प्रहरीको जागिर छाडेर दुई दशक लामो अपराध श्रृंखला चलाएका कार्की अन्ततः प्रहरीकै गोलीको सिकार

काठमाडौँ– शनिवार राति प्रहरीले जडीबुटी क्षेत्रमा गोली प्रहार गरेर ४० वर्षीय गणेश कार्कीलाई पक्राउ गर्यो। कार्की कार्की सामान्य अपराधी होइनन—प्रहरी सेवामा प्रवेश गरेर बाहिरिएका, त्यसपछि अदालत, कारागार र उपत्यकाका सडकसम्म फैलिएको लामो आपराधिक यात्रामा जोडिएका व्यक्ति भएको खुलेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेश अधिकारीका अनुसार बूढानीलकण्ठ नगरपालिका–३ चपली भद्रकालीका कार्की २०६१ सालमा नेपाल प्रहरीमा जवान पदमा भर्ना भएका थिए। तर तीन वर्षमै, २०६४ सालमा उनले प्रहरी सेवा छाडे।

सेवा छोडेपछि उनका नाममा लगातार फौजदारी मुद्दाहरू दर्ता हुन थालेको प्रहरी अभिलेखले देखाउँछ। प्रहरीका अनुसार २०६४ मंसिर ९ गते बौद्ध प्रहरी वृत्तमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको थियो। त्यसको केही समयपछि २०६४ पुस ८ गते बालाजु वृत्तमा हातहतियार तथा खरखजाना सम्बन्धी अर्को मुद्दा दर्ता भयो।

त्यसपछि उनको आपराधिक संलग्नता थप गम्भीर दिशातर्फ मोडिएको देखिन्छ। २०६८ वैशाख २ गते कर्तव्य ज्यान मुद्दामा संलग्न भई दोषी ठहर भएपछि उनले २०६८ असार २० गतेदेखि २०७८ असोज ३ गतेसम्म करिब १० वर्ष जेल जीवन बिताए।

कैद सजाय भुक्तान गरेर निस्किए पनि उनी फेरि सामान्य जीवनमा फर्किएनन्। प्रहरी अभिलेखअनुसार २०७८ फागुन ३ गते ललितपुरमा चोरी मुद्दा दर्ता भयो। त्यसै वर्ष २०७८ फागुन २६ गते गौशाला प्रहरी वृत्तमा डाँकाचोरी सम्बन्धी अर्को मुद्दा दर्ता भएको देखिन्छ।

त्यसपछि २०७९ सालमा डाँका चोरी मुद्दामा दोषी ठहर भई उनलाई ६ वर्ष कैद सजाय सुनाइयो र केन्द्रीय कारागार चलान गरिएको थियो। तर यही कारागार जीवन नै उनको पछिल्लो आपराधिक श्रृंखलाको मोड बन्न पुग्यो।

प्रहरीका अनुसार २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनको परिस्थितिको फाइदा उठाउँदै उनी केन्द्रीय कारागारबाट फरार भएका थिए। फरार भएपछि उनी पुनः उपत्यकामा सक्रिय बनेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

फरार अवस्थामै उनले विभिन्न स्थानमा आपराधिक गतिविधि गरेको आरोप प्रहरीले लगाएको छ। २०८२ असोज ७ गते गौशालामा एक बिजुली पसलमा चोरी तथा लुटपाट, २०८२ माघ ११ गते पिङ्गलास्थानमा विदेश जान लागेको व्यक्तिबाट ५ हजार रुपैयाँ र मोबाइल फोन लुटपाट, र २०८२ चैत महिनामा शान्तिनगरमा मोबाइल चोरीको घटना उनकै संलग्नतामा भएको प्रहरी दाबी छ।

त्यस्तै, २०८२ फागुनमा तिलगंगामा आफूलाई प्रहरी भएको बताउँदै लागूऔषध प्रयोगकर्ता र सर्वसाधारणबाट नगद १ हजार ५ सय रुपैयाँ र मोबाइल लुटेको आरोप पनि उनीमाथि छ। पशुपति क्षेत्र, जोरपाटी र एयरपोर्ट आसपासका क्षेत्रमा समेत उनले प्रहरीको परिचय प्रयोग गरेर लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रहरीका अनुसार २०८२ साउनदेखि चैतसम्मको अवधिमा उनी उपत्यकामा निरन्तर सक्रिय रहेका थिए। सोही क्रममा सुन्दरीजल क्षेत्रबाट एक स्कुटर चोरी गरी कलंकी क्षेत्रमा छाडिएको घटनामा समेत उनको संलग्नता देखिएको छ।

लामो समयदेखि खोजीमा रहेका कार्कीलाई प्रहरीले गएराति काठमाडौंको जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकबाट नियन्त्रणमा लिन खोज्दा प्रतिकार भएको जनाएको छ। सो क्रममा प्रहरीको गोली लागेर उनको बायाँ खुट्टामा चोट लागेको छ। उनलाई तत्कालै ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ।

प्रहरीका अनुसार उनी पूर्व प्रहरी जवानदेखि कारागार सजाय भोगेर फरार हुँदै पुनः संगठित रूपमा उपत्यकाभरि लुटपाट र चोरीमा संलग्न भएको देखिन्छ। उनका गतिविधि, सम्पर्क र सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट