झापामा दिदी–भिनाजुको घरमा वस्ने युवकद्वारा १८ वर्षीया युवती बलात्कृत

दमक– झापाको बिर्तामोडमा १८ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनापछि फरार भएका इलामका ३६ वर्षीय बिगेन्द्र शेर्पालाई प्रहरीले खोजी अभियान सञ्चालन गरी नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिर्तामोड नगरपालिका–५ स्थित हनुमान कम्प्लेक्स क्षेत्रमा असार १३ गते राति करिब ९ बजे युवतीमाथि बलात्कार भएको आरोप लागेको छ। घटनापछि आरोपी फरार भएका थिए।

प्रहरीका अनुसार पीडित युवतीले सोही राति करिब ११ बजे इलाका प्रहरी कार्यालय अनारमनीमा पुगेर घटनाबारे मौखिक जानकारी गराएकी थिइन्। त्यसपछि प्रहरीले तत्काल आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै पीडितको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो।

अनुसन्धानका क्रममा इलामको पशुपतिनगर नगरपालिका–२ स्थायी घर भई हाल बिर्तामोड–५ सुब्बाचोकस्थित दिदी–भिनाजुको घरमा बस्दै आएका बिगेन्द्र शेर्पामाथि शंका केन्द्रित भएको थियो। खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उनलाई असार १४ गते बिहान पौने ११ बजे पक्राउ गरेको जनाएको छ।

प्रहरीले शारीरिक परीक्षणपछि पीडित युवतीलाई बिर्तामोड–५ स्थित क्षितिज महिला समाज पुनस्र्थापना केन्द्रमा सुरक्षित रूपमा राखिएको जनाएको छ। पक्राउ परेका शेर्पालाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। प्रहरीले घटनासम्बन्धी प्रमाण संकलन तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट