हत्या अभियोगका थुनुवा होटलमा भोज गर्दै टिकटकमाः बन्दी हो कि प्रहरीको ‘भिआइपी’ पाहुना ?

रौतहट– हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका एक वन्दी वीरगञ्जको होटलमा आरामसँग बसेर खाना खाइरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्चा र चासोको विषय बनेको छ। जेलभित्र हुनुपर्ने व्यक्ति होटलको टेबलमा देखिएपछि अहिले प्रश्न केवल एक व्यक्तिको गतिविधिबारे मात्र होइन, कारागार व्यवस्थाभित्रको सम्भावित पहुँच, विशेष सुविधा र प्रशासनिक लापरवाहीबारे पनि उठ्न थालेको छ।

गौर कारागारमा थुनामा रहेका शेख नुरुल्लाह साहिदको टिकटक भिडियो सार्वजनिक भएपछि यो विषय चर्चामा आएको हो। भिडियोमा उनी वीरगञ्जस्थित एक होटलमा आरामपूर्वक खाना खाइरहेका देखिन्छन्। झन् चासोको विषय त के छ भने, उनको वरिपरि सुरक्षाकर्मीसमेत देखिन्छन्, जसले घटनालाई अझ संवेदनशील बनाएको छ।

‘वेट एण्ड सि, पर्ख र हेर’ लेखिएको उक्त टिकटक भिडियो जेठ १९ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको बताइएको छ। सोही दिन पेट दुखेको बहाना बनाएर उपचारका लागि गौर कारागारबाट वीरगञ्ज लगिएका नुरुल्लाह अस्पतालको शय्यामा नभई होटलको टेबलमा देखिएपछि अनेक प्रश्न जन्मिएका छन्।

सामान्यतया उपचारका लागि जेलबाट बाहिर लगिएका कैदीलाई अस्पतालको निगरानीमा राखिनुपर्ने हुन्छ। तर यहाँ भने उपचारको नाममा बाहिरिएका एक थुनुवा होटलमा बसेर खाना खाइरहेको दृश्य सार्वजनिक भएको छ। यसले कारागार प्रशासनले कैदीमाथि कति प्रभावकारी निगरानी राखिरहेको छ भन्ने विषयलाई बहसको केन्द्रमा ल्याएको छ।

घटनालाई थप विवादास्पद बनाउने अर्को दाबी पनि बाहिरिएको छ। स्रोतहरूका अनुसार नुरुल्लाहलाई गौर कारागारबाट वीरगञ्ज लैजान देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहले प्रयोग गर्ने सरकारी गाडी प्रयोग गरिएको थियो। यदि यो तथ्य पुष्टि भयो भने उपचारका लागि लगिने थुनुवाको यातायात व्यवस्थापनमा सरकारी स्रोतसाधन कसरी प्रयोग गरियो भन्ने अर्को गम्भीर प्रश्न उठ्नेछ।

कारागार प्रशासनभित्रकै केही कर्मचारीहरूले समेत सरकारी गाडी प्रयोग गरिएको विषय नियमविपरीत हुन सक्ने स्वीकार गरेको स्रोतको दाबी छ। यद्यपि यसबारे आधिकारिक छानबिन भने सुरु भएको जानकारी सार्वजनिक भएको छैन।

उपचारका लागि लगिएका थुनुवा होटलमा बसेर खाना खाइरहेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहँदा गौर कारागार प्रशासन भने रक्षात्मक देखिएको छ। कारागारका जेलर प्रदीप पौडेलले उपचारका लागि दुई जना कैदीलाई वीरगञ्ज पठाइएको स्वीकार गरेका छन्। तर टिकटक भिडियो बनाइएको वा होटलमा बसेको विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

घटनामा संलग्न भनिएका नुरुल्लाहको विगत पनि विवादरहित छैन। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट देवाही गोनाही–१ का वडा अध्यक्ष निर्वाचित भएका व्यक्ति हुन्। तर राजनीतिक यात्रासँगै उनी विभिन्न आपराधिक घटनाका कारण पनि चर्चामा रहँदै आएका छन्।

शेख तैयब हत्या प्रकरणअघि उनी सोही क्षेत्रको मन्दिरका पुजारी श्रीराम साहको हत्या अभियोगमा समेत पक्राउ परेका थिए। हाल भने २०८० जेठ ११ गते भएको शेख तैयब हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। देवाही गोनाही नगरपालिका–१ करुनियाका ७८ वर्षीय शेख तैयबको गोली हानी हत्या गरिएको घटनामा उनीमाथि संलग्नताको अभियोग लागेको छ।

यस्तो गम्भीर अभियोगमा थुनामा रहेका व्यक्ति उपचारका नाममा जेलबाट बाहिरिएर होटलमा समय बिताइरहेको दृश्य सार्वजनिक भएपछि न्याय प्रणालीको निष्पक्षता र कारागार व्यवस्थापनको विश्वसनीयतामाथि नै प्रश्न उठ्न थालेको छ।

सबैभन्दा ठूलो प्रश्न भनेको, उपचारका लागि अस्पताल लगिएका थुनुवा होटलमा कसरी पुगे ? सुरक्षाकर्मीको उपस्थितिमै टिकटक बनाउने सुविधा कसरी पाए ? र यदि सरकारी गाडी प्रयोग गरिएको हो भने त्यसको जिम्मेवारी कसले लिने ?

कारागारभित्र रहेका सबै थुनुवा कानुनको समान व्यवहारमा छन् कि केही व्यक्तिले पहुँच र प्रभावका आधारमा विशेष सुविधा पाइरहेका छन् भन्ने प्रश्नको उत्तर अब सम्बन्धित निकायले दिनुपर्ने अवस्था सिर्जना भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट