सप्तरीमा चुलेसी प्रहार गरी आफ्नै आमाको हत्या गर्न खोजेको आरोपमा छोरा पक्राउ
राजविराज— सप्तरीको तिरहुत गाउँपालिकामा आफ्नै आमामाथि धारिलो हतियार र काठको डण्डा प्रहार गरी हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पारिवारिक सम्बन्ध नै रक्तरञ्जित हिंसामा परिणत भएपछि घट्नामा संलग्न युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तिरहुत गाउँपालिका–३ नवनगर टोल निवासी ३८ वर्षीय राजेश यादवलाई ‘ज्यान मार्ने उद्योग’को कसूरमा पक्राउ गरिएको हो। प्रहरीले दिएको जानकारीअनुसार जेठ ३ गते राति करिब साढे ११ बजे यादवले आमामाथि चुलेसी र काठको डण्डाले निर्घात प्रहार गरेका थिए।
आक्रमणबाट गम्भीर घाइते भएकी महिलाको अवस्था चिन्ताजनक बनेपछि घटनाले गाउँ नै स्तब्ध बनेको छ। प्रहरीका अनुसार राजेशले आमालाई ज्यान मार्ने उद्देश्यसहित आक्रमण गरेको आरोप छ। उनी जेठ ४ गते पक्राउ परेका छन्।
अम्लेश कुमार यादवको जाहेरीका आधारमा राजेश विरुद्ध ‘ज्यान मार्ने उद्योग’ अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। घट्ना अनुशन्धानका लागि सप्तरी जिल्ला अदालत, राजविराजबाट चार दिनको म्याद थप गरिएको छ।

