तीन वर्षअघि प्रेमप्रसादका लागि रोएका बालेन, गणेश नेपालीको घट्नामा कसलाई दोष देखाउलान्?

काठमाडौँ— २०७९ माघ १० गते संसद् भवनअगाडि व्यवसायी प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्दा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साहले त्यसलाई ‘राज्यको चरम असफलता’ को प्रतीक भनेका थिए।

तीन वर्षपछि उस्तै प्रकृतिको अर्को घटनाले फेरि देशलाई झस्काएको छ। यसपटक त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउने व्यक्ति हुन् मुगुका २५ वर्षीय गणेश नेपाली, र प्रारम्भिक अनुसन्धानले घटनाको केन्द्रमा काठमाडौँ महानगरपालिकाकै नगर प्रहरीसँग भएको विवादलाई देखाएको छ।

बिहीबार दिउँसो भएको घटनापछि गम्भीर घाइते भएका गणेश नेपाली अहिले वीर अस्पतालको बर्न आईसीयूमा जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्। चिकित्सकहरूका अनुसार उनको शरीरको ६० देखि ७० प्रतिशत भाग जलेको छ। टाउको, छाती र हातजस्ता संवेदनशील अंगहरूमा गम्भीर असर पुगेको छ।

घटनाले केवल एउटा आत्मदाह प्रयासको प्रश्न उठाएको छैन। यसले तीन वर्षअघि प्रेमप्रसाद आचार्यको मृत्युपछि उठेको राज्य, व्यवस्था, प्रशासन र नागरिकप्रतिको संवेदनशीलताको बहसलाई फेरि एकपटक केन्द्रमा ल्याएको छ।

गणेश नेपाली मुगुको सोरु गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्। हाल उनी श्रीमती र करिब तीन वर्षकी छोरीसँग भक्तपुरमा बस्दै आएका थिए। परिवारको आर्थिक जिम्मेवारी धान्न उनी राइड सेयरिङ प्लेटफर्ममार्फत पठाओ चालकको रूपमा काम गर्थे। साथसाथै लोकसेवा तयारी गरिरहेका थिए भने वैदेशिक रोजगारीका लागि दुबई जाने सम्भावनाबारे पनि प्रयासरत थिए।

घटनाको दिन बिहान करिब पाँच बजे उनी बालाजु हाइटस्थित दाइ मदन नेपालीको डेराबाट कामका लागि निस्किएका थिए। दिउँसो करिब १ः४५ बजे उनी बाग्मती प्रदेश ०२–०६४ प ३२५० नम्बरको मोटरसाइकल लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका थिए।

सुरुमा उनी राहदानीसम्बन्धी कामकै लागि त्यहाँ पुगेको अनुमान गरिएको थियो। तर राहदानी विभागले औपचारिक रूपमा स्पष्ट पारेपछि उनी विभागको कुनै सेवाग्राही नरहेको खुल्यो। त्यसपछि अनुसन्धानको केन्द्र उनको मोटरसाइकल र नगर प्रहरीसँग भएको विवादतर्फ मोडियो।

प्रहरी स्रोतका अनुसार गणेशले राहदानी विभागको ३ नम्बर गेटअगाडि मोटरसाइकल पार्क गरेका थिए। पार्किङ निषेधित क्षेत्रमा सवारी राखिएको भन्दै काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले मोटरसाइकलमा ‘ह्वील लक’ लगायो।

त्यसपछि गणेश र नगर प्रहरीबीच भनाभन सुरु भएको बताइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार उनले आफू पठाओ चलाएर परिवार पालिरहेको, मोटरसाइकल नै आम्दानीको मुख्य आधार भएको भन्दै गाडी नउठाइदिन अनुरोध गरेका थिए। तर विवाद थप चर्कियो।

स्थानीय स्रोतका अनुसार नगर प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर लैजान खोजेपछि गणेश झन् आक्रोशित बने। उनले मिनरल वाटरको बोतलमा मोटरसाइकलबाट पेट्रोल निकालेर आत्मदाह गर्ने चेतावनी दिएका थिए। तर त्यतिबेला पनि परिस्थितिलाई गम्भीर रूपमा नलिइएको आरोप प्रत्यक्षदर्शीहरूले लगाएका छन्।

केहीबेरमै उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो सल्काए। घटनास्थलमा उपस्थित सर्वसाधारण र सुरक्षाकर्मीहरू स्तब्ध बने। आगोले शरीरलाई ढाकिसकेपछि मात्रै उद्धार प्रयास सुरु भएको बताइन्छ। प्रहरीले उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पु¥याएको थियो।

घटनापछि अस्पताल पुगेका उनका दाजु मदन नेपालीले भाइसँग भएको अन्तिम संवाद सुनाउँदै भनेका छन्, ‘उसले ‘बाबा–मम्मीलाई हेरचाह गर्नु, यो सबै महानगरले गर्दा भयो’ यति मात्रै भन्न भ्यायो। त्यसपछि बोल्नै सकेन।’

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले घटनाको प्रारम्भिक कारण मोटरसाइकलमा लगाइएको ह्वील लकसँग सम्बन्धित देखिएको बताएका छन्। उनका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ र घटनास्थल आसपासका सीसीटीभी फुटेजहरू संकलन गरेर अध्ययन सुरु गरिएको छ।

महानगरपालिकाको नगर प्रहरीले भने पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखिएकाले नियमानुसार ह्वील लक लगाइएको जनाएको छ। यद्यपि विवादको क्रममा के–कस्ता संवाद भए, आत्मदाहको चेतावनी दिइएको थियो वा थिएन, त्यसबारे आधिकारिक निष्कर्ष आउन बाँकी छ।

घटनाले अनिवार्य रूपमा तीन वर्षअघिको प्रेमप्रसाद आचार्य प्रकरणलाई सम्झाइदिएको छ। २०७९ माघ १० गते संसद् भवनअगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले मृत्यु हुनुअघि लेखेको लामो नोटमा व्यवसाय सञ्चालनका क्रममा भोगेका कठिनाइ, सरकारी नीतिगत जटिलता, ऋणको चाप, अनुदान प्राप्त गर्न नसकेको पीडा, प्रहरीको कथित असुली र प्रशासनिक झन्झटबारे उल्लेख गरेका थिए।

त्यसबेला काठमाडौं महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका थिए, ‘एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो। र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’

उनले आचार्यको व्यवसाय, निराशा, सहयोगको याचना, सुरक्षादेखि उद्धारसम्मका प्रत्येक चरणमा राज्य असफल भएको टिप्पणी गरेका थिए। नागरिक, जनप्रतिनिधि, सत्ताका अगुवा र सञ्चारमाध्यम सबै आफ्नो–आफ्नो जिम्मेवारीमा चुकेको उनको निष्कर्ष थियो।

बालेनले त्यतिबेला यस्तो अवस्थासम्म नागरिकलाई पुग्न नदिन राज्य संयन्त्र, स्थानीय सरकार र सबै निकायले आफ्नो भूमिका कठोरतापूर्वक निभाउनुपर्ने बताएका थिए। तर अहिले परिस्थिति फरक छ। बालेन्द्र साह स्वयं देशको प्रधानमन्त्रीको जिम्मेवारीमा छन् र गणेश नेपालीको घटनामा प्रारम्भिक रूपमा प्रश्न उठेको निकाय काठमाडौं महानगरपालिकाकै नगर प्रहरी हो, जुन संस्थाको नेतृत्व उनले तीन वर्षसम्म गरेका थिए।

यही कारण यो घटना केवल व्यक्तिगत आवेग वा आत्मदाह प्रयासको सीमित समाचार बनेको छैन। यसले प्रशासनिक व्यवहार, सार्वजनिक सेवामा संवेदनशीलता, कानुन कार्यान्वयनको शैली र राज्यका निकायहरूको नागरिकप्रतिको दृष्टिकोणबारे गम्भीर बहस जन्माएको छ।

गणेश नेपालीले अन्ततः किन यस्तो चरम निर्णय लिए भन्ने निष्कर्षमा पुग्न अनुसन्धान बाँकी छ। घटनामा अन्य व्यक्तिगत, आर्थिक वा मनोवैज्ञानिक कारणहरू पनि जोडिएका हुन सक्छन्। त्यसैले अहिले उपलब्ध प्रारम्भिक तथ्यका आधारमा मात्र अन्तिम निष्कर्ष निकाल्न मिल्दैन। तर एउटा तथ्य भने स्पष्ट देखिन्छ—तीन वर्षको अन्तरालमा काठमाडौँले फेरि एउटा नागरिकलाई पेट्रोल र आगोको भाषामा आफ्नो असन्तुष्टि व्यक्त गरेको दृश्य देख्यो।

प्रेमप्रसाद आचार्यको मृत्युले राज्यलाई प्रश्न गरेको थियो। गणेश नेपालीको घटनाले फेरि त्यही प्रश्न दोहोर्‍याएको छ—नागरिकलाई यति निराश, यति असहाय र यति एक्लो बनाउने परिस्थिति आखिर किन दोहोरिईरहेछ? र यसपटक यसको जवाफ कसले दिने?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट