मधेशमा आज राति भारी वर्षाको चेतावनी, हुरीको समेत जोखिम

राजविराज– मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेशका एक–दुई स्थानमा आज राति भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। मनसुनी प्रणाली सक्रिय रहेकाले मधेशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र केही क्षेत्रमा हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार बिहान ८ बजे जारी मौसम बुलेटिनअनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिमी क्षेत्रमा सरदर स्थान आसपास रहेकाले वर्षा गराउने प्रणाली सक्रिय बनेको मौसमविद्ले बताएका छन्।

महाशाखाका अनुसार बुधबार दिउँसो मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा भने वर्षा हुने क्षेत्र र तीव्रता दुवै बढ्ने अनुमान गरिएको छ। मधेशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको र प्रदेशका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान छ।

राति विशेषगरी तराई क्षेत्रका केही स्थानमा हुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। भारी वर्षासँगै स्थानीय खोल्सा–खोल्सीमा बहाव बढ्न सक्ने, होचा भूभागमा डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने जोखिम पनि रहेको छ।

मौसमविद्का अनुसार ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना भनिनुको अर्थ प्रदेशको ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हो। त्यस्तै ‘एक–दुई स्थान’मा भारी वर्षाको सम्भावना भन्नाले प्रदेशका सीमित क्षेत्रमा वर्षाको मात्रा उल्लेख्य हुन सक्ने जनाउँछ।

महाशाखाका अनुसार २४ घण्टामा ५० मिलिमिटरभन्दा बढी तर १०० मिलिमिटरभन्दा कम वर्षा भए त्यसलाई भारी वर्षा मानिन्छ। १०० मिलिमिटरभन्दा बढी वर्षा भए धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भएको मानिनेछ।

हाल देशका अधिकांश क्षेत्रमा बादल लागेको छ। बिहान कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको भए पनि मधेशमा दिउँसोपछि वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ।

मौसमविद्ले विशेषगरी किसान, नदी तथा खोलानजिक बसोबास गर्ने समुदाय, सवारी चालक र सर्वसाधारणलाई मौसमको अद्यावधिक जानकारी लिन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट