बलात्कार मुद्दामा १६ वर्ष सजाय पाएका दाहालको आठ वर्ष कैद बाँकी छँदै मृत्यु

विराटनगर– बलात्कार मुद्दामा दोषी ठहर भई १६ वर्ष कैद सजाय भुक्तान गरिरहेका एक वृद्ध कैदीको सजाय अवधि सकिन अझै करिब आठ वर्ष बाँकी रहँदा उपचारकै क्रममा मृत्यु भएको छ।

मोरङको जिल्ला कारागारमा रहेका ७० वर्षीय रामप्रसाद दाहालको स्वास्थ्य अचानक बिग्रिएपछि अस्पताल लगिएको थियो, तर चिकित्सकको प्रयास सफल हुन सकेन। मोरङकै सुन्दरहरैँचा नगरपालिका–६ निवासी दाहालको आइतबार बिहान करिब २ बजे विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कारागार मोरङका प्रशासक राजन घिमिरेले जानकारी दिए।

उनका अनुसार शनिबार बिहान करिब साढे ११ बजे दाहाललाई अचानक चक्कर लाग्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा उपचार जारी रहेकै अवस्थामा स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनको मृत्यु भएको हो।

दाहाल बिरामी परेलगत्तै कारागार प्रशासनले परिवार र आफन्तलाई जानकारी गराएको थियो। उपचारका क्रममा परिवारका सदस्य र आफन्तसमेत अस्पतालमा उपस्थित रहेको कारागार प्रशासनले जनाएको छ।

दाहाल जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका कैदी थिए। उनी २०७५ साल पुस ६ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए। त्यसपछि जिल्ला अदालत मोरङले उनलाई दोषी ठहर गर्दै १६ वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला अनुसार उनले २०९१ साल पुस ६ गतेसम्म कैद भुक्तान गर्नुपर्ने थियो।

तर, सजाय अवधि पूरा हुन अझै लामो समय बाँकी रहेकै अवस्थामा उनको मृत्यु भएको हो। कारागार प्रशासनका अनुसार दाहालले हालसम्म करिब साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए।

उनको शव हाल कोशी अस्पतालमै रहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको प्रशासक घिमिरेले बताए।

जिल्ला कारागार मोरङमा हाल एक हजार २ सय ८ जना कैदीबन्दी रहेका छन्। तीमध्ये १ हजार ९७ पुरुष, १ सय १० महिला र एक आश्रित बालिका रहेको कारागार प्रशासनले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट