पूर्वराजा ज्ञानेन्द्रले लगातार भेट्न खोजेको भन्दै महन्थ ठाकुरद्वारा संसदमा ‘कालो ड्रेस’ प्रदर्शन

काठमाडौँ— लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूसँग पटक–पटक भेट्ने प्रयास गरेको दाबी गर्दै राष्ट्रिय सभामा कालो पोशाक लगाएर सांकेतिक विरोध प्रदर्शन गरेका छन्। मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा ठाकुरको उक्त व्यवहारले राजनीतिक वृत्तमै चर्चा र तरंग पैदा गरेको छ।

बैठकमा विशेष धारणा राख्ने क्रममा अध्यक्ष ठाकुरले आफ्नो पहिचान, सामाजिक अनुभव र राजनीतिक यात्राबारे चर्चा गर्दै आफूलाई विभिन्न तहको परिचयले चिनिने व्यक्तिका रूपमा प्रस्तुत गरे। उनले आफू मधेशी मात्र नभई नेपाली नागरिक पनि भएको उल्लेख गर्दै आफ्नो भित्री र बाहिरी पहिचान फरक–फरक कोणबाट बुझिन सक्ने बताए। त्यसै सन्दर्भमा उनले कालो पोशाक लगाएर संसद् प्रवेश गर्नुको कारण पनि खुलाएका थिए।

ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई पटक–पटक भेट्ने प्रयास गरेको उल्लेख गर्दै सोही प्रसंगलाई संकेत गर्न आफूले कालो ड्रेस रोजेको टिप्पणी गरे। उनले भने, ‘मेरो परिचय विभिन्न किसिमको छ, म मधेशी पनि हुँ, नेपाली भन्नुहुन्छ भने नेपाली पनि हुँ। मेरो सबै परिचय छ। मेरो भित्रको आइडेन्टिटी पनि छ, बाहिरको पनि छ। त्यही कारण केही गतिविधि मलाई थाहा हुँदो रहेछ। मैले यो ड्रेस आज किन लगाए भने, किनकि ज्ञानेन्द्र राजा हुनुहुन्छ, उहाँले धेरै पटक मसँग भेट्ने प्रयास गर्नुभएको थियो। आज यो लगाएर उहाँको याद आउँछ कि, भेट्नुहुन्छ कि भनेर कालो ड्रेस लगाएर आएको हुँ। हेरौं कहिले भेट्नुहुन्छ।’

उनको यो अभिव्यक्तिले संसद्भित्र क्षणभरमै ध्यान तानेको थियो। कालो पोशाकलाई उनले केवल पोशाक नभई राजनीतिक संकेतका रूपमा प्रस्तुत गरेका थिए, जसलाई कतिपयले पूर्वराजासँगको सम्बन्धबारे सांकेतिक टिप्पणीका रूपमा व्याख्या गरेका छन्।

त्यसै क्रममा उनले वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति असन्तुष्टि पनि व्यक्त गरे। ‘पराधीन सपनामा सुख छैन’ भन्ने उखान उद्धृत गर्दै उनले निर्भरता र पराधीनताले व्यक्ति वा समाजलाई सुख नदिने टिप्पणी गरे। उनले भने, ‘पराधीन जो हुन्छ, त सपनामा पनि सुख हुँदैन। त्यो जागृत अवस्थामा के कस्तो होला भन्ने अवस्था छैन। हामी यही समाजमा छौं, सपनामा पनि हामी पीडित छौं। तपाईंहरूलाई त्यसो नलाग्ला, तपाईंहरू पीडित हुनुहुन्न भने ठिकै छ।’

उनको अभिव्यक्तिलाई राजनीतिक असन्तुष्टि र वर्तमान व्यवस्थाप्रतिको संकेतका रूपमा पनि हेरिएको छ। संसद्भित्र कालो पोशाकसहितको उनको उपस्थितिले पूर्वराजा, वर्तमान राजनीति र व्यक्तिगत अनुभव मिसिएको अभिव्यक्ति एकैसाथ बाहिर ल्याएको देखिन्छ। यस घटनापछि राजनीतिक वृत्तमा ठाकुरको संकेतात्मक शैली र अभिव्यक्तिको अर्थबारे विभिन्न व्याख्या सुरु भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट