सीके राउतको पार्टीका सप्तरी जिल्ला कोषाध्यक्ष ब*लात्कार र ठगी आरोपमा पक्राउ
राजविराज– सीके राउत नेतृत्वको जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारीलाई जबर्जस्ती करणी तथा ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
पार्टी अध्यक्ष राउतका आफन्त (फूपूका छोरा) समेत रहेका अधिकारीविरुद्ध परेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेका अनुसार अधिकारीविरुद्ध जबर्जस्ती करणी र ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।
प्रहरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका–२ निवासी अधिकारी केही दिनदेखि फरार रहेका थिए। खोजतलासका क्रममा उनलाई मंगलबार दिउँसो महादेवापट्टी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
अधिकारी जनमत पार्टी सप्तरी जिल्ला समितिमा कोषाध्यक्षको जिम्मेवारीमा छन्। पक्राउपछि उनको राजनीतिक हैसियत र पार्टीसँगको सम्बन्धका कारण घटनाले थप चर्चा पाएको छ।
प्रहरीले जाहेरीमा उल्लेख गरिएका आरोपबारे प्रमाण संकलन, बयान तथा अन्य आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। हाल अनुसन्धानकै चरणमा रहेकाले घटनाका थप विवरण सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ।
जबर्जस्ती करणीजस्तो गम्भीर फौजदारी कसुरमा अनुसन्धान भइरहेकाले आरोप पुष्टि वा खण्डन हुने विषय अदालतको अन्तिम निर्णयबाट टुंगो लाग्नेछ। हालसम्म नरेश अधिकारी वा जनमत पार्टीको तर्फबाट यस विषयमा कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
प्रहरीले भने अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

