प्रहरीले लखेटेपछि उम्किन दलदले पोखरीमा पसेका युवक रहस्यमय रूपमा बेपत्ता, सुरक्षा निकायलाई तनाव

विराटनगर– मोरङको विराटनगर महानगरपालिका–१८ भेडियारीमा भारततर्फ गाँजा लैजाँदै गरेको आशंकामा प्रहरीले रोक्न खोजेको मोटरसाइकलका चालक बुधबार दलदले पोखरीमा पसेर बेपत्ता भएका छन्।

घटनापछि स्थानीय बासिन्दाले खोजी कार्य तीव्र बनाउन माग गर्दै विरोध जनाएपछि नेपाल–भारत सीमाक्षेत्र भेडियारीमा तनाव उत्पन्न भएको छ। मोरङ प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकलमा सवार विराटनगर–१८ निवासी मञ्जितकुमार यादव प्रहरीबाट उम्किन भाग्ने क्रममा नजिकै रहेको दलदले पोखरीमा प्रवेश गरेका थिए।

त्यसपछि उनी सम्पर्कविहीन बनेका छन्। घटनास्थल विराटनगर–जोगबनी सीमासँग जोडिएको भेडियारी नाका क्षेत्र हो, जहाँ संयुक्त भन्सार जाँच चौकीसमेत रहेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी सन्तोष श्रेष्ठले मोटरसाइकल रोक्न खोज्दा चालकले सवारी साधन छाडेर भागेको र पोखरीतर्फ गएको जानकारी प्राप्त भएको बताए।

उनका अनुसार प्रहरीले यादव पोखरीमा डुबेको प्रत्यक्ष नदेखे पनि स्थानीय बासिन्दाले डुबेको देखेको दाबी गरेपछि खोजी अभियान सञ्चालन गरिएको हो। बेपत्ता यादवको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलको इटहरीस्थित ब्रिगेडबाट गोताखोर टोली घटनास्थल पुगेको छ।

यद्यपि उनको अवस्था समाचार तयार पार्दासम्म खुल्न सकेको छैन। आवश्यकता अनुसार थप गोताखोर परिचालन गर्ने तयारीसमेत गरिएको प्रहरीले जनाएको छ। घटनाका क्रममा मोटरसाइकलको पछाडि सवार रहेका भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्ला गनौरा पञ्चायत–५ निवासी ४१ वर्षीय शिवधर यादवलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। डीएसपी श्रेष्ठका अनुसार उनको साथबाट ६ किलो १३० ग्राम गाँजा बरामद गरिएको छ।

बरामद गाँजा, मोटरसाइकल र पक्राउ परेका शिवधर यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल भारततर्फ गइरहेको अवस्थामा प्रहरीले शंका लागेर रोक्न खोजेको थियो।

उता, प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले भने प्रहरीले लामो दूरीसम्म लखेटेपछि भाग्ने अन्य विकल्प नभएकाले मञ्जित यादव दलदले पोखरीमा पसेको बताएका छन्। त्यसपछि उनी बाहिर ननिस्किएको दाबी गर्दै स्थानीयले तत्काल प्रभावकारी खोजी कार्यको माग गरेका छन्।

प्रहरीले भने यादव वास्तवमै पोखरीमा डुबेको वा अन्यत्र निस्किएको भन्ने तथ्य अझै पुष्टि भइनसकेको जनाएको छ। खोजी अभियान पूरा भएपछि मात्रै घटनाबारे स्पष्ट निष्कर्ष निकाल्न सकिने प्रहरीको भनाइ छ।

सीमाक्षेत्र भेडियारी पछिल्ला दिनहरूमा तस्करी र अवैध ओसारपसारका घटनाका कारण पनि चर्चामा छ। तीन दिनअघि मात्रै विराटनगर–जोगबनी मटेरुवा नाकामा बाख्रा तस्करी रोक्न खोज्दा भारतीय पक्षका व्यापारीहरूले नेपाली सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए। उक्त घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीहरू उपस्थित भए पनि हस्तक्षेप नगरेको आरोप लागेको थियो।

बुधबारको घटनापछि पनि सीमाक्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने बेपत्ता युवकको खोजी तथा गाँजा तस्करीसँग सम्बन्धित पक्षबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट