३ सयको लाइन मिचेर मुक्तिनाथ मन्दिर छिरेपछि रास्वपा सांसद विदुषी राणालाई ‘कुरिकुरी’ !

राजविराज– देशमा सुशासन, विधिको शासन र नयाँ राजनीतिक संस्कृतिको नारा दिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद तथा गोल्डस्टार जुत्ता उत्पादक कम्पनीकी सञ्चालक विदुषी राणा मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाँदा सयौँ भक्तजनको लाइन मिचेर सिधै मन्दिरभित्र प्रवेश गरेको आरोप लागेपछि सामाजिक सञ्जालमा तीव्र आलोचनाको केन्द्र बनेकी छन्।

घटनाबारे सार्वजनिक रूपमा लेखिएका अनुभव र टिप्पणीहरूले अहिले केवल एउटा मन्दिरको लाइनको विषय मात्र नभई राजनीतिक नेतृत्वको आचरण, सार्वजनिक नैतिकता र ‘नयाँ राजनीति’ को दाबीमाथि समेत प्रश्न उठाइदिएको छ। मुक्तिनाथ मन्दिर परिसरमा भएको भनिएको एउटा घटनाले सामाजिक सञ्जालमा नयाँ बहस जन्माएको छ।

यो विषयलाई लेखक तथा सामाजिक सञ्जाल प्रयोगकर्ता यादव देवकोटाले सार्वजनिक रूपमा उठाएका हुन्। उनले आफ्नो फेसबूक स्टाटसमा मुक्तिनाथ मन्दिरमा दर्शनका लागि पुगेका बेला आफूले प्रत्यक्ष देखेको दाबी गर्दै सांसद राणाले झण्डै तीन सय जनाको लाइन छलेर सिधै मन्दिरको प्रवेशद्वारमा पुगेको उल्लेख गरेका छन्।

देवकोटाका अनुसार त्यसबेला मन्दिर परिसरमा लामो लाइन थियो। सर्वसाधारण भक्तजनहरू आफ्नो पालो पर्खिरहेका थिए। तर राणा भने केही सहयोगीसहित सिधै अगाडि बढेर मन्दिरभित्र प्रवेश गरेकी थिइन्। उनले लेखेका छन्, ‘देशमा थिति र नीति बदल्ने कुरा गर्ने पार्टीकी सांसदले मन्दिरमै लाइन मिचेको देखेपछि मैले सुनिने गरी टिप्पणी गरेको थिएँ। नयाँ राजनीतिक संस्कृतिको कुरा गर्नेहरू नै नियम पालना गर्न तयार छैनन् भने अरूबाट के अपेक्षा गर्ने ?’

देवकोटाले आफू धार्मिक आस्थाको दृष्टिले मन्दिर जाने व्यक्ति नभए पनि साथीहरूको आग्रहमा मन्दिर परिसर पुगेको उल्लेख गरेका छन्। तर सार्वजनिक स्थलमा नियम मिचिएको दृश्य देखेपछि आफू मौन बस्न नसकेको उनको भनाइ छ। उनको स्टाटसमा उल्लेख भएअनुसार टिप्पणी सुनेपछि सांसद राणाले तत्काल आफ्नो अनुहार सलले छोपेकी थिइन् र छोटो समयमै पूजा गरेर बाहिरिएकी थिइन्।

घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएका छन्। कतिपयले सांसदको व्यवहारलाई सार्वजनिक पदको मर्यादाविपरीत भएको भन्दै आलोचना गरेका छन्। यसैबीच चर्चित साहित्यकार तथा लेखक नारायण वाग्लेले पनि यस प्रसंगलाई संकेत गर्दै आफ्नो सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘यो देशमा सकेसम्म र पाएसम्म सर्टकटमा अघि बढ्न चाहने को छैन र ? तर मलाई अस्पताल र मन्दिरमा लाइन मिच्नेहरू सबैभन्दा लफङ्गा लाग्छन्।’

घटनापछि सामाजिक सञ्जालमा अर्को प्रश्न पनि उठ्न थालेको छ—सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूले सामान्य नागरिकले पालना गर्ने नियम आफूले पनि पालना गर्नुपर्छ कि पर्दैन ? विशेष गरी ‘नयाँ राजनीतिक संस्कृति’, ‘सुशासन’, ‘समानता’ र ‘विशेषाधिकारको अन्त्य’ जस्ता नारालाई आफ्नो राजनीतिक अभियानको केन्द्र बनाएको दलका प्रतिनिधिबाट यस्ता आरोप आउँदा त्यसको प्रभाव अझ ठूलो हुने विश्लेषण भइरहेको छ।

विदुषी राणा व्यवसायिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेकी चर्चित व्यक्तित्व हुन्। उनी नेपालका चर्चित जुत्ता ब्राण्ड गोल्डस्टारसँग आबद्ध रहँदै राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी हुन्। हालसम्म राणा स्वयं वा राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। त्यसैले घटनाबारे उठेका आरोपहरूको आधिकारिक पक्ष भने आउन बाँकी नै छ।

तर मुक्तिनाथ मन्दिरको लाइनसम्बन्धी यो विवादले एउटा गम्भीर प्रश्न भने छोडेको छ—सार्वजनिक रूपमा नियम, अनुशासन र समानताको कुरा गर्ने राजनीतिक नेतृत्वले ती मूल्यहरू दैनिक व्यवहारमा कति आत्मसात् गरेको छ ? सामाजिक सञ्जालमा अहिले बहसको केन्द्र यही बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट