सप्तरीमा ‘कोल्ड केस’ बन्दै हत्या श्रृंखलाः साह दम्पतीका हत्यारा ७ वर्षदेखि अज्ञात, आधा दर्जन केस टुंगिनै बाँकी

राजविराज— सप्तरीमा हत्या र शंकास्पद मृत्युका घटनाहरू लगातार बढिरहेका छन्। तर तीमध्ये अधिकांश घटनाको अनुसन्धान वर्षौंसम्म निष्कर्षमा नपुग्दा पीडित परिवारहरू गहिरो निराशा, असुरक्षा र आक्रोशमा बाँच्न बाध्य छन्।

हत्या हुने, प्रहरी सक्रिय देखिने, केही समय चर्चा चल्ने र त्यसपछि अनुसन्धान फाइलमै सीमित हुने प्रवृत्तिले जिल्लाको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। विशेषगरी खडक नगरपालिका–५ खरचुहियामा सात वर्षअघि जलाएर खरानी बनाईएका वृद्ध दम्पतीको हत्याकाण्ड अझै रहस्यमै रहनु सप्तरी प्रहरीको अनुसन्धान क्षमतामाथि सबैभन्दा ठूलो प्रश्न बनेको छ।

२०७५ साल फागुन १४ गते राति ७५ वर्षीय सबुरी साह र उनकी ६५ वर्षीया श्रीमती बेचनीदेवी साह आफ्नै घरमा सुतिरहेका बेला विभत्स रूपमा हत्या गरिएका थिए। उनीहरूलाई जिउँदै जलाइएको आशंका गरिएको थियो। बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। घटनास्थल पुग्दा दुवैको शरीर लगभग पूर्ण रूपमा जलेको अवस्थामा थियो। दुई चार वटा हाडखोर वाहेक सुतेकै ठाउँमा उनीहरुलाई खरानी बनाईएको थियो।

त्यसपछि इलाका प्रहरी कार्यालय कल्याणपुर, कडरबोना, जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो। प्रहरीको विशेष टोली महिनौंसम्म अनुशन्धानका लागि सोही क्षेत्रमा बस्यो। त्यतिबेला सप्तरीका एसपी रहेका राजेन्द्र विष्टले घटनालाई योजनाबद्ध हत्या भन्दै तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेर अनुसन्धान अगाडि बढाएका थिए।

तर, उनको सरुवा भएसँगै अनुशन्धानको गति सुस्तायो। अहिले सात वर्ष दुई महिना बितिसक्दा पनि प्रहरीले न त हत्याराको पहिचान गर्न सकेको छ, न त हत्या किन गरियो भन्ने कारण नै सार्वजनिक गर्न सकेको छ। साह दम्पतीको हत्या अहिले सप्तरीकै सबैभन्दा रहस्यमय ‘कोल्ड केस’ का रूपमा चर्चित बनेको छ।

यत्रिमात्रै होईन, पछिल्लो एक वर्षमा मात्रै सप्तरीका विभिन्न स्थानमा कम्तीमा ६ जनाभन्दा बढी व्यक्तिको हत्या तथा शंकास्पद मृत्यु भएका घटनाले जिल्लावासीलाई थप त्रसित बनाएको छ। तर, ती घटनामध्ये अधिकांशमा अनुसन्धान अधुरै छ र पीडित परिवारहरू न्यायको प्रतीक्षामा छन्।

तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाकी १२ वर्षीया काजलकुमारी राय अहिले एउटै प्रश्न सोधिरहेकी छिन— ‘मेरी आमालाई मार्नेहरूले सजाय कहिले पाउँछन् ?’ उनकी ३६ वर्षीया आमा अनितादेवी गत वैशाख २३ गते राति घरबाटै अपहरणमा परेकी थिइन्। घटना भएको रात काजल आफन्तको विवाहमा गएकी थिइन् भने उनका बुबा वीरेन्द्र राय कतारमा वैदेशिक रोजगारीमा थिए। घरमा एक्लै रहेकी अनितादेवी सात दिनपछि वैशाख ३० गते सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै कोशी नदीको सहायक भँगालोमा विभत्स अवस्थामा मृत फेला परिन्।

परिवारले घटनालाई योजनाबद्ध हत्या भनेको छ। उनीहरूले दोषीमाथि तत्काल कानुनी कारबाही र उचित क्षतिपूर्तिको माग गरिरहेका छन्। केही व्यक्तिलाई नियन्त्रणमा लिइए पनि अनुसन्धान कहाँ पुग्यो भन्नेबारे परिवारलाई स्पष्ट जानकारी समेत दिईएको छैन। मृतककी छोरी काजलको बाल मनोविज्ञानमा परेको असर अहिले गाउँकै पीडादायी चर्चा बनेको छ।

त्यस्तै, ०८२ भदौ २४ गते महदेवा गाउँपालिका–१ सोनराकी २१ वर्षीया दीपाकुमारी यादवको शंकास्पद मृत्यु भयो। डाक्नेश्वरी नगरपालिकामा माइती भएकी दीपाको दुई महिनाअघि मात्रै विवाह भएको थियो। माइती पक्षले घटनालाई हत्या भन्दै दोषीमाथि कारबाहीको माग गरिरहेको छ। परिवारका अनुसार पति दिपककुमार यादव र ससुरा परशुराम यादवले विवाहपछि निरन्तर थप दाइजो माग्दै मानसिक तनाव र गालीगलौज गर्दै आएका थिए।

मृतककी भाउजु सुजिताका अनुसार भदौ १३ गते दिपकले फोन गरेर अर्को विवाह गर्ने धम्की दिँदै दीपालाई लैजान भनेका थिए। त्यसपछि रातिसम्म पटक–पटक सम्पर्क गर्दा पनि फोन नउठेको उनले बताइन्। शनिबार बिरामी परेको भन्दै दिपक र उनका बुबाले दीपालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याए पनि अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको चिकित्सकले पुष्टि गरे।

माइती पक्षले दाइजोका कारण योजनाबद्ध हत्या गरिएको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिए। प्रहरीले पति दिपक र ससुरालाई नियन्त्रणमा लिएको थियो।

यसैगरी ०८२ कार्तिक २ गते बोदेबर्साइन नगरपालिका–८, काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारी ७३ वर्षीय रामदुलार साहको गोली हानी हत्या गरिएको थियो। प्रारम्भिक रूपमा जग्गा विवादसँग जोडिएको भनिए पनि घटनाका मुख्य आरोपीहरू अझै पक्राउ परेका छैनन्।

प्रहरीका अनुसार साह बिहान करिब २ बजे आफ्नो कुटीअगाडि सडकमा थिए, त्यही बेला पछाडिबाट दुई गोली प्रहार भएको हो। गोली नाभी नजिक ढाडतर्फ लागेपछि उनी घटनास्थलमै ढलेका थिए।

स्थानीयका अनुसार मन्दिरमा कुटी बनाएर एक्लै बस्दै आएका पुजारीलाई सडकमा निकालेर गोली हानेको देखिएको छ। घटनापछि स्थानीयले प्रहरी चौकीलाई खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट टोली पुगेर अनुसन्धान थालेको थियो। तर, यो घट्ना पनि अझैसम्म निस्कर्षमा पुग्न सकेको छैन।

यी त केही प्रतिनिधि घटना मात्रै हुन्। पछिल्लो एक वर्षमा बलान बिहुल गाउँपालिका, सुरुंगा नगरपालिका, महदेवा गाउँपालिका, बोदेबर्साइन नगरपालिका लगायतका क्षेत्रमा हत्या र शंकास्पद मृत्युका श्रृंखलाबद्ध घटना भइरहेका छन्। तर, अधिकांश घटनामा प्रारम्भिक सक्रियता देखिए पनि समय बित्दै जाँदा अनुसन्धान सुस्ताउने र फाइल थन्किने प्रवृत्ति देखिएको भन्दै पीडित परिवारहरूले प्रहरीमाथि गम्भीर आरोप लगाएका छन्।

दुई वर्षअघि छिन्नमस्ता गाउँपालिकामा भएको दुई जनाको हत्या, कञ्चनरूप नगरपालिका–बरमझियामा भएको एक जनाको हत्याकाण्ड पनि अझै निष्कर्षविहीन छन्। यसले सप्तरीमा अपराध अनुसन्धान प्रणालीमाथि आमविश्वास कमजोर बन्दै गएको देखिएको छ।

पीडित परिवारहरू अहिले एउटै पीडामा छन— आफ्ना मान्छे गुमाएको पीडा एकातिर छ भने हत्यारा खुलेआम समाजमै घुमिरहेको आशंकाले अर्को त्रास थपिएको छ। उनीहरूको प्रश्न छ— यदि सात वर्षसम्म पनि राज्यले जिउँदै जलाइएका वृद्ध दम्पतीका हत्यारा पत्ता लगाउन सक्दैन भने साधारण नागरिकले न्यायको आशा कसरी गर्ने ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट