विराटनगरमा आत्महत्या गर्न खोजेका युवकको उद्वार गर्न गएको प्रहरीमाथि चक्कु प्रहार, प्रहरीसहित तीन जना

विराटनगर– विराटनगरमा सुधार गृह पठाउने तयारी भइरहेका एक युवकले आफूलाई नियन्त्रणमा लिन पुगेका प्रहरी र सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गरेका छन्। आईतबार अपरान्ह आत्महत्याको प्रयास गरिरहेका युवकलाई सम्झाएर कोठाबाट बाहिर निकाल्ने प्रयास भइरहेका बेला उनले ओछ्यानमुनि लुकाएर राखेको चक्कु झिकेर आक्रमण गरेका हुन्।

मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१ अनुकरण मार्गमा डेरा गरी बस्दै आएका २९ वर्षीय रुबिण कार्कीले दुई प्रहरी र एक जना सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गरेका छन्। रामेछाप घर भएका कार्की विराटनगर–१ स्थित मोहन भट्टराईको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए। उनलाई काठमाडौंस्थित ‘साथीभाइ नेपाल’ नामक सुधार गृह पठाउने तयारी भइरहेका बेला घटनाले अप्रत्याशित मोड लिएको हो।

प्रहरीका अनुसार कार्कीले आइतबार दिउँसो आफू बसेको कोठाभित्र थुनिएर आत्महत्याको प्रयास गरेका थिए। घटनाबारे परिवारका सदस्यले प्रहरीलाई खबर गरेपछि सीआरभी भट्टाचोकबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। सुधार गृहका कर्मचारीसमेत घटनास्थलमा पुगेपछि उनलाई सम्झाइ–बुझाइ गरी सुरक्षित रूपमा कोठाबाट बाहिर निकाल्ने प्रयास गरिएको थियो।

तर, सोही क्रममा कार्कीले आफ्नो ओछ्यानमा लुकाएर राखेको चक्कु निकालेर आक्रमण गरेका थिए। मोरङ प्रहरीका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कार्कीको आक्रमणबाट सीआरभी भट्टाचोकका प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे तथा साथीभाइ नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन्।

चक्कु प्रहारबाट तीनै जनाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पु¥याइएको थियो। अस्पताल स्रोतका अनुसार उनीहरूको अवस्था खतरामुक्त रहेको छ।

घटनापछि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको छ। उनीमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ। आत्महत्याको प्रयास गरिरहेका व्यक्तिलाई उद्धार गर्न पुगेका सुरक्षाकर्मी र कर्मचारीमाथि नै आक्रमण भएपछि घटनाले विराटनगरमा केही समय तनावपूर्ण अवस्था सिर्जना गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट