चोरीको आरोपमा पक्राउ परेका थारु विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दाः चोरको बयानले प्रहरी नै स्तब्ध
काठमाडौँ– काठमाडौँ उपत्यकाका घरहरूलाई निशाना बनाएर वर्षौँदेखि चोरी गर्दै आएको आरोपमा पक्राउ परेका बाँकेका प्रेम थारू विरुद्ध प्रहरीले चोरीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत अघि बढाएको छ। चोरीलाई नै पेशा बनाएको स्वीकार गरेका थारूले अवैध आम्दानीबाट घर, जग्गा, महँगो गाडी र बैंक मौज्दात जोडेपछि प्रहरीले उनीमाथि संगठित आर्थिक अपराधको कोणबाट समेत अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान पूरा गरेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा पेश गरिसकेको छ। अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश समेत दिइसकेको छ।
आठ मिनेटमा डेढ करोड बराबरको गहना गायब
प्रेम थारूमाथि पछिल्लो पटक काठमाडौँको बौद्धस्थित पाँचतले घरबाट एक करोड २१ लाख ६ हजार ८ सय रुपैयाँ बराबरका सुनका गरगहना चोरी गरेको आरोप छ। घटना गत माघ २० गते दिउँसो भएको थियो।
प्रहरी अनुसन्धानअनुसार घरधनी खाना खान माथिल्लो तलामा गएको मौका छोपेर उनी चौथो तलामा प्रवेश गरेका थिए। सीसीटिभी फुटेजले उनी १२ बजेर ११ मिनेटमा घरभित्र छिरेको र जम्मा आठ मिनेटमै दराज फोडेर सबै गहना बोकेर बाहिरिएको देखाएको छ।
घटनापछि फरार रहेका उनलाई प्रहरीले नागार्जुनको रामकोट क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। पक्राउका क्रममा प्रहरीलाई गोली चलाउनुपरेको थियो। उनको दाहिने खुट्टामा गोली लागेको थियो। प्रहरीले चोरी गरिएका अधिकांश गहना समेत बरामद गरेको जनाएको छ।
‘मेरो पेशा नै चोरी हो’
अनुसन्धानका क्रममा प्रेम थारूले दिएको बयानले उनको आपराधिक जीवनशैलीको गहिरो चित्र सार्वजनिक गरेको छ। उनले आफूले लामो समयदेखि काठमाडौंका विभिन्न घरहरूमा मानिस नभएको मौका छोपेर चोरी गर्दै आएको स्वीकारेका छन्।
तर कहाँ–कहाँ चोरी गरेँ र कति रकम उठाएँ भन्नेबारे आफूलाई नै यकिन नभएको उनको भनाइ छ। प्रहरीसमक्ष उनले स्पष्ट रूपमा भनेका छन- ‘मेरो पारिवारिक आर्थिक अवस्था सामान्य हो। मेरो अन्य कुनै पेशा छैन। मेरो पेशा नै चोरी हो। मेरो नाममा रहेका घर, जग्गा, गाडी, बैंक ब्यालेन्स लगायत सम्पूर्ण सम्पत्ति चोरीबाटै आर्जन भएको हो।’
उनले चोरी गरिएका सुनचाँदीका गहना तथा अन्य सामग्री भारतीय सीमावर्ती बजारसम्म पु¥याएर बिक्री गर्ने गरेको समेत स्वीकारेका छन्।
चोरीकै पैसाबाट साढे तीन तले घर र हाइलक्स
प्रहरी अनुसन्धानअनुसार प्रेम थारूले चोरीबाट कमाएको रकमलाई वैध सम्पत्तिमा रूपान्तरण गरेका थिए। उनले बाँकेको कोहलपुर क्षेत्रमा करिब पाँचदेखि सात वर्षअघि ४० लाख रुपैयाँमा दुई कठ्ठा जग्गा खरिद गरेर साढे तीन तले पक्की घर निर्माण गरेको बयान दिएका छन्।
यस्तै उनले करिब साढे पाँच वर्षअघि ९८ लाख रुपैयाँमा टोयोटा हाइलक्स गाडी खरिद गरेको पनि स्वीकार गरेका छन्। पछि उक्त गाडी बुटवलका एक व्यक्तिलाई ५५ लाख रुपैयाँमा बिक्री गरेको बयान उनले दिएका छन्। यद्यपि गाडी अझै पनि उनकै नाममा रहेको प्रहरीले जनाएको छ।
बैंक खातामा करोडौँ कारोबार
प्रेम थारूको बैंक कारोबार विवरणले पनि उनको आर्थिक गतिविधिको अस्वाभाविक विस्तार देखाएको छ। प्रहरीका अनुसार एभरेष्ट बैंकको बानेश्वर शाखाबाट मात्रै उनले दुई करोड ६२ लाख २८ हजार २ सय ९९ रुपैयाँ बराबरको कारोबार गरेका थिए। उक्त खातामा हाल १६ लाख २४ हजार १ सय ९६ रुपैयाँ मौज्दात छ।
यस्तै नबिल बैंक र रेसुङ्गा डेभलपमेन्ट बैंकमा समेत रकम फेला परेको छ। उनको साथ तथा घरबाट प्रहरीले एक करोड ५९ लाख ४४ हजार ६९ रुपैयाँ बराबरका गहना बरामद गरेको जनाएको छ।
चोरी गर्न छुट्टै तयारी, परिचय पनि नक्कली
प्रेम थारू चोरीका लागि विशेष तयारी गरेर हिँड्ने गरेको खुलेको छ। प्रहरीका अनुसार उनीसँग सधैँ चाबी, रेञ्जी, पलास, पेचकस लगायतका औजार हुने गर्थे। चोरी गरिएका गहनाको तौल नाप्न उनले डिजिटल तराजुसमेत आफैं किनेका थिए।
काठमाडौँमा बस्दा उनले आफ्नो वास्तविक नामसमेत लुकाएका थिए। कहिले सुप्रिम विकास चौधरी त कहिले सौरभ चौधरीको नाम प्रयोग गरेर उनी विभिन्न ठाउँमा डेरा बस्ने गरेका थिए। प्रहरीका अनुसार उनले अर्कै व्यक्तिको नागरिकता समेत प्रयोग गर्दै आएका थिए।
आफ्नो घर हेर्न कर्मचारी
अरूका घर फोड्दै हिँड्ने प्रेम थारूले आफ्नै घरको रेखदेख गर्न भने मासिक १५ हजार रुपैयाँ तलब दिएर कर्मचारी राखेको बयान दिएका छन्। बाँकेको कोहलपुरस्थित घर हेर्न उनले छुट्टै मानिस राखेको खुलेपछि प्रहरीले उनको जीवनशैली र आर्थिक स्रोतबारे थप अनुसन्धान अघि बढाएको थियो।
सम्पूर्ण सम्पत्ति जफतको माग
प्रहरीले उनीविरुद्ध चोरीसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत मुद्दा दायर गर्दै घर, जग्गा, बैंक मौज्दात र गाडी जफत गर्न माग गरेको छ। साथै पीडितलाई क्षतिपूर्ति भराउन र कानुनअनुसार जरिवाना तथा सजाय गर्न माग गरिएको छ।
अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ। अब अन्तिम फैसला भएपछि मात्रै उनी दोषी वा निर्दोष भन्ने कानुनी निष्कर्ष आउनेछ।
लोकप्रिय
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन अवैध ‘कल बाईपास’ प्रकरणमा संलग्न भई पक्राउ परेर छुटेको खुलासा

