रियाद एयरपोर्टमा थामियो घर फर्किने सपनाः डेढ करोड जरिवाना तिर्न नसक्दा ६ महिनादेखि अलपत्र छन् सप्तरीका मृगेन्द्र
राजविराज— चार वर्षे श्रम सम्झौता पूरा गरेर घर फर्किन रियाद विमानस्थल पुगेका सप्तरीका मृगेन्द्रकुमार मण्डल विगत ६ महिनादेखि साउदी अरबको राजधानीमै अलपत्र छन्। १५ वर्षअघिको सडक दुर्घटनासम्बन्धी मुद्दामा अदालतले तोकेको साउदी रियाल करिब ३ लाख ३० हजार (झण्डै १ करोड ३२ लाख रुपैयाँ) जरिवाना नबुझाएको कारण देखाउँदै उनलाई एयरपोर्टबाटै स्वदेश फर्किन रोकिएको हो।
सप्तरीको सुरुंगा नगरपालिका–४, कदमाहाका ४२ वर्षीय मण्डल २०८२ माघ महिनादेखि रियादमै अड्किएका छन्। घर फर्किने तयारीसहित एयरपोर्ट पुगेका उनी त्यहाँबाट फर्काइएपछि आजसम्म पनि कानुनी जटिलतामा फसेका छन्। ‘टिकट लिएर घर फर्किन लागेको थिएँ, तर पुरानो मुद्दाको जरिवाना छ भन्दै एयरपोर्टबाटै रोकियो,’ मण्डलले भने, ‘त्यसपछि न काम पाइयो, न फर्किन सकियो।’
उनका अनुसार साउदीको राजधानी रियाददेखि करिब आधा घण्टा दूरीको भित्री बजार क्षेत्रमा अहिले उनी कुनै औपचारिक रोजगारीविना बाँच्न बाध्य छन्। ‘कहिले काम खोज्छु, कहिले मागेर खान्छु’, उनले आफनो दुःख सुनाए।
मण्डल पहिलोपटक सन् २०११ मा साउदी अरब पुगेका थिए। अलमकलवी कम्पनीमा हेभी टिपर चालकका रूपमा काम गर्दै उनी निर्माण सामग्री मार्बल र टायल्स ढुवानी गर्थे। त्यही क्रममा भएको सडक दुर्घटनामा जोर्डनी नागरिकको मृत्यु भएपछि उनीमाथि मुद्दा चलाइएको थियो।
उनले पाँच वर्ष जेल सजाय भोगेपछि सन् २०१७ तिर नेपाल फर्किएका थिए। तर परिवारको आर्थिक अवस्था कमजोर भएपछि उनी पुनः सन् २०२२ मा साउदी फर्किए र चार वर्षे नयाँ श्रम सम्झौताअनुसार फेरि हेभी टिपर चालकका रूपमा काम सुरु गरे।
तर, सम्झौता पूरा गरेर घर फर्किने बेला पुरानै मुद्दा पुनः सतहमा आएको उनले बताए। ‘एयरपोर्टमै रोकियो, अदालतको जरिवाना छ भन्छन्’ उनले भने, ‘तर न कुनै आधिकारिक कागजात दिइयो, न स्पष्ट जानकारी।’
साउदी अदालतले तोकेको भनिएको ३ लाख ३० हजार रियाल (करिब १ करोड ३२ लाख रुपैयाँ) जरिवानाका कारण आफु स्वदेश फर्किन नपाएको उनले बताए। तर त्यससम्बन्धी आधिकारिक निर्णयपत्र वा प्रमाण आफूलाई नदिइएको मण्डलको भनाइ छ।
साउदीस्थित नेपाली दूतावासमा समेत समस्या लिएर पुगेको तर अपेक्षित सहयोग नपाएको उनले गुनासो गरेका छन्। ‘दूतावासमा जाँदा मेरो कुरा राम्ररी सुन्ने वातावरण पनि भएन,’ उनले भने, ‘अब यहाँ कसलाई भनौँ ?’
घर फर्किन नपाएपछि अर्को कम्पनीमा काम खोज्ने प्रयास पनि असफल भएको मण्डल बताउँछन्। पुरानो मुद्दा र कानुनी जटिलता देखाएर रोजगारदाताहरूले काम नदिएको उनको भनाइ छ। त्यसपछि उनी हाल रियादकै सडकछेउको भित्री क्षेत्रमा अनौपचारिक रूपमा बसोबास गर्दै गुजारा चलाइरहेका छन्। ‘कहिले काम पाईन्छ, कहिले पाइँदैन, कहिलेकाहीँ भोकै पनि बस्नुपर्छ,’ उनले भने।
नेपालमा उनकी श्रीमती निलमदेवी मण्डल चार सन्तान र वृद्ध सासू–ससुरासहित सात जनाको परिवारको जिम्मेवारी सम्हालिरहेकी छन्। खेतीयोग्य जमिन नभएको र नियमित आम्दानीको स्रोत कमजोर भएकाले दैनिक गुजारा नै कठिन भएको उनको भनाइ छ। ‘त्यत्रो रकम तिर्ने हैसियत छैन,’ निलमदेवीले भनिन्, ‘सरकार र सम्बन्धित निकायले पहल नगरे श्रीमानको अनुहार पनि देख्न नपाउने हो कि भन्ने चिन्ता छ।’
सुरुंगा नगरपालिका–४ का वडाध्यक्ष देवेन्द्रप्रसाद चौधरीले गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबलाई उद्धारका लागि पत्राचार गरिएको बताएका छन्। उनका अनुसार, १५ वर्षअघिको मुद्दामा पाँच वर्ष जेल सजाय भोगिसकेका मण्डल पुनः श्रम सम्झौतामा साउदी गएर फर्किने क्रममा पुरानै जरिवानाका कारण रोकिएका हुन्।
लोकप्रिय
ताजा अपडेट
‘बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु’ भन्ने अमरेश किन पुगेनन् रास्वपा महाधिवेशनमा ? असन्तुष्टिको संकेत कि राजनीतिक दूरी ?

