कैदीलाई कारागारबाट निकालेर युवतीसँग बस्न होटल पुर्‍याउने प्रहरीको कर्तुत सार्वजनिक

काठमाडौँ– कारागारभित्र चौबिसै घण्टा सुरक्षाकर्मीको निगरानीमा रहने एक कैदीलाई उपचारका नाममा बाहिर निकालेर गेष्टहाउसमा पुर्‍याइएको, त्यहाँ मासु–बियर सेवन गर्न दिइएको र एक युवतीसँग घण्टौँ समय बिताउन अनुमति दिइएको तथ्य सार्वजनिक भएपछि कारागार सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।

घटनाका पात्र हुन– केन्द्रीय कारागार सुन्धारामा कैद सजाय भोगिरहेका ठगी मुद्दाका कैदी अनुप भण्डारी। जेठ १ गते उपचारका लागि अस्पताल लैजाने आधिकारिक प्रक्रिया अपनाइए पनि उनी अस्पतालभन्दा गेष्टहाउसमा पुगेको र त्यहाँ करिब तीन घण्टा बिताएको तथ्य प्रहरीकै आन्तरिक छानबिनबाट खुलेको हो।

प्राप्त विवरणअनुसार भण्डारीको ढाडसम्बन्धी स्वास्थ्य समस्या देखाउँदै कारागार प्रशासनले उपचारका लागि सामाखुसीस्थित अस्पताल लैजान अनुमति दिएको थियो। त्यसका लागि नेपाल प्रहरी अनाश्रित गुल्म जगन्नाथदेवलबाट प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विक खटिएका थिए।

तर अस्पताल पुगेपछि उपचार प्रक्रिया अघि बढाउनुको सट्टा भण्डारीलाई सामाखुसीस्थित दीप सागर गेष्टहाउस लगिएको पाइएको छ। छानबिनमा संलग्न स्रोतहरूका अनुसार गेष्टहाउसको कोठामा उनले मासु र बियर सेवन गरेका थिए भने एक ३२ वर्षीया युवतीसँग पनि लामो समय बिताएका थिए।

अनुसन्धानका क्रममा कैदीको हतकडीसमेत खोलिएको तथ्य फेला प¥यो। प्रहरी कर्मचारीहरू बर्दी र हतियारसहित साथमै रहे पनि कैदीलाई स्वतन्त्र रूपमा गेष्टहाउसमा बस्न दिइएको प्रतिवेदनमा उल्लेख छ।

यस विषयमा गठन गरिएको आन्तरिक छानबिन समितिले कैदी स्वयंको बयानसमेत संकलन गरेको थियो। बयानका क्रममा भण्डारीले अस्पतालमा चिकित्सक आउन ढिलो हुने जानकारी पाएपछि आफूलाई गेष्टहाउस लगिएको र त्यहाँ मादक पदार्थ सेवन गर्न तथा महिलासँग बस्न दिइएको स्वीकार गरेका छन्।

गेष्टहाउस व्यवस्थापन पक्षले पनि भण्डारी उक्त दिन आफ्नो संस्थामा बसेको पुष्टि गरेको बताइएको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूले दिउँसो करिब पौने दुई बजेदेखि साँझसम्म उनी गेष्टहाउसको कोठामा रहेको निष्कर्ष निकालेका छन्।

घटना बाहिरिएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी उपरीक्षक नरहरि रेग्मीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले प्रतिवेदन बुझाउँदै सुरक्षाको अत्यन्त संवेदनशील जिम्मेवारीमा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा प्रहरी सहायक हवल्दार कुँवर र प्रहरी जवान विकले प्रहरी आचरणविपरीत गैरजिम्मेवार, अनुशासनहीन र संगठनको प्रतिष्ठामाथि असर पर्ने कार्य गरेको उल्लेख गर्दै उनीहरूलाई बर्खास्त गर्नेसम्मको सिफारिस गरिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीले प्रतिवेदन प्राप्त भएको पुष्टि गर्दै अध्ययन भइरहेको र दोषी देखिए विभागीय कारबाही हुने बताएका छन्। यो घटनाले कारागार सुरक्षाको विश्वसनीयतामाथि थप प्रश्न उठाएको छ। किनकि यही कारागारसँग सम्बन्धित अन्य विवादहरू पनि सार्वजनिक भएका छन्। केही समयअघि जन्मकैद सजाय भोगिरहेकी एक कैदी फरार भएकी थिइन् भने महिला बन्दीगृहमा झडपको घटना पनि भएको थियो।

एक महिनाभित्रै कारागार सुरक्षा व्यवस्थासँग जोडिएका लगातारका घटनाहरू सार्वजनिक भइरहेका बेला उपचारका लागि लगिएको कैदी गेष्टहाउसमा पुगेर युवतीसँग समय बिताएको प्रकरणले सुरक्षा संयन्त्रभित्रको अनुशासन, निगरानी र उत्तरदायित्वमाथि नयाँ प्रश्न खडा गरेको छ। अहिले चासोको विषय केवल एक कैदीले गेष्टहाउसमा समय बिताएको मात्र होइन, प्रहरीकै संरक्षणमा यस्तो अवस्था कसरी सम्भव भयो भन्ने हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट