परपुररुषसँग सम्वन्धको ‘शंका’ ले ८ वर्षीय छोराकै अगाडि श्रीमतीको हत्याः बयानमा विदुरले लिए तीन पुरुषको नाम

काठमाडौँ– भक्तपुरको छालिङमा एउटा परिवार केही सेकेन्डमै चकनाचुर भयो। आठ वर्षीय बालकले आफ्नै आँखाअघि बाबुले आमामाथि खुकुरी प्रहार गरेको र केही मिनेटमै आमाले मृत्युवरण गरेको भयावह दृश्य देख्नुपर्‍यो। रगतले लतपतिएको कोठा, चिच्याउँदै ढलेकी आमा र आक्रोशमा उन्मत्त बाबु—यो कुनै चलचित्रको दृश्य होईन, एउटा वास्तविक पारिवारिक त्रासदी हो।

श्रीमती हत्याको आरोपमा पक्राउ परेका ३८ वर्षीय विदुर विश्वकर्माले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा श्रीमती सलिना तोलाङ्गे विश्वकर्मा अन्य पुरुषसँग निकट भएको शंकाले आफू उत्तेजित बनेको र घट्ना भएको बताएका छन्। तर प्रहरीले भने उनको दाबीलाई पुष्टि गर्ने कुनै आधार फेला नपरेको बताउँदै घटनाको वास्तविक कारण अझै अनुसन्धानकै विषय रहेको जनाएको छ।

भक्तपुर नगरपालिका–१० छालिङ रोडस्थित सैनिक ब्यारेक पछाडिको डेरामा बुधबार राति भएको घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको हत्या उनकै पति विदुर विश्वकर्माले खुकुरी प्रहार गरेर गरेका हुन्। यो कुरा उनि स्वयम्ले स्विकार गरिसके।

घटनापछि नियन्त्रणमा लिएका विदुरले प्रहरीसमक्ष दिएको बयानमा तीन जना पुरुषको नाम उल्लेख गर्दै श्रीमती उनीहरूसँग नजिक भएको शंका लागेको बताएका छन्। उनले मदिरा सेवनपछि आफूलाई नियन्त्रण गर्न नसकेको र आवेगमा आएर घटना भएको दाबी गरेका छन्।

तर जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी प्रकाश जवेगुका अनुसार केवल आरोप लाग्यो भन्दैमा त्यसलाई घटनाको वास्तविक कारण मान्न सकिने अवस्था छैन। प्रहरीका अनुसार विदुरको मानसिक अवस्था, उनको बयान र घटनाअघि–पछिका गतिविधिबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रारम्भिक रूपमा उनले भनेका कुरा मात्रै अन्तिम सत्य मान्न नमिल्ने प्रहरीको भनाइ छ।

घटनास्थल आसपासका बासिन्दाका अनुसार यो परिवारमा कलह नयाँ विषय थिएन। डेरा नजिक बस्ने स्थानीयहरूका अनुसार साँझपख घरबाट झगडाको आवाज सुनिनु सामान्यजस्तै भइसकेको थियो। विदुर अत्यधिक मदिरा सेवन गर्ने, होहल्ला गर्ने र आक्रामक व्यवहार देखाउने व्यक्ति भएको उनीहरूको भनाइ छ।

स्थानीय स्रोतका अनुसार यही कारण उनी टोलमा धेरै रुचाइएका व्यक्ति थिएनन्। प्रहरीका अनुसार सलिना केही समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन्। उनी जन्डिसबाट पीडित थिइन् र घटना हुनुभन्दा केही दिनअघि मात्रै काठमाडौंको एक अस्पतालमा उपचार गराएर घर फर्किएकी थिइन्।

बिरामी अवस्थामै रहेकी महिलाको जीवन अन्ततः आफ्नै घरभित्र हिंसात्मक रूपमा अन्त्य भएको छ। नेपालमा धेरैजसो घरेलु हत्या घटनामा ‘शंका’, ‘रिस’, ‘आवेग’ वा ‘उत्तेजना’ शब्द दोहोरिने गरेका छन्। तर कानुनी र नैतिक दृष्टिले यी कुनै पनि कारणले हत्या उचित ठहरिँदैन। यस घटनामा पनि विदुरले श्रीमतीमाथि लगाएको आरोप पुष्टि भइसकेको छैन। बरु अनुसन्धानकर्ताहरूले उनको दाबीलाई सावधानीपूर्वक परीक्षण गरिरहेका छन्।

आठ वर्षीय छोराले देखे जीवनकै सबैभन्दा डरलाग्दो दृश्य
यो घटनाको सबैभन्दा पीडादायी पक्ष भने आठ वर्षीय बालकसँग जोडिएको छ। बाबुआमाबीच भएको झगडाका क्रममा उनी पनि घाइते भएका थिए। उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको बालमैत्री कक्षमा राखिएको छ।

बालकले एकै रातमा आफ्नी आमा गुमाए र आफ्नै बाबुलाई प्रहरीको नियन्त्रणमा पुगेको देखे। एक बालकका लागि आफ्नै आँखाअघि आमाको हत्या भएको दृश्य जीवनभर नबिर्सिने मानसिक घाउ बन्न सक्छ। मनोवैज्ञानिकहरूका अनुसार यस्ता घटनाले बालबालिकाको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट