सप्तरीमा बुहारीले आत्महत्या गरेपछि यौन दुर्व्यवहारको आरोपमा ससुरा पक्राउ

राजविराज — सप्तरीको बोदेबरसाइन नगरपालिका–४ सिलहट प्रसाहीमा एक महिलाको आत्महत्यापछि उनका ससुरा आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार पटक–पटक यौन दुर्व्यवहार गरेको, घटना सार्वजनिक भएपछि बयान फेर्न दबाब दिएको तथा ज्यान मार्ने धम्कीसमेत दिएको आरोपमा ४० वर्षीय रामेश्वर रामलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार स्थानीय सरस्वती राम असार १२ गते राति आफ्नै घरको सुत्ने कोठामा बाँसको बलोमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उनको शव असार १३ गते बिहान करिब साढे ६ बजे फेला परेको थियो।

घटनापछि मृतककी आफन्त फिरो देवी रामले दिएको जाहेरीका आधारमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको हो। जाहेरीमा रामेश्वर रामले मृतकलाई पटक–पटक यौन दुर्व्यवहार गर्ने गरेको, उक्त विषय गाउँमा सार्वजनिक भएपछि भएको पञ्चायतीमा बयान परिवर्तन गर्न दबाब दिएको तथा नमाने ज्यान मार्ने धम्की दिएको उल्लेख गरिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि यौन दुर्व्यवहार र धम्कीका कारण सरस्वती राम मानसिक तनावमा परेको र त्यसकै परिणामस्वरूप आत्महत्या गरेको हुन सक्ने आधार भेटिएको बताइएको छ।

स्थानीय स्रोतका अनुसार घटना सार्वजनिक भएपछि गाउँमा पञ्चायतीसमेत बसेको थियो। पञ्चायतीका क्रममा पीडित महिलामाथि नै दबाब सिर्जना गरी विषयलाई मिलापत्रतर्फ लैजान खोजिएको आरोप स्थानीयवासीले लगाएका छन्। घटनासँग सम्बन्धित केही व्यक्तिहरू सम्पर्कविहीन रहेको स्थानीयको भनाइ छ।

बोदेबरसाइन नगरपालिका–४ का वडाध्यक्ष किरण साहले घटना भएको पुष्टि गर्दै अनुसन्धान जारी रहेकाले यस विषयमा थप टिप्पणी गर्न उचित नहुने बताए। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेका अनुसार पक्राउ परेका रामेश्वर रामविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान गर्न सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति प्राप्त भएको छ।

अदालतको अनुमति अनुसार असार १६ गतेदेखि लागू हुने गरी म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। प्रहरीले घटनासँग सम्बन्धित सबै पक्ष, गाउँमा भएको पञ्चायतीको भूमिका, पीडितमाथि भएको भनिएको दबाब तथा आत्महत्यासम्म पुग्न बाध्य बनाउने सम्भावित कारणबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट