा छैन। ७१ सालतिर चरी मरेको। म चरीको केटा हो त? यत्तिकै बोल्दिने? प्रमाण ल्याउनुप¥यो नि,’ भन्दै उनले आफूविरुद्ध आधारहीन आरोप लगाइएको आशय व्यक्त गरेका थिए।
संसदमा नाम टिपाएर पनि नबोलेको विषयमा प्रश्न गर्दा कार्कीले आफूले शून्य समयमा बोल्न हस्ताक्षर नगरेको दाबी गरेका छन्। ‘म संसदमै थिएँ। तर मैले शून्य समयमा बोल्न सिग्नेचर गरेको थिइनँ। सिग्नेचर नगरेको मान्छेको नाम आउँदैन। तर मेरो आयो। के भएको भनेर अहिले भर्खर कुरा गरेको छु,’ उनले भने।
यति प्रतिक्रिया दिएपछि सांसद कार्की मोटरसाइकल चढेर त्यहाँबाट हिँडेका थिए। तर, त्यसअघि उनले दिएको शैली, छाती देखाएर गरिएको प्रतिरक्षा र पार्टीभित्रैबाट उठेको अनुसन्धानको मागले यो प्रकरणलाई केवल व्यक्तिगत विवादको सीमामा नराखी राजनीतिक नैतिकता, सार्वजनिक आचरण र उत्तरदायित्वको बहसमा रूपान्तरण गरेको छ।
रास्वपाले अहिलेसम्म औपचारिक रूपमा विस्तृत धारणा सार्वजनिक गरिसकेको छैन। तर, आफ्नै दलकी सांसद आशिका तामाङले सार्वजनिक रूपमा अनुसन्धानको माग गरेपछि पार्टी नेतृत्वमाथि सत्यतथ्य स्पष्ट पार्ने दबाब थपिएको देखिन्छ। सामाजिक सञ्जालमा भाइरल बनेको यो प्रकरण अब केवल व्यक्तिगत आरोप–प्रत्यारोपमा सीमित नरही राष्ट्रिय राजनीतिक बहसको विषय बनेको छ।
लोकप्रिय
ताजा अपडेट
सप्तरीमा ‘कोल्ड केस’ बन्दै हत्या श्रृंखलाः साह दम्पतीका हत्यारा ७ वर्षदेखि अज्ञात, आधा दर्जन केस टुंगिनै बाँकी

