महोत्तरीमा मध्यराति डाकाको हमलाः प्रतिवाद गर्दा छोरीज्वाईँमाथि गोली प्रहार
महोत्तरी– महोत्तरीको सोनमा गाउँपालिकामा मध्यराति घरमा प्रवेश गरेको डाका समूहले गोली चलाएर लुटपाट गर्दा एक दम्पती घाइते भएका छन्। सात–आठ जनाको समूहमा आएको डाका समुहको प्रतिकार गर्दा अन्धाधुन्ध गोली चलेको थियो।
घटना सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा मंगलबार राति करिब पौने २ बजे भएको हो। डाका समूहले रामविश्वास आदबको घरमा प्रवेश गरी धनमाल लुट्ने क्रममा गोली प्रहार गर्दा उनका ज्वाइँ ३० वर्षीय ईश्वरनारायण यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार लुटपाटको प्रतिवाद गर्ने क्रममा दुवैमाथि गोली प्रहार गरिएको थियो। गोली लागेर घाइते भएका किरणको घुँडामा चोट लागेको छ भने ईश्वरनारायणको काँध र छातीको बीचको भागमा गोली लागेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ र चिकित्सकको निगरानीमा उपचार जारी छ।
स्थानीयवासी निदाइरहेका बेला घरमा प्रवेश गरेको डाका समूहले नगद, गरगहना तथा अन्य बहुमूल्य सामग्री लुटेर लगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि लुटिएको धनमालको यकिन विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि डाका समूह फरार भएको छ। प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजीका लागि विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको छ। घटनास्थलबाट प्राप्त प्रमाण, स्थानीयको बयान तथा सम्भावित भाग्ने मार्गको आधारमा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले घटनाबारे बिहान मात्रै जानकारी पाएपछि टोली घटनास्थल पुगेको थियो। त्यसपछि घटनास्थलको निरीक्षण, प्रमाण संकलन तथा घाइतेसँगको प्रारम्भिक बयानका आधारमा अनुसन्धान तीव्र पारिएको छ।
