प्रधानमन्त्री बालेनलाई गोली हान्ने धम्की दिएको भिडियो सार्वजनिक भएपछि दुई किशोर पेस्तोलसहित पक्राउ

जनकपुर— प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लाई गोली प्रहार गर्ने योजना बनाएको भन्दै अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि धनुषाबाट दुई किशोर पक्राउ परेका छन्। उनीहरूबाट एक थान पेस्तोल र दुई राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मुखियापट्टी मुसहरनियाँ क्षेत्रका कमन यादव र सुधिर मुखियालाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनाबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषाका एसपी रुपेश खड्काका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उनीहरूले बालेन साहलाई गोली हान्ने योजना बनाइरहेको दाबी गरेका थिए। उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूको खोजी गरी पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना मदिरा तथा लागूऔषधको प्रभावमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘उनीहरू नशाको अवस्थामा जथाभावी बोल्दै हिँडेको जानकारी पाएपछि नियन्त्रणमा लिएका हौं,’ खड्काले भने।

सार्वजनिक भएको भिडियोमा उनीहरूले ‘गाउँ विकास र समृद्धिको आश्वासनका आधारमा समर्थन गरेको तर अपेक्षाअनुसार काम नभएको’ भन्दै साहप्रति आक्रोश व्यक्त गरेको देखिन्छ। भिडियोमा उनीहरूको बोली अस्वाभाविक र लठ्ठिएको अवस्थामा रहेको पनि देखिन्छ।

प्रहरीले बरामद गरिएको हतियारको स्रोत, त्यसको वैधानिकता तथा पक्राउ परेकाहरूको उद्देश्यबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। उनीहरूमाथि लागू हुने कानुनी प्रावधानका विषयमा समेत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

घटनाबारे विस्तृत अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट