सुनसरीमा १०७ ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ
विराटनगर– सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट १०७.४५ ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्। लागू औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असार २८ गते राति करिब ८ बजे इलाका प्रहरी कार्यालय दुहबी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले उक्त क्षेत्रमा निगरानी तथा चेकजाँच गरेको थियो। सो क्रममा मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोल निवासी २५ वर्षीय जमालउद्धिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँलाई शंकास्पद अवस्थामा फेला पारेर खानतलासी गरिएको थियो।
प्रहरीले दुवै जनाको साथबाट १०७.४५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। बरामद गरिएको ब्राउन सुगर परीक्षण तथा अनुसन्धानको प्रक्रियामा रहेको प्रहरीले जनाएको छ। लागू औषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ।
उनीहरूमाथि लागू औषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय पूर्वी नेपालका विभिन्न जिल्लामा लागू औषध कारोबार नियन्त्रणका लागि निगरानी तथा विशेष अभियानलाई तीव्र बनाइएको छ। यस घटनासम्बन्धी थप अनुसन्धानबाट लागू औषधको स्रोत, सम्भावित सञ्जाल र कारोबारमा संलग्न अन्य व्यक्तिहरूबारे जानकारी संकलन गर्ने कार्य जारी रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले बरामद लागू औषधसहित पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए।

