मसानघाटमा ‘साधु साधना’ को नाटकः चितास्थलमा निर्वस्त्र अश्लील हर्कत गर्ने चार जना पक्राउ, अरु दुई को हुन ?

विराटनगर– असह्य गर्मीको मध्यरात। शहर निदाइरहेको बेला विराटनगर–१ स्थित परोपकार घाटमा भने चितास्थलमा आगो दन्किरहेको थियो। शव दाहसंस्कारका लागि प्रयोग हुने स्थानमा केही व्यक्ति आगो वरिपरि बसेका थिए। कसैको शरीरमा कपडा थिएन, कसैले भित्री वस्त्र मात्र लगाएका थिए। टाउकोमा कालो फेटा बाँधेका उनीहरू चिताको खरानी शरीरमा दल्दै थिए, अश्लील शब्दमा गालीगलौज गरिरहेका थिए र आपसमा धकेलाधकेल गर्दै थिए।

सुरुमा स्थानीयले यसलाई कुनै रहस्यमय साधना, अघोरी कर्मकाण्ड वा मसानघाटसँग जोडिएको गुप्त धार्मिक अनुष्ठान ठाने। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि घटना देशभर चर्चाको विषय बन्यो। तर, प्रहरीले अनुसन्धान अघि बढाएपछि मसानघाटको त्यो रहस्य अपेक्षा गरिएजस्तो रहस्यमय नभई मदिरा र तथाकथित ‘साधु बन्ने’ नाममा गरिएको अश्लील हर्कत भएको प्रारम्भिक निष्कर्षमा पुगेको छ। घटनामा संलग्न चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

घटना असार ९ गते राति करिब साढे १२ बजेतिरको हो। स्थानीयले परोपकार घाटबाट होहल्ला, गालीगलौज र अनौठो गतिविधि भइरहेको देखेपछि घटनास्थल पुगेका थिए। स्थानीयले खिचेको भिडियोमा शव जलाउन तयार पारिएको चितास्थलमा आगो बालिएको देखिन्छ। आगो वरिपरि बसेका केही व्यक्ति पूर्ण रूपमा निर्वस्त्र थिए भने केही अर्धनग्न अवस्थामा थिए। उनीहरूले चिताको खरानी उठाएर एकअर्काको शरीरमा दलिरहेका थिए।

कतिपयले टाउकोमा कालो कपडाको फेटा बाँधेका थिए। वरिपरि माटोका घैला, पानीका बोतल, दाउरा र अन्य सामग्री छरिएका थिए। दृश्य हेर्दा कुनै धार्मिक अनुष्ठानजस्तो देखिए पनि सहभागीहरूको व्यवहार भने असामान्य र अश्लील प्रकृतिको थियो।

स्थानीयका अनुसार प्रश्न गर्दा उनीहरूले स्पष्ट जवाफ दिनुको सट्टा गालीगलौज र दुव्र्यवहार गरेका थिए। घटनाको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अनेक अड्कलबाजी सुरु भयो। कसैले अघोरी साधना भने, कसैले मसान पूजा, त कतिपयले रहस्यमय कर्मकाण्डको अनुमान लगाए।

प्रहरीका अनुसार आइतबार राति भएको गतिविधिपछि पनि उक्त समूह रोकिएको थिएन। सोमबार राति पनि उनीहरू पुनः परोपकार घाट पुगेर उस्तै गतिविधि दोहोर्याउने तयारीमा थिए। विशेष सूचनाका आधारमा प्रहरी टोली घटनास्थलमा खटिएपछि उनीहरू नियन्त्रणमा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घाट क्षेत्रमा केही व्यक्तिहरू भेला भएर अश्लील हर्कत गरिरहेको सूचना प्राप्त भएपछि निगरानी बढाइएको थियो। अनुसन्धानका क्रममा उनीहरूले आफूहरू ‘साधु बन्ने’ अभ्यास गरिरहेको दाबी गरेको प्रहरी स्रोतको भनाइ छ। तर प्रारम्भिक अनुसन्धानले उनीहरू मदिराको नशामा रहेको र नशाकै प्रभावमा अश्लील तथा असामान्य गतिविधि गरेको देखिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मोरङ विराटनगर–६ का ४४ वर्षीय सुरेन्द्रमणि मण्डल, मोरङ विराटनगर–४ का ४४ वर्षीय छबिलाल घिमिरे, सुनसरी रामधुनी नगरपालिका–६ का २५ वर्षीय कैलाश ढुंगाना र भोजपुर रामप्रसाद राई गाउँपालिका–६ का १८ वर्षीय मनिष काफ्ले रहेका छन्।

प्रहरीका अनुसार घटनाको भिडियोमा देखिएको समूहमा सुरुमा ६ जना थिए। तर हालसम्म चार जनालाई मात्र पक्राउ गरिएको छ। अन्य व्यक्तिको भूमिकाबारे पनि अनुसन्धान भइरहेको छ। घटना सार्वजनिक भएपछि सबैभन्दा धेरै उठेको प्रश्न यही थियो— के यो कुनै अघोरी साधना थियो?

प्रहरीको प्रारम्भिक अनुसन्धानले भने त्यसतर्फ संकेत गरेको छैन। अघोरी परम्परासँग जोडिने कतिपय प्रतीकात्मक गतिविधि जस्तै चितास्थल, खरानी र रातिको समय प्रयोग भएको देखिए पनि घटनास्थलमा देखिएको व्यवहार धार्मिक साधनाभन्दा बढी नशाको प्रभावमा गरिएको अव्यवस्थित गतिविधि जस्तो देखिएको प्रहरीको निष्कर्ष छ।

डीएसपी मिश्रका अनुसार पक्राउ परेकाहरूले ‘बाबा बन्ने’ वा साधुजस्तो जीवन अभ्यास गर्ने नाममा यस्तो गतिविधि गरेको दाबी गरे पनि त्यसको कुनै धार्मिक वा संस्थागत आधार अहिलेसम्म भेटिएको छैन।

परोपकार घाट विराटनगरको प्रमुख दाहसंस्कार स्थल हो। धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा संवेदनशील मानिने स्थानमा मध्यराति निर्वस्त्र तथा अर्धनग्न व्यक्तिहरूको समूहले चितास्थलमै आगो बालेर अश्लील गतिविधि गरेको दृश्यले स्थानीय समुदायमा त्रास र कौतुहलता दुवै पैदा ग¥यो।

स्थानीय बासिन्दाहरूका अनुसार घाट क्षेत्रमा पछिल्ला महिनाहरूमा रातिको समयमा शंकास्पद गतिविधि बढ्दै गएको गुनासो सुनिन थालेको थियो। तर सार्वजनिक रूपमा यति असामान्य दृश्य भने पहिलोपटक देखिएको हो।

त्यसैले धेरैले सुरुमा यसलाई कुनै रहस्यमय धार्मिक गतिविधि ठानेका थिए। तर अनुसन्धान अगाडि बढ्दै जाँदा घटना नशा, अराजक व्यवहार र धार्मिक प्रतीकहरूको दुरुपयोगसँग जोडिएको हुन सक्ने संकेत देखिएको छ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूमाथि सार्वजनिक मर्यादा, अश्लील गतिविधि, सार्वजनिक शान्ति भंग तथा अन्य सम्भावित कानुनी पक्षहरूबारे अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट