गुगलमा ‘हत्या’को आइडिया, रिहर्सलपछि हुनेवाला पतिलाई भीरबाट धक्का—३ सय फिट तल खसेर केतनको मृत्यु

काठमाडौँ– फेब्रुअरीमा इन्गेजमेन्ट भयो। नोभेम्बरमा राजस्थानको जयपुरस्थित आलिशान महलमा भव्य विवाह गर्ने तयारी थियो। परिवारले १७ करोड भारतीय रुपैयाँ खर्च गरेर विवाहस्थल बुक गरिसकेको थियो। पाहुनाको आवतजावतका लागि दुई वटा निजी विमानको समेत व्यवस्था भइसकेको थियो।

तर विवाहको मिति नजिकिँदै जाँदा हुनेवाला दुलही सिया गोयलको मनमा भने अर्कै योजना पाकिरहेको थियो। पुणे ग्रामीण प्रहरीको अनुसन्धानअनुसार उनले विवाहको सपना सजाइरहेका व्यवसायी केतन अग्रवाललाई जीवनसाथी बनाउने होइन, जीवनबाटै हटाउने योजना बनाइरहेकी थिइन्। त्यो योजना अचानक बनेको थिएन। प्रहरीका अनुसार हत्या कसरी गर्ने, कहाँ गर्ने, कसरी उम्किने र पक्राउ परेपछि के बयान दिने भन्ने विषयमा समेत विस्तृत तयारी गरिएको थियो।

भारतको महाराष्ट्रस्थित ऐतिहासिक लोहगढ किल्लामा भएको केतन अग्रवाल हत्याकाण्डले अहिले देशभर चर्चा बटुलिरहेको छ। अनुसन्धान गहिरिँदै जाँदा बाहिर आएका विवरणहरूले यो घटनालाई सामान्य प्रेम भन्दा धेरै जटिल र योजनाबद्ध अपराधका रूपमा चित्रित गरिरहेका छन्।

प्रहरीका अनुसार मुख्य आरोपी सिया गोयल र उनका प्रेमी चेतन चौधरीले हत्या अघि इन्टरनेटको सहारा लिएका थिए। उनीहरूले गुगलमा हत्या गर्ने तरिका, दुर्घटनाजस्तो देखिने सम्भावना र अनुसन्धानबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा खोजबिन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अनुसन्धान अधिकारीहरूका अनुसार लोहगढ किल्लाको भीर रोज्नु पनि संयोग थिएन। घटनाअघि दुवै जना त्यहाँ पुगेका थिए। कुन स्थानबाट धकेल्दा मृत्यु सुनिश्चित हुन्छ भन्ने ठाउँ पहिचान गरिएको थियो। सम्भावित जोखिम र वैकल्पिक योजना समेत तयार गरिएको थियो।

प्रहरी स्रोतका अनुसार उनीहरूले एउटा मात्र योजना बनाएका थिएनन्। मुख्य योजना असफल भए दोस्रो रणनीति प्रयोग गर्ने र त्यो पनि असफल भए तेस्रो विकल्प अपनाउने गरी ‘प्लान–बी’ र ‘प्लान–सी’ समेत तयार गरिएको थियो। पक्राउ परेपछि प्रहरीसमक्ष के भन्ने भन्ने कथा पनि पूर्वनिर्धारित थियो।

घटनापछि प्रमाण मेटाउने प्रयाससमेत भएको अनुसन्धानबाट खुलेको छ। दुवैले मोबाइलमा रहेका च्याट हिस्ट्री, म्यासेज र रिसाइकल बिन खाली गरेका थिए। अहिले ती मोबाइलहरू फरेन्सिक परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानलाई थप मजबुत बनाउन प्रहरीले आइतबार सिया र चेतनलाई कडा सुरक्षा व्यवस्थाका बीच घटनास्थल लगेर ‘क्राइम सिन रिक्रिएसन’ गरेको थियो। घटनाको प्रत्येक चरण पुनः प्रस्तुत गराएर प्रहरीले उनीहरूको बयान र घटनास्थलको अवस्थाबीच मिलान गरिरहेको छ।

अनुसन्धानमा अझ चकित पार्ने तथ्य भने १८ जुनको हत्या नै पहिलो प्रयास नभएको खुलासा हो। प्रहरीका अनुसार त्यसभन्दा चार दिनअघि अर्थात् १४ जुनमा पनि सियाले केतनलाई लोहगढ किल्लामै लगेर हत्या गर्ने प्रयास गरेकी थिइन्। त्यस क्रममा उनले केतनलाई भीरतर्फ धकेलेकी थिइन्। तर भाग्यवश भीरको छेउमा रहेको झाडी समात्न सफल भएपछि केतन बाँच्न सफल भएका थिए।

त्यसपछि घटनालाई दुर्घटनाजस्तो देखाउन सियाले ‘सर्प… सर्प…’ भन्दै कराउन थालेकी थिइन्। उनले केतनलाई अँगालो हालेर आफू डराएको अभिनय समेत गरेको अनुसन्धानबाट खुलेको छ। त्यस घटनालाई केतनले आकस्मिक दुर्घटना ठानेका थिए।

पहिलो प्रयास असफल भएपछि योजनाले नयाँ रूप लियो। १८ जुनमा सियाले आफ्नो जन्मदिन मनाउने बहाना बनाइन्। उनले फेरि केतनलाई ट्रेकिङका लागि लोहगढ किल्लामा बोलाइन्। यसपटक उनका प्रेमी चेतन चौधरी पनि योजनाअनुसार त्यहीँ पुगेका थिए।

प्रहरीको दाबीअनुसार पूर्वनिर्धारित स्थानमा पुगेपछि सिया भीरको किनारमा बसिन्। त्यही बेला पछाडिबाट लुकेर आएका चेतनले केतनलाई जोडले धक्का दिए। सन्तुलन गुमाएका केतन करिब ३०० फिट तल खसे। घटनास्थलमै उनको मृत्यु भयो।

अनुसन्धानका क्रममा सियाले दिएको बयानले पनि घटनालाई नयाँ मोड दिएको छ। प्रहरी हिरासतमा उनले आफ्नो प्रेम सम्बन्ध परिवारसमक्ष स्वीकार गर्न नसकेको बताएकी छन्। उनको भनाइ उद्धृत गर्दै अनुसन्धान अधिकारीहरूले बताएका छन्, ‘परिवारको विरोध गरेर इन्गेजमेन्ट तोड्नु भन्दा केतनलाई बाटोबाट हटाउनु सजिलो लाग्यो।’

यही बयान अहिले अनुसन्धानको सबैभन्दा महत्वपूर्ण कडी बनेको छ। यसबीच केतनको मृत्युले उनको परिवार शोकमा डुबेको छ। शनिबार राति उनको आवासीय क्षेत्रमा स्थानीयवासीले क्यान्डल मार्च आयोजना गरेका थिए।

कार्यक्रममा भावुक बनेका उनका पिता विशाल अग्रवालले घटनाको दिन लोहगढ किल्लामा उपस्थित रहेका पर्यटकहरूलाई अगाडि आएर प्रहरीलाई सहयोग गर्न आग्रह गरे। उनले भने, ‘धेरै मानिसहरूले सामाजिक सञ्जालमार्फत त्यही दिन किल्लामा रहेको र केही शंकास्पद गतिविधि देखेको बताएका छन्। तर उनीहरू प्रहरीसमक्ष जान डराइरहेका छन्। म सबैसँग हात जोडेर अनुरोध गर्छु, कृपया अगाडि आएर मेरो छोरालाई न्याय दिलाउन सहयोग गर्नुहोस्। तपाईंहरूलाई कुनै कानुनी समस्या हुने छैन।’

अहिले अनुसन्धानको केन्द्र केवल हत्या कसरी भयो भन्ने प्रश्नमा सीमित छैन। प्रहरीले हत्या योजनाको सम्पूर्ण संरचना, डिजिटल प्रमाण, आर्थिक पृष्ठभूमि, प्रेम सम्बन्ध र घटनाअघि भएका सम्पर्कहरूको समेत विश्लेषण गरिरहेको छ।

एकातिर करोडौं रुपैयाँ खर्च गरेर विवाहको तयारी भइरहेको थियो। अर्कोतिर त्यही विवाह रोक्न हत्या योजनाको रिहर्सल चलिरहेको थियो। यही विरोधाभासले लोहगढ किल्लाको यो घटनालाई सामान्य आपराधिक घटनाभन्दा धेरै ठूलो सामाजिक र मनोवैज्ञानिक बहसको विषय बनाएको छ।

प्रहरी अनुसन्धान जारी छ। तर अहिलेसम्म बाहिर आएका तथ्यहरूले एउटा कुरा स्पष्ट देखाएको छ—यो हत्या आवेगमा भएको घटना होइन, बरु चरणबद्ध तयारी, पूर्वअभ्यास र योजनाबद्ध कार्यान्वयनको परिणाम भएको आशंका बलियो बन्दै गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट