रोएको भिडिओपछि सम्पर्कविहीन शोभा पाठक किन लुकिन बनस्थलीमा, राज्यलाई दबाब हो कि घुर्की ?

काठमाडौँ– शनिबार राति सामाजिक सञ्जालमा ‘सायद अन्तिम यही भिडिओ हुनेछ’ भन्ने भावुक क्याप्सनसहित रोएको भिडिओ पोस्ट गरेपछि सम्पर्कविहीन बनेकीलाई प्रहरीले रातभर खोजेर आईतबार विहान फेला पार्यो। काठमाडौँको बनस्थली क्षेत्रबाट लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मोबाइल लोकेशन ट्रेस गर्दै गरिएको खोजीपछि उनी काठमाडौँ महानगरपालिका–१६, बनस्थलीस्थित बाबुछिरी मार्गको एक निजी घरमा लुकेको अवस्थामा भेटिएकी थिइन्। उनी आफ्नै घरमा नभई अरूको घरमा बसेको अवस्थामा फेला पर्नुले घटनालाई थप रहस्यमय बनाएको प्रहरीले जनाएको छ।

शोभा पाठक केही समयदेखि नेकपा एमाले सचिव महेश बस्नेतसँग जोडिएका विभिन्न आरोप–प्रत्यारोप र सार्वजनिक विवादका कारण लगातार चर्चामा रहँदै आएकी छिन्। कहिले प्रहरी कार्यालयमा उजुरी, कहिले अनसन, त कहिले सामाजिक सञ्जालमार्फत गम्भीर आरोप लगाउने शैलीले उनी पटक–पटक सार्वजनिक बहसको केन्द्रमा आउने गरेकी थिइन्।

तर शनिबार राति पोस्ट गरिएको अन्तिम भावनात्मक भिडिओपछि उनी एकाएक सम्पर्कविहीन भएपछि अवस्था गम्भीर बन्यो। प्रहरीले रातिदेखि नै उनको मोबाइल नम्बरको आधारमा लोकेशन ट्रेसिङ सुरु गरेको थियो। प्रारम्भिक खोजतलासमा उनी फेला नपरे पनि पछि मोबाइल अन भएको संकेतका आधारमा स्थान पहिचान गर्दै प्रहरी टोली त्यहाँ पुगेको थियो।

प्रहरीका अनुसार उनी भेटिएको स्थानमा ढोका थुनेर बस्ने र प्रहरीलाई भित्र प्रवेश गर्न नदिने प्रयाससमेत भएको थियो। ‘म प्रहरीलाई भेट्दिनँ, तपाईंहरू किन आउनुभएको,’ भन्दै उनले असहयोग गरेकी थिईन। पछि प्रहरीले बल प्रयोग गरेर उनलाई नियन्त्रणमा लिएको हो। त्यसपछि स्वास्थ्य परीक्षणका लागि मनमोहन अस्पताल पठाईएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले वताए।

भट्टराईका अनुसार हाल उनलाई चिकित्सकहरूको निगरानीमा राखिएको छ र मानसिक अवस्था तथा मनोवैज्ञानिक परामर्शलाई प्राथमिकतामा राखिएको छ। प्रारम्भिक रूपमा आत्महत्याको आशय देखिए पनि ठोस निष्कर्ष निकाल्ने अवस्था नभएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ, विशेषगरी उनी किन उक्त घरमा पुगेकी थिइन्, कसको सम्पर्कमा थिइन् र भिडिओ पोस्टपछि किन सबै डिभाइस बन्द गरिन् भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको छ।

शनिबार रातिको भिडिओदेखि आइतबार बिहानसम्मको घटनाक्रमले सामाजिक सञ्जालमा संवेदनशील विषयहरूको प्रयोग, मानसिक स्वास्थ्य, र सार्वजनिक आरोप–प्रत्यारोपको सीमाबारे पनि गम्भीर प्रश्न उठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट