फलामको रड प्रहार गरी श्रीमतीको हत्या आरोपमा टिकटकर तथा रेसलर ‘नेपाली ब्रो’ पक्राउ

काठमाडौं — सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित तथा पूर्व रेसलर समेत कुमार थापा आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। घरायसी विवादका क्रममा फलामको रड प्रहारबाट घाईते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको थियो।

प्रहरीका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा शुक्रवार राति करिब सवा १० बजे घरेलु विवाद चर्किँदा ४२ वर्षीय कुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए। गम्भीर रूपमा घाइते भएकी भुजेललाई तत्काल उद्धार गरी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो।

तर चिकित्सकको प्रयासका बाबजुद राति करिब साढे ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई प्रहरी वृत्त बालाजुमा राखी थप अनुसन्धान अघि बढाइएको छ।

स्थानीय स्रोत र प्रारम्भिक प्रहरी अनुसन्धान अनुसार घटनाको कारण घरायसी विवाद रहेको खुलेको छ। तर विवादको वास्तविक कारण, घटनाको विस्तृत परिस्थिति तथा सम्भावित अन्य पक्षबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

कुमार थापा वास्तविक जीवनमा पूर्व रेस्लर खेलाडी हुन। पछिल्लो समय उनी टिकटक लगायत सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ उपनामले परिचित थिए, जहाँ उनले विभिन्न भिडियोमार्फत लोकप्रियता कमाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट