उदयपुरमा गोठमा लुकेर जुवा खेलीरहेको ठाउँमा प्रहरीको छापा, ४ जना पक्राउ
गाईघाट– उदयपुरको त्रियुगा नगरपालिकाको एउटा गोठमा कौडा (जुवा) खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर चार जनालाई नगद, मोबाइल र मोटरसाइकलसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोस्ट बगाहाबाट खटिएको संयुक्त प्रहरी टोलीले असार ९ गते साँझ करिब ५ बजे त्रियुगा नगरपालिका–४ डाँडाटोलस्थित ईश्वर कार्कीको गोठमा छापा मारेर जुवा खेलिरहेका चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–४ का करिब ५० वर्षीय तिलक बुढाथोकी, त्रियुगा–११ का ३९ वर्षीय भवननाथ सिग्देल, सोही स्थानका ४० वर्षीय प्रबिन राई तथा त्रियुगा–९ का ४३ वर्षीय दीपक बराल रहेका छन्।
प्रहरीका अनुसार उनीहरू जुवा खेलिरहेको अवस्थामा १६ वटा जुवाको कौडा, नगद ५२ हजार ६ सय रुपैयाँ, पाँच थान मोबाइल फोन र चार थान मोटरसाइकल बरामद गरिएको छ।
विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोठभित्र कौडा चलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामाथि जुवासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन जिल्ला प्रशासन कार्यालय उदयपुरबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

