आठ वर्षीय छोराकै सामुन्ने आमामाथि खुकुरी प्रहार, श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
भक्तपुर– भक्तपुरको छालिङमा घरायसी विवादले दुःखद रूप लिँदा एक महिलाको ज्यान गएको छ भने उनका नाबालक छोरा घाइते भएका छन्। श्रीमानले खुकुरी प्रहार गर्दा ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको मृत्यु भएको हो।
घटना भक्तपुर नगरपालिका–१० छालिङस्थित एक भाडाको घरमा बुधबार राति भएको हो। प्रहरीका अनुसार शङ्करापुर नगरपालिका–६ नाङ्लेभारे स्थायी घर भएका ३८ वर्षीय विदुर विश्वकर्माले घरायसी विवादका क्रममा आफ्नी श्रीमती सलिनामाथि खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी सलिनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाका क्रममा बचाउ गर्ने प्रयास गरेका उनका ८ वर्षीय छोरा त्रिशल विश्वकर्मा पनि घाइते भएका छन्। उनको उपचार भइरहेको बताइएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले घटनाको पुष्टि गर्दै घरायसी विवादका क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए। उनका अनुसार घटनालगत्तै अभियुक्त विदुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनामा प्रयोग भएको खुकुरी बरामद गरेको छ भने घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ। हत्या किन र कसरी भयो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
स्थानीयवासीका अनुसार विश्वकर्मा दम्पती छालिङमा भाडामा बस्दै आएका थिए। सामान्य घरायसी विवादले एकाएक हिंसात्मक रूप लिँदा परिवार नै विखण्डित बनेको छ। श्रीमतीको ज्यान गएको र छोरा घाइते बनेको घटनाले स्थानीय समुदायलाई समेत स्तब्ध बनाएको छ।
