ट्राफिक जरिवानाको पीरले राहदानी विभागअगाडि जलेको एउटा शरीर र उठेका असहज प्रश्नहरू
काठमाडौँ — बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटअगाडि अचानक आगोको मुस्लो उठ्यो। भीड थियो, प्रहरी थियो, महानगरका कर्मचारी थिए, सर्वसाधारण थिए। तर केही क्षणमै आगोको लप्काले एक ब्यक्तिको ६० प्रतिशतबढि शरीर जलायो।
घट्ना एउटा ब्यक्तिको शरीरमा लागेको आगोको घट्नामात्र थिएन, त्यो दृश्यले बेरोजगारी, गरिबी, राज्यको व्यवहार र नागरिकको निराशाबारे असहज प्रश्नहरू पनि एकसाथ उठायो। अहिले त्यही घटनाका केन्द्रमा रहेका २५ वर्षीय गणेश नेपाली वीर अस्पतालको आईसीयूमा जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्।
मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि देशै स्तब्ध बनेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनाको सुरुआत काठमाडौं महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि भएको देखाएको छ। तर घटनाले उठाएको बहस एउटा मोटरसाइकल वा पार्किङ विवादभन्दा धेरै पर पुगिसकेको छ।
गणेश बिहीबार दिउँसो करिब १ः४५ बजे बाग्मती प्रदेश ०२–०६४ प ३२५० नम्बरको मोटरसाइकल लिएर राहदानी विभाग पुगेका थिए। प्रहरीका अनुसार उनले विभागको ३ नम्बर गेटअगाडि मोटरसाइकल पार्किङ गरेका थिए। केही समयपछि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा सवारी राखिएको भन्दै मोटरसाइकलमा ‘ह्वील लक’ लगायो।
त्यसपछि सुरु भएको विवाद केही मिनेटमै भयावह मोडमा पुगेको बताइएको छ। प्रहरी स्रोतका अनुसार गणेशले नगर प्रहरीसँग मोटरसाइकल नउठाइदिन आग्रह गरेका थिए। उनी पठाओ चालक भएको र यही मोटरसाइकल नै आफ्नो जीविकोपार्जनको मुख्य आधार रहेको बताएका थिए।
प्रत्यक्षदर्शीहरूले दिएको विवरणअनुसार गणेशले नगर प्रहरीलाई पटक–पटक अनुरोध गरे। तर विवाद बढ्दै जाँदा नगर प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर गाडीमा हाल्ने तयारी गरेको थियो। त्यसक्रममा गणेशले आफूले पेट्रोल छर्केर आगो लगाउने चेतावनीसमेत दिएका थिए।
घटनास्थलमा रहेका केही व्यक्तिका अनुसार उनले मिनरल वाटरको बोतलमा आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेका थिए। तर उनको चेतावनीलाई गम्भीर रूपमा नलिइएको दाबी प्रत्यक्षदर्शीले गरेका छन्। त्यसपछि उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो सल्काए।
केही सेकेन्डमै उनको शरीर आगोले ढाकियो। प्रत्यक्षदर्शीहरूका अनुसार घटनास्थलमा उपस्थित अधिकांश व्यक्ति स्तब्ध बनेर हेरिरहेका थिए। नगर प्रहरी र सर्वसाधारण तत्काल सक्रिय हुन नसकेको आरोप पनि घटनापछि उठिरहेको छ।
गम्भीर अवस्थामा पुगेका गणेशलाई तत्काल उद्धार गरी वीर अस्पताल लगियो। अस्पताल स्रोतका अनुसार उनको शरीरको करिब ६५ देखि ७० प्रतिशत भाग जलेको छ। बर्न युनिटमा उपचार गरिरहेका चिकित्सकहरूले उनको अवस्था अत्यन्त चिन्ताजनक रहेको बताएका छन्।
वीर अस्पतालका बर्न युनिट प्रमुख डा. पियूष दाहालका अनुसार प्रारम्भिक उपचारका क्रममा गणेश केहीबेर बोल्न सक्ने अवस्थामा थिए। तर पछि अवस्था जटिल बन्दै गएको छ। घटनाको जानकारी पाउने पहिलो व्यक्तिमध्ये एक थिए उनका दाजु मदन नेपाली। बालाजु हाइटस्थित डेरामा रहेका उनलाई अपरिचित नम्बरबाट फोन आयो। फोन नेपाल प्रहरीबाट आएको थियो।
फोनमा सुनिएको खबर उनी विश्वास गर्नै सकिरहेका थिएनन्। वीर अस्पताल पुगेपछि मात्रै उनले भाइको अवस्था आफ्नै आँखाले देखे। अस्पताल परिसरमा उनले सुनाएको पीडा अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक शेयर भइरहेको छ।
मदनका अनुसार गणेश बुधबार राति उनकै डेरामा बसेका थिए। बिहीबार बिहान करिब पाँच बजे उनी दैनिक कामका लागि मोटरसाइकल लिएर निस्किएका थिए। केही घण्टापछि अस्पतालबाट आएको खबरले परिवारको संसार नै उल्टिएको उनले बताए।
मदनका अनुसार उपचारको प्रारम्भिक चरणमा भाइसँग छोटो संवाद भएको थियो। गणेशले आफूलाई भएको घटनाको जिम्मेवार महानगरको व्यवहार रहेको संकेत गर्दै बाबुआमाको ख्याल राख्न भनेका थिए। त्यसपछि उनको बोल्ने क्षमता कमजोर हुँदै गएको दाजुको भनाइ छ।
गणेशको व्यक्तिगत जीवनको कथा पनि राजधानीमा संघर्ष गरिरहेका हजारौं युवाको कथासँग मिल्दोजुल्दो देखिन्छ। परिवारका अनुसार उनले कृषि विषयमा अध्ययन पूरा गरेका थिए। तर स्थायी रोजगारी प्राप्त गर्न सकेनन्। रोजगारीको खोजीमा काठमाडौं आएका उनी पछिल्लो समय पठाओ चलाएर श्रीमती र झण्डै तीन वर्षीया छोरीको पालनपोषण गरिरहेका थिए।
उनको परिवार आर्थिक रूपमा कमजोर रहेको बताइएको छ। मुगुको सोरु गाउँपालिका–१ का वडाध्यक्ष धनकर्ण मल्लका अनुसार गाउँमा खेतीपातीले वर्षभरि खान नपुग्ने अवस्था छ। सीमित अवसरका कारण धेरै युवाजस्तै गणेश पनि कामको खोजीमा काठमाडौं आएका थिए।
परिवारका सदस्यहरूका अनुसार उनी वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीसमेत गरिरहेका थिए। तर विदेश जाने सपना पूरा नहुँदै अहिले उनी अस्पतालको शैय्यामा जीवन बचाउने संघर्षमा छन्।
घटनापछि काठमाडौं प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार गणेशले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएको प्रारम्भिक तथ्य खुलेको छ। प्रहरीले घटनास्थल वरपरका सीसीटीभी फुटेज संकलन गरिसकेको छ।
प्रहरीले नगर प्रहरीको भ्यान, घटनास्थलको अवस्था, प्रत्यक्षदर्शीका भनाइ र पीडितसँग सम्बन्धित अन्य विवरणको अध्ययन गरिरहेको जनाएको छ। घटनामा संलग्न नगर प्रहरी कर्मचारीहरूको भूमिकाबारे पनि अनुसन्धानको दायराभित्र ल्याइएको स्रोतले जनाएको छ।
यद्यपि घटनाले केवल एउटा आत्मदाह प्रयासको अनुसन्धान मात्र मागेको छैन। यसले राज्य र नागरिकबीचको सम्बन्धबारे पनि प्रश्न उठाएको छ। एउटा सामान्य पार्किङ विवाद कसरी केही मिनेटभित्र आत्मदाह प्रयासजस्तो चरम निर्णयसम्म पुग्यो ? चेतावनी दिँदा पनि किन रोक्न सकिएन ? संकटको क्षणमा उपस्थित निकायहरूले कस्तो भूमिका खेले ? यस्ता प्रश्नहरूको उत्तर अब अनुसन्धानले दिनुपर्नेछ।
वीर अस्पतालको आईसीयूमा उपचाररत गणेश नेपालीको अवस्था जति गम्भीर छ, त्यति नै गम्भीर बहस उनको घटनाले जन्माएको छ। राहदानी विभागअगाडि जलेको त्यो शरीर अहिले केवल एक व्यक्तिको कथा रहेन, बरु राजधानीमा संघर्ष गरिरहेका हजारौं युवाको असुरक्षा, निराशा र राज्यसँगको दूरीको प्रतीक बनेको छ।

