विदेशी युवती प्रकरणपछि सांसद कार्कीको सफाइः ‘बोलेको होइन, गरेको कामबाट मूल्याङ्कन गर’
विराटनगर– विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप, संसद्भित्रै उठेको प्रश्न र आफ्नै पार्टीभित्र स्पष्टीकरणको दबाबबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोरङ–२ का सांसद कृष्णकुमार कार्कीले आफूलाई कामका आधारमा मूल्याङ्कन गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै कार्कीले संसदमा कति पटक बोलेँ भन्नेभन्दा जनताको जीवनमा कति परिवर्तन ल्याएँ भन्ने विषय महत्वपूर्ण हुने बताएका छन्। केही समयअघि एक विदेशी महिलासँगको सम्बन्ध र गर्भवती बनाएर छाडेको आरोप सार्वजनिक भएपछि कार्की विवादमा तानिएका थिए।
त्यो विषय संसद्मा समेत प्रवेश गरेको थियो। रास्वपा संसदीय दलले समेत उनीसँग स्पष्टीकरण लिने तयारी गरेको थियो। यस्तो अवस्थामा कार्कीले सार्वजनिक रूपमा आफ्नो कार्यसम्पादन र प्राथमिकताबारे धारणा सार्वजनिक गरेका हुन्। कार्कीले आफ्नो उद्देश्य संसदमा बोलेका भाषणको इतिहास लेख्नु नभई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने इतिहास निर्माण गर्नु रहेको बताएका छन्।
जनप्रतिनिधिको मूल्याङ्कन उसले बोलेका शब्दभन्दा काम र त्यसको परिणामबाट हुनुपर्ने उनको तर्क छ। आवश्यक पर्दा संसदमा जनताका हक, अधिकार र सरोकारका विषयमा स्पष्ट रूपमा बोल्ने तर आफ्नो प्राथमिकता परिणाममुखी काममा रहेको उनले उल्लेख गरेका छन्।
सार्वजनिक धारणा क्रममा उनले मोरङ–२ मा विद्युत सेवा सुधार, केरुन सबस्टेसन निर्माण, रासायनिक मल अभाव समाधान, स्वास्थ्य संस्थाको स्तरोन्नति, बाढी तथा कटान नियन्त्रण, विकास आयोजनाको बजेट सुनिश्चितता लगायतका विषयमा आफूले पहल गरिरहेको दाबी गरेका छन्।
वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीहरूको उद्धार, ठगीमा परेकाहरूको रकम फिर्ता, न्यायबाट वञ्चित पीडितलाई सम्बन्धित निकायसम्म पु¥याउने काममा समेत सक्रिय रहेको उनको भनाइ छ।
कार्कीले चिया निर्यातमा देखिएको अवरोध समाधानका लागि प्रधानमन्त्रीको सचिवालय र सम्बन्धित निकायसँग समन्वय गरेको, किसानका समस्या, सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाह सुधारका विषयमा पनि निरन्तर पहल गरिरहेको बताएका छन्। उनले आफू निर्वाचित भएपछि मोरङ–२ का धेरै योजना चालु आर्थिक वर्षको बजेटमा समावेश गराउन सफल भएको दाबी पनि गरेका छन्।
तर कार्कीले सार्वजनिक गरेको उक्त धारणा त्यस्तो समयमा आएको छ, जतिबेला उनीमाथि गम्भीर व्यक्तिगत आरोपहरूबारे राजनीतिक र सार्वजनिक दबाब परेको विषय भर्खर सेलाउने क्रममा छ। केही दिनअघि सार्वजनिक भएका भिडियो र सामाजिक सञ्जालमा फैलिएका सामग्रीपछि कार्कीमाथि एक नाइजेरियन महिलालाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप लागेको थियो।
आरोप सार्वजनिक भएपछि उनी विवादको केन्द्रमा पुगे। रास्वपा संसदीय दलका एक पदाधिकारीले उक्त विषयमा कार्कीसँग सोधपुछ गर्न संसदीय दलमा बोलाइएको समेत सार्वजनिक भयो। यद्यपि कार्कीले आफूमाथि लगाइएका आरोपबारे जानकारी नभएको दाबी गर्दै आए। सञ्चारकर्मीसँगको कुराकानीमा उनले सार्वजनिक भएको भिडियो र आरोपबारे आफूलाई थाहा नभएको बताएका थिए।
कार्कीको विषयमा संसद्मा समेत प्रश्न उठेको छ। प्रतिनिधिसभा सदस्य निनुकुमारी कर्णले बैठकमा एक विदेशी महिलाले आफू गर्भवती भएको अवस्थामा सम्बन्धित सांसद सम्पर्कविहीन भएको भन्दै न्याय खोजिरहेको उल्लेख गर्दै सरकारसँग यथाशीघ्र जानकारी दिन माग गरेकी थिइन्। उनले सांसदको नाम नलिए पनि सन्दर्भ कार्कीतर्फ लक्षित रहेको बुझिएको थियो।
त्यसैगरी नेकपाकी सांसद पार्वती विकले पनि संसद्मा उक्त विषयमा छानबिन गर्न र दोषी देखिए कानुनी कारबाही गर्न माग गरेकी थिईन। जेनजी मुभमेन्टले समेत विज्ञप्ति जारी गर्दै सांसद कार्कीमाथि उठेका आरोपबारे निष्पक्ष अनुसन्धान गर्न र आवश्यक परे कानुनी कारबाही गर्न माग गरेको थियो।
विज्ञप्तिमा एक विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप सार्वजनिक रूपमा उठेकाले सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिलाउनुपर्ने उल्लेख गरिएको थियो। विवाद बढिरहेका बेला कार्कीले भने आफू पदका लागि नभई जिम्मेवारीका लागि निर्वाचित भएको जनाउँदै जनताको सेवा, विकास निर्माण र समस्या समाधानलाई नै आफ्नो प्रमुख दायित्व ठानेर काम गरिरहेको बताएका छन्।
उनले जनतासँग धैर्य राख्न आग्रह गर्दै आफू इमानदारी, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यशैलीका साथ काम गरिरहने प्रतिबद्धता दोहोर्याएका छन्।


