अतिथि बोलाएर ‘आतङ्ककारी’ र ‘रोगी’ भन्दै अपमान गर्ने संस्कृति खगेन्द्र सुनारको हो कि रास्वपाको नीति ?

राजविराज– चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चलिरहेको छ। देशभरका प्रतिनिधि, समर्थक र विभिन्न राजनीतिक दलका अतिथिहरू सहभागी छन्। महाधिवेशनको उद्देश्य संगठन निर्माण, नीति बहस र राजनीतिक दिशा तय गर्नु हो। तर महाधिवेशनको दोस्रो दिनको चर्चा भने महाधिवेशनका प्रस्ताव वा पार्टीको भावी रणनीतिले होइन, सांसद खगेन्द्र सुनारको अभिव्यक्तिले कब्जा गर्‍यो।

पत्रकारहरूसँग कुरा गर्दै सुनारले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आएका अन्य राजनीतिक दलका नेताहरूलाई ‘भ्रष्टाचारी’ र ‘आतङ्ककारी’ भने। उनले पार्टी सभापति रवि लामिछानेले अतिथिहरूलाई मञ्चमा राख्नुको उद्देश्य नै कार्यकर्तालाई ‘अन्तिम पटक यिनीहरूको अनुहार देखाइदिनु’ रहेको टिप्पणी गरे। एमाले उपमहासचिव प्रदीप ज्ञवालीको सम्बोधनका क्रममा भएको नाराबाजीबारे बोल्दै उनले पाहुनाहरूले आयोजकको सम्मान गर्न नसकेको आरोपसमेत लगाए।

राजनीतिमा प्रतिद्वन्द्वीलाई आलोचना गर्नु सामान्य विषय हो। तर कार्यक्रममै निमन्त्रणा गरेर बोलाइएका अतिथिलाई सार्वजनिक रूपमा ‘भ्रष्टाचारी’, ‘आतङ्ककारी’ र ‘रोगी’ जस्ता शब्द प्रयोग गरेर टिप्पणी गर्नु राजनीतिक संस्कारको प्रश्न बनेको छ। र, यही प्रसंगले खगेन्द्र सुनारको राजनीतिक यात्रालाई फेरि एकपटक बहसको केन्द्रमा ल्याएको छ।

खगेन्द्र सुनारको सार्वजनिक जीवन हेर्दा एउटा रोचक विरोधाभास देखिन्छ। केही वर्षअघिसम्म उनी आफैँ राज्य, राजनीतिक दल र शक्तिकेन्द्रबाट उपेक्षित दलित समुदायको प्रतिनिधित्वको माग गर्दै सडकमा थिए। माइतीघर मण्डलामा जन्जिरले शरीर बाँधेर उभिने व्यक्तिमध्ये उनी अग्रपंक्तिमा देखिन्थे। ‘दलितलाई मन्त्री खै ?’, ‘दलितलाई कानुन खै ?’, ‘दलितलाई नियुक्ति खै ?’ भन्ने नारा उनको राजनीतिक पहिचान बनेको थियो।

के भने सुनारले ? यहाँ क्लिक गरेर उनकै मुखबाट सुन्नुहोस।

भदौ २०८१ मा माइतीघरदेखि बानेश्वरसम्म गरिएको अर्धनग्न प्रदर्शनले उनलाई राष्ट्रिय बहसमा पु¥यायो। दलित समुदायको प्रतिनिधित्वको प्रश्नलाई उनले आक्रामक शैलीमा उठाए। स्थापित राजनीतिक दलहरूलाई उनले लगातार चुनौती दिए। त्यतिबेला उनका समर्थकहरूले उनलाई ‘नबोलेका वर्गको आवाज’ भनेर व्याख्या गरे।

तर समयसँगै खगेन्द्र सुनारको पहिचान केवल दलित अधिकारकर्मीमा सीमित रहेन। उनका अभिव्यक्ति र शैली पनि विवादको कारण बन्न थाले। अदालतका फैसला र न्यायाधीशमाथि आक्रोशपूर्ण टिप्पणी, सार्वजनिक व्यक्तिमाथि कठोर भाषा, सामाजिक सञ्जालमा हुने तीखा प्रतिक्रिया र विभिन्न विवादहरूले उनको सार्वजनिक छविमा अर्को पाटो थप्दै गए।

चितवन महाधिवेशनको पछिल्लो घटनाले भने अर्को प्रश्न जन्माएको छ। जुन व्यक्ति वर्षौंदेखि सम्मानजनक प्रतिनिधित्वको माग गर्दै आन्दोलनमा थिए, उनी आज किन फरक मत राख्ने राजनैतिक अतिथिहरूप्रति सम्मानजनक व्यवहारको पक्षमा देखिँदैनन् ?

जुन व्यक्ति राज्यले दलित समुदायलाई अपमान गरेको भन्दै आन्दोलन गर्थे, उनी स्वयं किन सार्वजनिक मञ्चमा निमन्त्रणा स्वीकार गरेर आएका पाहुनालाई अपमानित गर्ने भाषामा प्रस्तुत भइरहेका छन् ?

राजनीतिमा असहमति स्वाभाविक हुन्छ। एमाले, कांग्रेस, माओवादी वा अन्य दलसँग रास्वपाको वैचारिक मतभेद हुनु पनि अस्वाभाविक होइन। तर लोकतान्त्रिक राजनैतिक संस्कृतिमा अतिथिलाई बोलाएर मञ्च दिने र त्यसपछि उनीहरूलाई ‘भ्रष्टाचारी’, ‘आतङ्ककारी’ वा ‘रोगी’ भनेर चित्रण गर्ने अभ्यासलाई धेरैले अस्वीकार्य मानिरहेका छन्।

खगेन्द्र सुनारको राजनीतिक यात्राको एउटा स्थायी विशेषता छ—उनी जहाँ पुगे पनि केन्द्रमा मुद्दा मात्र रहँदैन, शैली पनि रहन्छ। उनी उठाउने विषयभन्दा धेरै पटक उनी बोल्ने तरिका चर्चामा आउँछ। समर्थकहरू त्यसलाई निर्भीकता भन्छन्। आलोचकहरू त्यसलाई असभ्यता र राजनैतिक अपरिपक्वता ठान्छन्।

चितवन महाधिवेशनको घटनाले पनि त्यही बहसलाई पुनर्जीवित गरेको छ। एक समय दलित प्रतिनिधित्वको माग गर्दै जन्जिरमा बाँधिएर उभिने खगेन्द्र सुनार अहिले संघीय संसद्का सदस्य छन्। उनी अब आन्दोलनको बाहिर होइन, राज्यको संरचनाभित्र छन्। त्यसैले उनीमाथि लाग्ने मापदण्ड पनि बदलिएको छ।

सडकमा उभिएर नारा लगाउने भाषाले ताली पाउन सक्छ। तर संसद्का सदस्य र राष्ट्रिय नेताको भाषाले राजनीतिक संस्कार, सहिष्णुता र लोकतान्त्रिक मर्यादाको परीक्षा दिनुपर्छ। चितवनमा सुनिएको पछिल्लो अभिव्यक्तिपछि उठेको मूल प्रश्न पनि यही हो— खगेन्द्र सुनार अझै आन्दोलनकारी आक्रोशकै राजनीतिमा छन्, कि राष्ट्रिय राजनीतिले अपेक्षा गर्ने परिपक्व नेतृत्वतर्फ उन्मुख हुँदैछन् ?

खगेन्द्र सुनारको शक्ति उनका मुद्दा हुन् कि उनका विवाद ?
खगेन्द्र सुनारको राजनीतिक यात्रालाई हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ—उनी उठाउने मुद्दाभन्दा पनि उनको अभिव्यक्ति र व्यवहार धेरै पटक विवादको केन्द्रमा पुगेको छ। दलित अधिकार, सामाजिक न्याय र प्रतिनिधित्वजस्ता मुद्दाले उनलाई राष्ट्रिय परिचय दिलाए पनि पछिल्ला वर्षहरूमा उनको सार्वजनिक छवि आन्दोलनकारीभन्दा बढी विवादित वक्ताको रूपमा निर्माण हुँदै गएको देखिन्छ।

विशेषगरी महिलाप्रति प्रयोग गरेका कतिपय अभिव्यक्तिले उनलाई बारम्बार आलोचनाको घेरामा ल्याएको छ। सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म असहमत महिलाहरूमाथि अपमानजनक टिप्पणी गरेको आरोप उनीमाथि लाग्दै आएको छ। आलोचकहरूका अनुसार दलित मुक्ति, समानता र सामाजिक न्यायको पक्षमा वकालत गर्ने व्यक्तिबाट महिलाप्रति सम्मानजनक व्यवहारको अपेक्षा गरिन्छ। तर सुनारमाथि लाग्दै आएका आरोपहरूले उनको अभियान र व्यवहारबीच विरोधाभास देखाउने गरेको छ। यही कारण उनका आलोचकहरूले उनलाई सामाजिक न्यायको भाषाभन्दा व्यक्तिगत आक्रमणको भाषामा बढी रमाउने पात्रका रूपमा चित्रण गर्ने गरेका छन्।

उनको अर्को विवाद शिक्षा क्षेत्रसँग जोडिएको अभिव्यक्तिसँग सम्बन्धित छ। शिक्षक र विद्यालय प्रशासनलाई लक्षित गर्दै उनले सार्वजनिक रूपमा ‘हेडमास्टर र मास्टरहरूको पैतालामा भाटा हान्नुपर्छ’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए। समर्थकहरूले त्यसलाई शिक्षा क्षेत्रमा देखिएको विभेद र अन्यायविरुद्धको आक्रोशका रूपमा व्याख्या गरे पनि आलोचकहरूले यसलाई हिंसात्मक मानसिकतालाई प्रोत्साहन गर्ने गैरजिम्मेवार अभिव्यक्ति माने। लोकतान्त्रिक समाजमा सुधारको माग र प्रतिरोध स्वाभाविक भए पनि शारीरिक दण्ड वा अपमानको भाषा प्रयोग गर्नु राजनैतिक नेतृत्वबाट अपेक्षित व्यवहार नभएको तर्क त्यसबेला व्यापक रूपमा उठेको थियो।

न्यायपालिकाप्रति उनको दृष्टिकोण पनि उत्तिकै विवादित रह्यो। रुकुम सोती प्रकरणको फैसलापछि अदालत र न्यायाधीशहरूलाई लक्षित गर्दै उनले गरेका टिप्पणीहरू राष्ट्रिय बहसको विषय बने। अदालतका निर्णयप्रति असहमति राख्ने अधिकार सबै नागरिकलाई भए पनि ‘अदालत भत्काउनुपर्छ’, ‘जलाउनुपर्छ’ वा न्यायाधीशलाई सार्वजनिक रूपमा अपमानित गर्ने शैली लोकतान्त्रिक विमर्शभन्दा भीडको आक्रोशतर्फ झुकेको देखिएको भन्दै कानुन व्यवसायीहरूले आलोचना गरेका थिए। न्याय प्रणालीको आलोचना र न्याय संस्थाको अस्तित्वमाथि नै प्रश्न उठाउने भाषाबीचको सीमारेखा उनले पटकपटक मेटाएको आरोप उनका आलोचकहरूले लगाउने गरेका छन्।

सांस्कृतिक र धार्मिक विषयमा पनि सुनार विवादबाट टाढा रहन सकेनन्। एक अन्तर्वार्तामा उनले नेपालमा गाईको मासु खान पाउनुपर्ने विषयमा अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि ठूलो विवाद उत्पन्न भयो। नेपालमा गाई केवल धार्मिक आस्थाको विषय मात्र होइन, राष्ट्रिय जनावरका रूपमा संवैधानिक र सांस्कृतिक महत्व बोकेको प्रतीक पनि हो। त्यसैले उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया जन्मायो। पछि सुनारले आफ्नो भनाइ सन्दर्भविहीन रूपमा काटेर प्रस्तुत गरिएको र आफू शाकाहारी रहेको स्पष्टीकरण दिएका थिए। तर विवाद भने लामो समयसम्म राजनीतिक बहसको विषय बनिरह्यो।

त्यस्तै, विवाह र पारिवारिक सम्बन्धबारे उनले दिएको अर्को अभिव्यक्तिले पनि व्यापक आलोचना खेप्यो। ‘राम्रो वर माग्न आएका बेला छोरी नदिए खलासीसँग भाग्छे’ भन्ने आशयको उनको टिप्पणीलाई धेरैले महिलाको स्वतन्त्र निर्णयलाई होच्याउने, अभिभावक–सन्तान सम्बन्धलाई सस्तो व्यंग्यमा झार्ने र महिलालाई निर्णय क्षमताविहीन पात्रका रूपमा चित्रण गर्ने अभिव्यक्ति माने। समर्थकहरूले त्यसलाई सामाजिक यथार्थको कटाक्ष भने पनि आलोचकहरूले महिलाप्रति रहेको अवचेतन पूर्वाग्रहको झल्कोका रूपमा हेरे।

विवादहरूको सूची यतिमै सीमित छैन। सार्वजनिक व्यक्तित्व, राजनीतिक प्रतिद्वन्द्वी, सरकारी अधिकारी, न्यायाधीश, शिक्षक वा सामाजिक अभियन्ता—जससँग असहमति हुन्छ, उनीहरूमाथि व्यक्तिगत र उत्तेजक शैलीमा प्रस्तुत हुने प्रवृत्तिले पनि सुनारलाई आलोचनाको केन्द्रमा राख्दै आएको छ। यही कारण कतिपय विश्लेषकहरू उनलाई मुद्दाको राजनीतिभन्दा आक्रोशको राजनीतिमा बढी सफल पात्र मान्छन्।

खगेन्द्र सुनारको राजनीतिक यात्रा अहिले एउटा निर्णायक मोडमा उभिएको देखिन्छ। दलित आन्दोलनबाट उदाएको नेतृत्व अब संसद् र राष्ट्रिय राजनीतिमा प्रवेश गरिसकेको छ। तर आन्दोलनकारीको भाषालाई संस्थागत नेतृत्वमा रूपान्तरण गर्न नसक्ने हो भने उनका समर्थकहरूले देखेको सम्भावित नेतृत्व र आलोचकहरूले देखेको विवादित पात्रबीचको दूरी झन् साँघुरो हुँदै जानेछ।

चितवन महाधिवेशनमा अतिथिहरूप्रति व्यक्त गरिएको पछिल्लो टिप्पणीले पनि यही प्रश्नलाई फेरि जीवित राखेको छ— खगेन्द्र सुनारको शक्ति उनका मुद्दा हुन् कि उनका विवाद ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट