सप्तरीमा जनमत पार्टीका कोषाध्यक्ष बलात्कार आरोपमा पक्राउः प्रहरी मौन, अनुशन्धानमा राजनीतिक पहुँचको छायाँ

राजविराज– जबरजस्ती करणी, ठगी र ब्ल्याकमेलिङजस्ता गम्भीर आरोपमा जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारी पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमाथि घटना सार्वजनिक गर्न नखोजेको आरोप लागेको छ।

सामान्य प्रकृतिका घटनालाई समेत सामाजिक सञ्जाल र प्रेस विज्ञप्तिमार्फत व्यापक प्रचार गर्ने प्रहरीले यस घटनाबारे न त आफ्नो आधिकारिक फेसबुक पेजमा सूचना सार्वजनिक गरेको छ, न त सञ्चारकर्मीहरूलाई इमेलमार्फत जानकारी दिएको छ।

प्रहरीको यही व्यवहारले राजनीतिक पहुँच भएका व्यक्तिसँग जोडिएका घटनामा सूचना लुकाउने प्रयास भएको हो कि भन्ने प्रश्न उठेको छ। विशेषगरी पक्राउ परेका अधिकारी जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतका आफन्तसमेत रहेको चर्चा भइरहेका बेला प्रहरीले घटनालाई सार्वजनिक नगर्न खोजेको आरोप थप चर्किएको छ।

प्रहरी स्रोतका अनुसार जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारीमाथि ठगी, जबरजस्ती करणी, यौन शोषण तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ। पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि फरार रहेका अधिकारीलाई सोमबार सप्तरीको महादेवा गाउँपालिका–२ बाट पक्राउ गरिएको हो।

स्रोतका अनुसार करिब चारदेखि पाँच वर्षअघि स्थानीय तह निर्वाचनका क्रममा एक महिलासँग अधिकारीको चिनजान भएको थियो। त्यसपछि विभिन्न प्रलोभन देखाउँदै प्रेम सम्बन्धको बहानामा महिलालाई आफ्नो प्रभावमा पार्ने, पटक–पटक आर्थिक सहयोग माग्ने, दबाब र करकापमा राखेर जबरजस्ती करणी गर्ने तथा घटनाका क्रममा खिचिएका अश्लील तस्बिर र भिडियो प्रयोग गरी रकम माग्दै ब्ल्याकमेल गरेको आरोप उनीमाथि लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पीडितको जाहेरीपछि कानुनी प्रक्रिया अघि बढाइएको हो। सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाईएको छ। तर पक्राउ र अनुसन्धानको विषय प्रहरीले सार्वजनिक नगरेको भन्दै पत्रकार तथा नागरिक समाजका व्यक्तिहरूले प्रश्न उठाएका छन्।

पत्रकार वैद्यनाथ यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत गम्भीर प्रकृतिको अपराधमा पक्राउ परेका व्यक्तिबारे प्रहरीले पारदर्शी रूपमा सूचना सार्वजनिक गर्नुपर्ने बताएका छन्। उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘ठगी तथा जबर्जस्ती यौन शोषणजस्तो गम्भीर आरोपमा पक्राउ परेका व्यक्तिको विषयमा सप्तरी प्रहरीले आफ्नो आधिकारिक पेजमा राख्नु र इमेलमार्फत सञ्चारकर्मीहरू माझ पारदर्शी रूपमा तथ्य सार्वजनिक गर्नुपर्छ। राजनीतिक पहुँचका आधारमा सूचना लुकाउने वा सञ्चारमाध्यमलाई जानकारी नदिने प्रवृत्ति राम्रो संकेत होइन। सत्य तथ्य दबाएर न्यायको मार्ग अवरुद्ध गर्न खोज्ने जोसुकै भए पनि जवाफदेही बन्नैपर्छ।’

यादवले आफ्नो स्टाटसमा पक्राउ परेका व्यक्तिको नाम उल्लेख नगरे पनि ठगी र यौन शोषणसम्बन्धी आरोपमा पक्राउ परेको घटनाको सन्दर्भ उल्लेख गरेका छन्। हाल सप्तरीमा यस्ता आरोपमा सार्वजनिक रूपमा जानकारी आएको अर्को घटना नरहेकाले उक्त टिप्पणी नरेश अधिकारी र जनमत पार्टीका अध्यक्ष सीके राउतको पहुँच प्रकरणतर्फ संकेत गरिएको रूपमा हेरिएको छ।

प्रहरीले भने घटनालाई जानाजान लुकाइएको आरोपबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। जिल्ला प्रहरी कार्यालय सप्तरीले पछिल्लो समय अधिकांश पक्राउ, बरामदगी र अनुसन्धानसम्बन्धी गतिविधि फेसबुक पेज तथा इमेलमार्फत सार्वजनिक गर्दै आएको भए पनि अधिकारी पक्राउ परेको विषय भने ती माध्यमबाट सार्वजनिक गरिएको देखिएको छैन।

घटनाले राजनीतिक पहुँच भएका व्यक्तिसँग सम्बन्धित फौजदारी मुद्दामा प्रहरीको सूचना प्रवाह, पारदर्शिता र निष्पक्ष अनुसन्धानमाथि प्रश्न उठाएको छ। यद्यपि अधिकारीमाथि लगाइएका आरोपहरू अनुसन्धानकै चरणमा रहेकाले अन्तिम सत्यतथ्य अदालतको प्रक्रिया र अनुसन्धानको निष्कर्षबाट मात्रै स्थापित हुने छ। तर, जसरी घट्नालाई लुकाउँने प्रयास भएको देखिँदैछ, त्यसैगरी अनुशन्धानलाई प्रभावित बनाएर पीडितले न्याय नै नपाउने अवस्था त वन्दैन ? भन्ने प्रश्न बाँकी नै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट