सिरहामा कुर्सीमा बसिरहेका व्यक्तिलाई कारले किच्यो, उद्धारमा जुटेकामाथि फेरि पिकअप चढ्दा एकको मृत्यु
लहान– सिरहाको मिर्चैयामा मिर्चैया–८ भगवतपुरमा बुधबार राती अनियन्त्रित कारले घरअगाडि बसिरहेका एक व्यक्तिलाई ठक्कर दिएपछि उद्धारमा जुटेका स्थानीयमाथि समेत अर्को पिकअप गाडी चढ्दा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार राति करिब साढे ११ बजे बागमती प्रदेश ०१–०२५ च ८९७१ नम्बरको इभी कारले घरअगाडि पोल नजिक कुर्सीमा बसेका बेला स्थानीय ५० वर्षीय गुनाई ठाकुरलाई ठक्कर दिएको थियो।
अत्यधिक गतिमा रहेको कार अनियन्त्रित भई सिधै गुनाई बसेको स्थानमा पुगेको थियो। ठक्करपछि कार सडकछेउको पोलमा ठोक्किँदै नालामा खसेको थियो। दुर्घटनापछि स्थानीयवासी घटनास्थलमा भेला भएर घाइतेको उद्धारमा जुटेका थिए।
तर गुनाईलाई एम्बुलेन्समा राखेर अस्पताल पठाउने तयारी भइरहेकै बेला अर्को दुर्घटना भयो। घटनास्थलतर्फ आएको एउटा पिकअप गाडीले उद्धारमा संलग्न स्थानीयहरूलाई समेत ठक्कर दिँदै कार चालकलाई लिएर फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दोस्रो दुर्घटनामा गुनाईसँगै स्थानीय ३९ वर्षीय रामपुकार ठाकुर, ३२ वर्षीया सुभली कुमारी यादव, १० वर्षीय एक बालक र ६ वर्षीय अर्को बालक घाइते भएका छन्। अन्य केही स्थानीयलाई समेत सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ।
यता, गुनाईलाई उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ। रामपुकार ठाकुरको काठमाडौंस्थित एक अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरूको मिर्चैयास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि प्रहरीले कारलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो। फरार भएको पिकअप गाडीलाई भने बिहीबार बिहान मिर्चैया नगरपालिका–७ को छघरे क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार दुवै सवारीसाधनबाट कपडा, विभिन्न कागजात तथा मदिराजन्य पदार्थसमेत बरामद भएको छ। घटनामा संलग्न रहेको आशंकामा मिर्चैया–७ निवासी रामकुमार यादव र मिर्चैया–८ निवासी मनोज झासहित अन्य व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकले जानकारी दिए।
दुर्घटनाको वास्तविक कारण, सवारी चालकहरूको अवस्था तथा फरार व्यक्तिहरूको भूमिकाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

