‘बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु’ भन्ने अमरेश किन पुगेनन् रास्वपा महाधिवेशनमा ? असन्तुष्टिको संकेत कि राजनीतिक दूरी ?

राजविराज– एक समय जनकपुरको बारहबिघा मैदानमा उभिएर ‘बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु’ भन्ने घोषणा गरेका डा. अमरेशकुमार सिंह यतिबेला आफ्नै पार्टीको पहिलो महाधिवेशनबाट टाढा देखिएका छन्।

सरकार गठनदेखि बजेटसम्म असन्तुष्टि पोख्दै आएका सिंह चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशनमा अनुपस्थित भएपछि पार्टीभित्र उनको राजनीतिक दूरी र असन्तुष्टिबारे नयाँ प्रश्नहरू उठ्न थालेका छन्।

सत्तारुढ रास्वपाको पहिलो महाधिवेशन चितवनमा चलिरहेका बेला चर्चित नेता तथा सांसद डा. अमरेशकुमार सिंह महाधिवेशनस्थलमा नदेखिनु राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। पार्टीका सांसद स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हुँदाहुँदै पनि सिंह कार्यक्रममा सहभागी नभएपछि यसलाई सामान्य अनुपस्थिति मात्र मानिएको छैन।

सोमबार सार्वजनिक गरिएको मधेश प्रदेशका महाधिवेशन प्रतिनिधिहरूको सूचीमा पनि उनको नाम देखिएन। यद्यपि, सांसदको हैसियतले उनी प्रतिनिधि सूचीबाहिर भए पनि महाधिवेशनमा सहभागी हुन कुनै प्राविधिक अवरोध थिएन।

महाधिवेशनस्थलमा रहेका उनीनिकट केही नेता–कार्यकर्ताले समेत सिंह कार्यक्रमस्थलमा नआएको पुष्टि गरेका छन्। यसबारे बुझ्न उनको मोबाइल नम्बरमा सम्पर्क गर्दा स्वकीय सचिव रणजीतले फोन उठाएका थिए। उनले सिंह महाधिवेशनमा सहभागी नभएको स्वीकार गरे पनि अनुपस्थितिको कारणबारे आफूलाई जानकारी नभएको बताए।

सिंह रास्वपामा औपचारिक रूपमा प्रवेश गर्दा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सँग एउटै मञ्चमा देखिएका थिए। जनकपुरको बारहबिघा मैदानमा आयोजित कार्यक्रममा उनले बालेन प्रधानमन्त्री नबने आत्मदाह गर्ने चेतावनीसमेत दिएका थिए। त्यतिबेला उनको अभिव्यक्तिले राष्ट्रिय राजनीति नै तरंगित बनाएको थियो।

तर पछिल्लो समय उनको राजनीतिक स्वर फेरिएको देखिन्छ। पार्टी नेतृत्वसँग दूरी बढेको चर्चा भइरहेका बेला उनी सरकारको कार्यशैली र आर्थिक नीतिप्रति पनि सार्वजनिक रूपमा आलोचनात्मक बन्दै आएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटलाई उनले ‘फुलेको बेलुन’ को संज्ञा दिएका थिए। यद्यपि, उनी किन असन्तुष्ट छन् भन्ने विषयमा अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्।

पार्टी स्रोतका अनुसार दुईतिहाइ बहुमतको सरकार गठनपछि भएको मन्त्रिपरिषद् विस्तारबाटै सिंह असन्तुष्ट बनेका थिए। उनलाई उद्योगमन्त्रीको जिम्मेवारी प्रस्ताव गरिएको भए पनि उनले अस्वीकार गरेको चर्चा छ। त्यसयता उनी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरकार र नेतृत्वप्रति आलोचनात्मक अभिव्यक्ति दिँदै आएका छन्।

रास्वपाभित्रको शक्ति सन्तुलनबारे पनि सिंहको चासो रहेको बताइन्छ। महाधिवेशनअघि उनले सके उपसभापति, नभए महामन्त्री पदमा सर्वसम्मत चयन हुनुपर्ने चाहना व्यक्त गरेको स्रोतहरूको दाबी छ। तर पार्टी नेतृत्वले त्यसबारे कुनै सकारात्मक संकेत नदिएपछि असन्तुष्टि झन् बढेको चर्चा पार्टीभित्रै सुनिन्छ।

नेपाली राजनीतिमा असामान्य र विवादास्पद भविष्यवाणीका कारण चर्चित सिंह लामो समयदेखि स्थापित राजनीतिक पात्र हुन्। कुनै समय ‘नेपाली राजनीतिको अक्टोपस’ उपनामले चिनिएका उनले २०७९ सालमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि त्यो संसद्ले २०८४ साल देख्न नपाउने दाबी गरेका थिए।

गत वर्ष एक अन्तर्वार्तामा उनले नेपालमा परम्परागत राजनीतिक शक्तिबाहिरको आन्दोलन उठ्ने, त्यस आन्दोलनलाई कुनै दलले नेतृत्व नगर्ने, तर सेना र न्यायपालिकासमेतको समर्थनमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा नयाँ सत्ता संरचना बन्न सक्ने भविष्यवाणी गरेका थिए। त्यसबेला उनको भनाइलाई धेरैले असम्भव ठानेका थिए। तर पछिल्ला राजनीतिक घटनाक्रमले उनको विश्लेषण पुनः चर्चामा ल्याएको छ।

सिंहले पछिल्लोपटक मधेशको अवस्थाबारे पनि गम्भीर चेतावनी दिएका छन्। उनले मधेश ‘विस्फोटनको नजिक’ पुगेको दाबी गर्दै वर्तमान संविधान नै दीर्घकालसम्म टिक्न नसक्ने अभिव्यक्ति दिएका थिए।

चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशन पार्टीका लागि संगठनात्मक रूपान्तरण र नेतृत्व पुनर्संरचनाको अवसर मानिएको छ। तर त्यही महाधिवेशनबाट पार्टीका सबैभन्दा चर्चित, स्वतन्त्र छविका र मुखर नेतामध्ये एक डा. अमरेशकुमार सिंह टाढा बस्नुले पार्टीभित्रको आन्तरिक समीकरण, असन्तुष्टि र भविष्यको शक्ति संघर्षबारे थप प्रश्न जन्माएको छ।

अहिलेसम्म सिंह स्वयंले आफ्नो अनुपस्थितिबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। तर महाधिवेशनको राजनीतिक सन्देशभन्दा उनको अनुपस्थितिले बढी चर्चा बटुल्न थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट