बाटो विवादमा अनितादेवीको हत्याः घट्नापछि फरार भएका ३० वर्षीय छिमेकी युवक पक्राउ
राजविराज — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५, बनरझुलाकी ३६ वर्षीया अनितादेवी राय हत्या प्रकरणमा प्रहरीले छिमेकी युवकलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा पुरानो बाटो विवाद, घटनाअघि भएको गतिविधि र पीडित परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले सोही गाउँका ३० वर्षीय बब्लु रायलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीका अनुसार मृतकका श्रीमान् वीरेन्द्र रायले दिएको जाहेरी र घटनासँग जोडिएका विभिन्न आधारलाई केन्द्रमा राखेर बब्लुलाई पक्राउ गरिएको हो। अदालतबाट सात दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अनितादेवी वैशाख २३ गते राति आफ्नै घरबाट रहस्यमय ढंगले बेपत्ता भएकी थिइन्। भोलिपल्ट बिहान घरमा उनी नभेटिएपछि खोजी सुरु गरिएको थियो। खोजीका क्रममा घरको आँगनमा रगतका छिटा देखिएपछि घटना सामान्य नभई गम्भीर आपराधिक प्रकृतिको हुन सक्ने आशंका बलियो बनेको थियो। त्यसपछि स्थानीय र प्रहरी संयुक्त रूपमा खोजीमा जुटेका थिए।
घटनाको एक सातापछि कोशी नदीको पश्चिमी किनारमा उनको शव फेला परेको थियो। शवको अवस्था अत्यन्त भयावह थियो। हातखुट्टा बाँधिएको, टाउको र खुट्टातिर करिब १० देखि १२ किलोसम्मका ढुंगा बाँधिएको अवस्थामा शव भेटिएपछि योजनाबद्ध हत्या भएको आशंका प्रहरीले गरेको छ। शव गलिसकेको अवस्थामा भेटिएकाले घटनाले गाउँ नै स्तब्ध बनेको थियो।
अनुसन्धानमा जोडिएको अर्को महत्वपूर्ण पक्ष भनेको मृतक परिवार र केही छिमेकीबीच लामो समयदेखि चलिरहेको बाटो विवाद हो। मृतकका श्रीमान् वीरेन्द्र रायका अनुसार घरसम्म पुग्ने बाटोलाई लिएर महिनौँदेखि तनाव चलिरहेको थियो। तीन महिनाअघि मात्रै वैदेशिक रोजगारीका लागि कतार गएका वीरेन्द्रले घटनाको रातिसम्म श्रीमतीसँग फोनमा कुराकानी भएको बताएका छन्।
उनका अनुसार राति करिब ११ बजेदेखि १२ बजेसम्म भएको कुराकानीमा अनितादेवीले बाटोको समस्याका कारण भइरहेको तनावबारे समेत बताएकी थिइन्। त्यसपछि बिहानदेखि पटक–पटक सम्पर्क गर्दा फोन नउठेपछि उनी चिन्तित बनेका थिए। केहीबेरपछि गाउँबाट आएको फोनमार्फत श्रीमती बेपत्ता भएको खबर पाएका उनले तत्काल नेपाल फर्किने तयारी गरेका थिए।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका बब्लु राय घटनापछि केही समय सम्पर्कविहीन भएका थिए। फरार रहेको अवस्थामै उनलाई गत सोमबार नियन्त्रणमा लिइएको हो। अनुसन्धानमा घटनास्थलको अवस्था, पारिवारिक र छिमेकको सम्बन्ध, मोबाइल सम्पर्क विवरण तथा स्थानीयको बयानहरूलाई समेत आधार बनाइएको बताइएको छ।
घटनाले मृतक परिवारलाई गहिरो पीडामा धकेलेको छ। आमाको हत्या भएपछि १२ वर्षीया काजलकुमारी रायको बाल्यजीवन नै बदलिएको छ। घटना भएको राति उनी गाउँकै एक बिहेमा जन्ती गएकी थिइन्। अहिले उनी आमाको तस्बिर हेर्दै न्यायको प्रतीक्षामा छिन्।
घरभित्र अझै आमाले प्रयोग गरेका सामान यथावत छन्। पुरानो चप्पल, कपाल कोर्ने काइँयो र सिरानीमुनि राखिएको रुमाल उनले हटाउन दिएकी छैनन्। ‘त्यो राति म जन्ती नगएको भए आमा एक्लै पर्नुहुन्नथ्यो,’ भन्दै उनले हत्यारामाथि कडा कारबाहीको माग गरेकी छन्।
यता वैदेशिक रोजगारी छोडेर नेपाल फर्किएका वीरेन्द्र रायले पनि घटनामा संलग्न जोसुकै भए पनि कानुनअनुसार हदैसम्मको सजाय हुनुपर्ने बताएका छन्। प्रहरीले घटनाको अनुसन्धान अझै जारी रहेको जनाएको छ। अनुसन्धान अधिकारीहरूका अनुसार पक्राउ परेका व्यक्तिमाथि मात्रै नभई घटनामा अन्य कसैको संलग्नता थियो कि भन्ने कोणबाट पनि अनुसन्धान भइरहेको छ।

