रौतहटमा जग्गा विवादमा चक्कु प्रहार गरी एक जनाको हत्या बुवा–छोरा पक्राउ
राजविराज— रौतहटको ईशनाथ नगरपालिकामा जग्गा सम्बन्धी विवाद हिंसात्मक बन्दा एक जनाको ज्यान गएको छ। ईशनाथ नगरपालिका–३ औरैया गाउँमा मंगलबार राति भएको झडपका क्रममा चक्कु प्रहारबाट गम्भीर घाइते भएका बुटन साहको उपचारकै क्रममा मृत्यु भएको हो।
घटनामा अर्का एक जना घाइते भएका छन् भने चक्कु प्रहारमा संलग्न रहेको आरोपमा प्रहरीले बुवा–छोरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय रामबहादुर साह र उनका ज्वाइँ बुटन साहको पक्ष तथा छिमेकी रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गाको विषयलाई लिएर विवाद भएको थियो।
प्रारम्भिक अनुसन्धान अनुसार विवाद चर्किंदै जाँदा झडपको अवस्था सिर्जना भएको र त्यसक्रममा रामेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए। प्रहरीका अनुसार चक्कु बुटन साहको ढाडतर्फ लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर उपचारकै क्रममा मंगलबार राति करिब ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमले जानकारी दिए।
घटनामा रामबहादुर साह पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। हाल उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेर चक्कु प्रहारमा संलग्न रहेको आरोपमा रामेश्वर साह र उनका बुवा रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
डिएसपी गौतमका अनुसार घटनाको कारण, विवादको पृष्ठभूमि तथा संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनासम्बन्धी थप तथ्य संकलन तथा बयान लिने काम जारी रहेको जनाएको छ।
जग्गा विवादबाट सुरु भएको सामान्य भनाभन अन्ततः ज्यानै जाने आपराधिक घटनामा परिणत भएपछि औरैया गाउँमा त्रासको वातावरण बनेको स्थानीयले बताएका छन्। प्रहरीले भने घटनाको सम्पूर्ण तथ्य अनुसन्धानपछि मात्र सार्वजनिक गरिने जनाएको छ।

