रोमा हत्या प्रकरणमा सनसनीपूर्ण खुलासाः झाडीमा २ पटक यौन सम्बन्ध राखेको मूल्यमा विवाद, घाँटी थिचेर हत्या
दमक– झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी (रोमा) हत्या प्रकरणमा प्रहरीले सनसनीपूर्ण अनुसन्धान निष्कर्ष सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न रहेको आरोपमा भारतको अररिया घर भई हाल दमकमा बसोबास गर्दै आएका ३४ वर्षीय रमेशकुमार पण्डितलाई पक्राउ गरेको जानकारी दिएको हो।
उनीमाथि जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पण्डित र तिवारीबीच यसअघि नै चिनजान रहेको थियो। १३ जेठको राति उनीहरू दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकको झाडी क्षेत्रमा भेटिएका थिए। अनुसन्धानका क्रममा पण्डितले त्यहाँ दुई पटक यौन सम्पर्क गरेको र त्यसबापत रकम दिएको बयान दिएका छन्।
तर यौन सम्पर्कपछि रकमको विषयलाई लिएर दुवैबीच विवाद सुरु भएको प्रहरीको भनाइ छ। विवाद चर्किंदै जाँदा पण्डितले तिवारीको घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको झापा प्रहरी प्रमुख वसुन्धरा खड्काले जानकारी दिइन्।
प्रहरीका अनुसार घटना राति करिब ११ बजे आसपास भएको थियो। घटनास्थल र आरोपी बस्ने कोठा नजिकै रहेका कारण हत्या गरेपछि पण्डित कोठामा पुगेका थिए। त्यहाँबाट बोरा ल्याएर शव प्याक गरेका थिए। त्यसपछि भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी शवलाई दमक नगरपालिका–१० अन्तर्गत सेतुमारी क्षेत्रको रतुवा खोलाको पुलमुनि लगेर फालेको अनुसन्धानबाट खुलेको छ। मृतकको चप्पल भने घटनास्थल नजिकै फेला परेको थियो।
घटना लुकाउने प्रयासस्वरूप शवलाई अन्यत्र सारिएको भए पनि अनुसन्धानका क्रममा प्रहरीले घटनाको कडी जोड्दै गयो। १३ जेठमा शव फालिएको थियो भने १६ जेठमा रतुवा खोलाको पुलमुनि बोराभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान थालेको थियो।
मोबाइल फोनको विवरण, प्राविधिक विश्लेषण, घटनास्थल अध्ययन, सीसीटीभी फुटेज तथा विभिन्न सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सुरुमा मृतकका आफन्तले प्रेमीले बोलाएपछि १३ जेठको राति भेट्न भन्दै रोमा घरबाट निस्किएको बताएका थिए। त्यसैले प्रारम्भिक चरणमा प्रहरीले प्रेमीमाथि पनि शंका गरेको थियो। तर उनको संलग्नताको आधार नदेखिएपछि अनुसन्धानको दायरा फराकिलो बनाइयो र अन्ततः अनुसन्धान पण्डितसम्म पुग्यो।
सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा प्रहरीले पण्डितलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोधपुछ तथा संकलित प्रमाणका आधारमा उनी घटनामा संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको हो। घटनामा प्रयोग भएको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।
प्रहरी स्रोतका अनुसार हत्या र शव व्यवस्थापन गरेपछि पण्डित रातभर निदाउन सकेका थिएनन्। १४ जेठ बिहान उनी दमकस्थित पशुपति मन्दिर पुगेका थिए। त्यहाँ पुगेर आफूबाट गल्ती भएको भन्दै प्रायश्चितस्वरूप पूजा गरेको प्रहरी स्रोतको दाबी छ। प्रहरी स्रोतका अनुसार रातिको घटनापछि बदनाम हुने डर र मानसिक दबाबका कारण उनले यस्तो गरेको देखिन्छ।
घटनाको अनुसन्धान हरिबहादुर बस्नेत नेतृत्वको इलाका प्रहरी कार्यालय दमकको टोलीले गरेको थियो। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।
रोमा तिवारी हत्या प्रकरणले झापा मात्र होइन, देशभर नै चासो र चर्चा पाएको थियो। शव फेला परेदेखि विभिन्न अड्कलबाजी र आशंकाहरू सार्वजनिक भइरहेका बेला प्रहरीले रकमको विवादबाट सुरु भएको झगडा अन्ततः हत्या घटनामा परिणत भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको हो। यद्यपि घटनासम्बन्धी अन्तिम सत्यतथ्य र दोष–निर्दोषको अन्तिम टुंगो भने अदालतको न्यायिक प्रक्रियाबाट लाग्नेछ।
